मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा अतिक्रमणको चपेटामा

हरिकुमार राई
उदयपुर, १० फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित थरुहट रंगशाला परिसर नजिकै रहेको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा केही व्यक्तिले अतिक्रमण गरेर घेराबार गर्ने तथा उपभोग गर्न थालेपछि अतिक्रमणको चपेटामा परेको छ ।

गाईघाटस्थित थरुहट रंगशाला परिसरको दक्षिणतर्फ रहेको उक्त जग्गामा मदनभण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन निर्माण गर्नका लागि दुई वर्षअघि मात्र तत्कालीन शहरी विकास राज्यमन्त्री तथा उदयपुरका सांसद मञ्जुकुमारी चौधरीले उक्त जग्गामा सम्मेलन केन्द्र भवनको शिलान्यास गरेकी थिइन् ।

अहिले उक्त सम्मेलन केन्द्र भवन निर्माणका लागि बजेटको समेत व्यवस्था हुन लागेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन निर्माण हुन लागेका बेला केही व्यक्तिहरुले उक्त सम्मेलन केन्द्रको जग्गा अतिक्रमण गरेर घेराबेरा तथा खनजोतसमेत गरेर अतिक्रमण गरेको पाइएको पूर्व राज्यमन्त्री मञ्जुकुमारी चौधरीले बताइन् ।

एक वर्षअघि नै उक्त जग्गामा सम्मेलन केन्द्रको भवन निर्माण शुरु हुन लागेको र रु तीन करोड प्रारम्भिक बजेटसमेत विनियोजन भएको तर स्थानीय तहको निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण भवन निर्माण कार्य पर सरेका बेला अहिले व्यापक रुपमा सम्मेलन केन्द्रको जग्गा अतिक्रमण भएको र हाल एक कट्ठा जग्गामा सीमित भएको पनि पूर्व राज्य मन्त्री चौधरीले बताइन् ।

पूर्व राज्य मन्त्री चौधरी भन्छिन्, “स्वर्गीय मदन भण्डारीजस्ता जनप्रिय नेताको स्मृतिमा पूर्वाञ्चल १ नं प्रदेशकै सबैभन्दा ठूलो र बृहत् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने तयारी भइरहेका बेला अहिले केन्द्रको झण्डै १२ कट्ठाभन्दा धेरै जग्गा अतिक्रमण भइसकेको अवस्था देखिन्छ ।”

यसमा स्थानीय जिल्ला प्रशासन, प्रहरी र त्रियुगा नगरपालिकाले समेत जग्गा अतिक्रमण हटाउन कुनै चासो नदिएको धारणा पूर्व राज्यमन्त्री चौधरीको रहेको छ ।

मदन भण्डारी स्मृति सम्मेलन केन्द्रको नाममा व्यवस्थापन गरिएको उक्त क्षेत्रको जग्गा पुरानो हवाई मैदान अर्थात् नागरिक उड्डयन विभागको नाममा रहेको र उक्त जग्गा पूर्ण सरकारी जग्गा रहेको, पछि उक्त जग्गाको केही भाग थरुहट रंगशाला निर्माणमा प्रयोग गरिएको र केही भाग मदन भण्डारी स्मृति सम्मेलन केन्द्रको भवन निर्माण गर्ने तयारी भएको पूर्व राज्यमन्त्री चौधरीले बताएकी छिन् ।

अहिले राज्यले नै झण्डै रु ३८ करोडको आर्थिक बजेटमा ३०० भन्दा बढी क्षमता मानिस अटाउन सक्ने र दुई तलासहितको १ नं प्रदेशकै बृहत् सम्मेलन केन्द्र भवनको निर्माण गर्ने लक्ष्य राखेको छ ।

तर सम्मेलन केन्द्र भवनका लागि व्यवस्थापन गरिएको उक्त जग्गाको मूल जग्गा नै केही स्थानीयवासीले नै घेराबार गरेर उपभोगसमेत गरी बलजफ्ती अतिक्रमण गरेर उक्त जग्गा आफूहरुको भएको दाबी गर्दै आएको स्थानीयवासी राजेन्द्रप्रसाद ढकालको भनाइ रहेको छ ।

निर्वाचनका कारण बजेट फ्रिज भएर निर्माण कार्य रोक्नु पर्ने अवस्था आएको कारण उक्त सम्मेलन केन्द्रको भवन समयदेखि नै निर्माण हुन नसकेको पूर्वमन्त्री चौधरीले बताइन् ।

यही आवको प्रारम्भदेखि नै निर्माण कार्य शुरु गर्न लागिएका बेला यस सम्मेलन केन्द्रको परिसरको सम्पूर्ण जग्गा अतिक्रमणमा परेपछि मदन भण्डारी स्मृति सम्मेलन केन्द्रको भवन निर्माण गर्ने कार्य नै संकटमा परेको पूर्व सभासद् मनी खम्बु बताउँछन् ।

यस विषयमा त्रियुगा नगरपालिका गाईघाटले भने छानबिन गरेर जग्गा अतिक्रमण गर्नेलाई कारबाही गरिने बताएको छ । यता जग्गा अतिक्रमणकर्ता भने आफूहरुको पुरानो जग्गा भएका कारण आफूहरुले जग्गा नछाड्ने र उपभोग गर्ने अडान लिँदै आएको केही सरोकारवाला नै बताउँछन् ।

यदि समयमा नै मदन भण्डारी स्मृति सम्मेलन केन्द्रको भवन शिलान्यास गरिएका क्षेत्रको अतिक्रमित जग्गाबाट अतिक्रमणकारीलाई नहटाउने हो भने भोलि सम्मेलन केन्द्रको भवन निर्माणको समयमा झनै संकट आउने कुरा आम गाईघाटवासी जनता नै बताउन थालेका छन् । यस विषयमा स्थानीय जिल्ला प्रशासन, प्रहरी भने मौन रहेको अवस्था छ ।

प्रतिक्रिया