काठमाडौं, १८ फागुन । मृगौला पीडित ३२ वर्षीय कृष्णबहादुर शाहीले आफू बाँच्न चाहेको भन्दै बचाइदिन आग्रह गरेका छन् । रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको पहलमा शाहीको उपचारको लागि सहयोग रकम संकलन समेत भएको छ ।
पूर्वमन्त्री एवम् एमाले नेता आनन्द पोखरेलले निःशुल्क उपचारको पहल गर्ने वचन दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले धादिङ त्रिपूरासुन्दरी गाउपालिका वडा नं. ६ स्थायी घर भएका ३२ वर्षीय कृष्ण शाहीको उपचारको लागि आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले यस्तो वचन दिएका हुन ।
उनले भने,‘ कृष्णजीको उपचार हुन्छ, तपाईले गाउँपालिकादेखि सरकारी अस्पतालसम्मका सबै प्रक्रिया मिलाएर आउनुहोस् म तपाईको लागि सरकारसँग कुरा गर्छु उपचार हुन्छ, ढुक्क हुनुहोस् ।’
क्लबका अध्यक्ष ऋषि धमलाको पहलमा मृगौला रोगी शाहीको उपचारका लागि विभिन्न व्यक्तिबाट शुक्रबारमात्रै १ लाख २५ हजार रुपैयाँ घोषणा गरिएको छ ।
बौद्ध धर्मगुरु साईफल तेन्जीङ रिम्पोछेले १ लाख, मेघ आलेले २० हजार र निराजन डाँगी ५ हजार आर्थिक सहयोग घोषणा गरेका हुन् । त्यस्तै नायक निखिल उप्रेतीले नगद १८ सय रुपैयाँ प्रदान गरेका छन् ।
धमलाले मृगौला रोगी शाहीको स्वास्थ्य अवस्थाका बारेमा गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् । उनले भने,‘ कृष्ण भाईको उपचार हुन्छ, मैले सरकारसँग कुरा गर्नेछु ।’
त्यस्तै मृगौला रोगी कृष्ण शाहीले सबैसँग सहयोग लागि अपिल गरेका छन् । निदान अस्पताल पुल्चोक ललितपुरामा डाईलासिस गरिरहेका शाहीले भने,‘ म मृगौला रोगबाट ग्रसित भएको तीन वर्ष पूरा भएको तपाईलाई जानकारी गराउँदछु ।’
उनले अघि थपे,‘ मेरो घर धादिङ जिल्ला त्रिपूरासुन्दरी गाउँपालिका वडा नम्बर ६ हो । कमजोर आर्थिक स्थितिबाट माथि उक्लिदै गरेको मेरो ३२ वर्षीय जिन्दगी मृगौला रोगको सिकार भएको छ ।’
शाहीले आफूलाई पत्रकार ऋषि धमलाले अहिलेसम्म सक्दो सहयोग पुर्याउँदै आएको भन्दै धमलालाई भगवानको संज्ञा दिए । आँखाबाट आँसुका ढिकाहरु खसाल्दै मृगौला रोगी शाहीले भने,‘मेरो आमा म १० वर्षको हुँदा बित्नुभयो ।
विगत पाँच वर्षदेखि बाबा मानसिक रोगबाट पीडित हुनुहुन्छ । बाबाको नाममा कुनै सम्पत्ति पनि छैन् । केही वर्ष पहिले रोजगारीको लागि दुवईमा पुगेको थिएँ । त्यहाँबाट फर्किए लगत्तै म बिरामी परे ।
दुःखको कुरा बिदेशमा कमाएको पाँचलाख जति सम्पति मेरो जेठी श्रीमतीले लगेर भागिन ।’ उनले भने,‘त्यसपछि म झनै बेसहारा बने । बाध्यता बस मैले दोस्रो बिवाह गरे । कान्छि श्रीमती दिलमाया मगर ‘शाही’ले मृगौला दिन्छु भनेकी छन् ।
तर अप्रेशन गर्ने हामीसँग रकमको चरम अभाव छ । यस कारण राज्यको चौथो अंग एवम् समाजको अभिन्न समुदाय तपाई पत्रकार जगतलाई मेरो जीवन बचाउनको लागि महत्पूर्ण भूमिका खेलिदिनु हुन आग्रह गर्दछु ।
सहयोगी मनहरुका लागि लक्ष्मी बैंकमा रहेको मेरो खाता नम्बर ००७२४२८३७०५ मा सक्दो रकम जम्मा गर्नु हुन विनम्र अनुरोध गर्दछु । म बाँच्न चाहन्छु, मलाई बचाईदिनुहोस् ।’
प्रतिक्रिया