किन घट्दै छ विश्वास सरकारी स्वास्थ्य संस्थामा

जाजरकोट, १६ माघ । नलगाड नगरपालिका-८ का हरिबहादुर विक टाउको दुख्नासाथ राडीस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा गए । निजी मेडिकलबाट एकै छिनमा उपचार गरी विक घर फर्किए ।

टाउको दुखेको औषधिलाई उनले मेडिकलबाट रु एक हजार २३२ मा खरिद गरी ल्याए । मेडिकल सञ्चालक कुनै मान्यता प्राप्त स्वास्थ्यकर्मी होइनन् ।

औषधि बिक्री गर्ने अधिकार मात्र पाएका मेडिकल पसलेले हरिबहादुर विकलाई जाँच गरी हजार रुपैयाँभन्दा बढीको औषधि थमाएपछि छिटो सञ्चो हुने आशले औषधि खरिद गरी लिएका हुन् ।

उनी जस्तै सोही वडाकै जैमती खत्रीले पेट दुखेको औषधि गरिदिन अर्को मेडिकलमा पुगिन् । उनको पनि त्यस्तैगरी मेडिकल पसलेले अनुमानको भरमा पेट छामेर रु एक हजार ३०० को औषधि हातमा थमाइदिए । उनले केही नबोली औषधिको रकम तिरेर घर फर्किइन् ।

यस्तै दैनिक यहाँका मेडिकलमा दर्जनौँ बिरामी यसरी आएर उपचार गरी जाने गरेका छन् । मेडिकलबाट कडा डोजको औषधि बिरामीले लिएर सेवन गर्दा आजभोलि खत्री र विकलाई सरकारी स्वास्थ्य संस्थाको औषधिले काम गर्दैन ।

बिरामी हुने बित्तिकै निजी मेडिकलमा मात्र गएर औषधि सेवन गर्दै आएकी छिन् । सरकारी स्वास्थ्य संस्थाभन्दा दैनिक निजी मेडिकलमा बिरामीको भीड लाग्ने गर्दछ ।

सरकारी स्वास्थ्य संस्थाभन्दा आजभोलि दैनिक निजी मेडिकलमा मात्र बिरामीको भीड लाग्ने गर्दछ । सरकारीमा जाँदा औषधि नै नहुने र दिएको औषधिले पनि राम्रो सँग काम नगर्ने भएकाले आफू जान छाडेको वारेकोट गाउँपालिका-५ का शेरबहादुर बस्नेतले बताए ।

पैसा खर्च गरेर भए पनि छिटो सञ्चो हुने उनको भनाइ छ । सरकारीमा राम्रो सेवासुविधा पाइने भएमा किन हामी पैसा खर्च गरी मेडिकलमा गई उपचार गराउने थियौँ र ?, बस्नेतले प्रश्न गरे ।

जाजरकोटका ग्रामीण क्षेत्रदेखि जिल्ला अस्पतालसम्म बिरामीले विश्वास नमानेपछि निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउने गरेको बताउँछन् ।

जाजरकोटको जिल्ला अस्पतालभन्दा २० किलोमिटर टाढा, रुकुमको चौरजहारी अस्पतालमा उपचार गराउनेको ठूलो भीड रहेको छ । गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाभन्दा निजी स्तरबाट खुलेका औषधि पसलमा बिरामीको ठूलो भीड हुने गरेको छ ।

नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधि पनि सबै प्रकारको नपाउनु सरकारी स्वास्थ्य संस्थाको ठूलो समस्या हो । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई स्वास्थ्यकर्मीको रुखो बोलीले समेत पीडित बनाएको बिरामीको भनाइ छ ।

बिरामी सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि गएपछि खासै बिरामीप्रति ध्यान नदिँदा थप पीडा हुने गरेको स्थानीयवासीको गुनासो छ ।

तोकिएको समयमा उपचार नगर्ने, यदि गरिहाले पनि बिरामीको आत्मबल कमजोर हुने गरी केरकार गर्दा उपचारभन्दा पीडा बढी हुने गरेको भेरी नगरपालिका–१ की हजारी विकले बताइन् ।

प्रतिक्रिया