सूचना प्रविधिको विषयमा जानकारी दिने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक चलिरहेको छ । सूचना प्रविधिमा भएको विकास र त्यसको प्रयोगबारे जानकारी दिन मेला आयोजना गरिएको क्यानले जनाएको छ । मेलाको समग्र पक्ष र सूचना प्रविधिको विकास र त्यसको समग्र विकासका सन्दर्भमा कम्प्युटर एसोसियसन नेपाल महासंघका उपाध्यक्ष नवराज कुँवर, महासचिव रन्जितकुमार पोद्दार तथा निवर्तमान अध्यक्ष विनोद ढकालसँग सौर्य दैनिकका लागि सुस्मिता लालले गरेको कुराकानीको संपादित अंश ः
विनोद ढकाल
निवर्तमान अध्यक्ष क्यान
क्यान इन्फोटेक कहिलेबाट सुरु भयो ?
सन् १९९५ बाट क्यान इन्फोटेकको सुरुवात भएको हो । सूचना, सञ्चार र मनोरञ्जन एउटै ग्याजेटमा समाहित भइसकेको अवस्थामा उपभोक्ता पनि प्रविधिका सम्बन्धमा सचेत बन्दै गएका छन् । दुई दशक लामो अनुभवले पनि इन्फोटेक र यसका अवलोकनकर्तालाई थप परिपक्व बनाइरहेको छ ।
क्यान इन्फोटेक नेपालमा आयोजना हुने सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रको वर्षकै सबैभन्दा ठूलो मेला हो । यो मेलामा आइसिटी क्षेत्रका नवीनतम प्रविधि तथा उपकरणहरू प्रदर्शनमा छन् । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले प्रत्येक वर्ष क्यान इन्फोटेकको आयोजना गर्दै आएको छ ।
क्यान इन्फोटेकका विशेषता के हुन् ?
सूचना प्रविधिको बृहत् मेला क्यान इन्फोटेक भृकुटीमण्डपमा भइरहेको छ । मेलामा सूचना र सञ्चार प्रविधि क्षेत्रका पछिल्ला उपलब्धिबारे एकै ठाउँबाट जानकारी पाउन सकिन्छ । अहिलेको समयमा मानिसका लागि सूचना प्रविधि आधारभूत आवश्यकता भइसकेको छ ।
मेलामा कस्ता स्टलहरू राखिएका छन् ?
यस मेलामा हार्डवेयर र सफ्टवेयर सेल्स सोलुसन, पावर सोलुसन, ल्यापटप मोबाइलका एसेसरिज, विभिन्न कम्पनी, कलेजका विषयमा जानकारी, अनलाइन र बैंकिङ पेमेन्टसम्बन्धी स्टल, त्यस्तै डिलर, डिस्ट्रिब्युटर, इन्टरनेट र दूरसञ्चार सेवाप्रदायक लगायतका स्टलहरू राखिएका छन् । मेलामा विभिन्न कम्पनीले अफर र स्किम सार्वजनिक गरेका छन् ।
मेलामा अवलोकनकर्तालाई कसरी आकर्षित गरिँदै छ ?
इन्फोटेकले सधैँ अवलोकनकर्तालाई आकर्षित गर्दै आएको छ । इन्फोटेक आफैँमा बृहत् मेला हो । यसमा सूचनाप्रविधिका पछिल्ला प्रविधिसहित सूचना र जानकारी हुन्छ । त्यो सबैका लागि चासोको विषय हो । विभिन्न स्टलमा रहेका कम्पनीहरूले आफ्ना पछिल्ला उत्पादन र जानकारी मेलामा प्रस्तुत गर्छन् ।
यसबाहेक विभिन्न कम्पनीको अफर र स्किमले पनि अवलोकनकर्तालाई आकर्षण गर्ने गर्छ । अर्काे कुरा प्रत्येक अवलोकनकर्ताको आफ्नै उद्देश्य हुन्छ । सबैको समान उद्देश्य हुँदैन । कसैको सामान किन्ने त कसैको जानकारी मात्र लिने उद्देश्य हुन्छ ।
क्यान इन्फोटेकको उद्देश्य के हो ?
क्यान इन्फोटेकको मुख्य उद्देश्य सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वभर विकास भएका प्रविधिका सम्बन्धमा नेपाली जनतालाई सुसूचित गराउने हो । त्यसैले अहिलेसम्म क्यान इन्फोटेकको आयोजना प्रभावकारी रूपले अगाडि बढेको देखिन्छ ।
हाम्रो पहिलो उद्देश्य भनेकै उपलब्ध नयाँ प्रविधि एवं उपकरणसँग जिज्ञासु, विद्यार्थी तथा उपभोक्तालाई एउटै थलोमा साक्षात्कार गराउनु हो । प्रविधि विकासकर्ता एवं व्यवसायीबीच इन्फोटेकलाई नै लक्षित गरेर आफ्ना प्रविधि तथा पछिल्ला संस्करणका उपकरण सार्वजनिक गर्ने ट्रेन्ड विकास गर्नु इन्फोटेकको उद्देश्य हो ।
क्यानका चुनौतीहरू के–के छन् ?
अहिलेको युग भनेको सूचना प्रविधिको युग हो । कुनै पनि क्षेत्रको विकासका लागि सबैभन्दा पहिले प्राविधिक रूपले बलियो हुन जरुरी छ । नेताहरूले नयाँ नेपाल बनाउने कुरा गर्छन्, तर क्यानले नेपाललाई ई—नेपाल बनाउने कुरामा जोड दिन्छ । कुनै पनि क्षेत्रको विकासको लागि सर्वप्रथम प्रविधिको विकास हुनु जरुरी छ ।
यसपटकको इन्फोटेकका आकर्षण के हुन् ?
यसपटकको इन्फोटेकमा स्मार्ट मोबाइल फोन तथा इन्टरनेट सेवाप्रदायकहरू विशेष स्किम एवं योजनाका साथ प्रस्तुत भएका छन् । स्मार्ट मोबाइल फोनसेटका कम्पनी एवं डिस्ट्रिब्युटर्सले ब्रान्डिङका निम्ति आकर्षक स्टल तयार पारेका छन् ।
सामसुङ, हुवावे, प्यानासोनिक, कलर्स, कार्बन आदि ब्रान्डले नयाँ सिरिजका स्मार्ट मोबाइल छुटका साथ उपलब्ध गराइरहेका छन् । यस्तै, इन्टरनेट सेवाप्रदायकहरू सुबिसु, भायनेट, वल्र्ड लिंक, वेभसर्फरले विशेष प्याकेज सार्वजनिक गरेका छन् । डेस्कटप र ल्यापटप कम्प्युटरका अत्याधुनिक संस्करण पनि मेलामा उपलब्ध छन् । ठूला व्यापारिक समूहले ठूलै र सानाले सानै किसिमका छुट एवं अन्य निःशुल्क सेवाका कार्यक्रम मेलामा सार्वजनिक गरेका छन् । अन्य समयमा नपाएका सुविधा यो मेलामा प्राप्त गर्न सकिन्छ ।
नवराज कुँवर
उपाध्यक्ष कम्प्युटर एसोसियसन नेपाल महासंघ
क्यान इन्फोटेकबारे केही जानकारी दिनुहुन्छ कि ?
क्यान इन्फोटेक प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रारम्भ भएको छ । क्यान इन्फोटेक नेपालमा आयोजना हुने सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रको वर्षकै सबैभन्दा ठूलो मेला हो । यो मेलामा आइसिटी क्षेत्रका नवीनतम प्रविधि तथा उपकरण प्रदर्शनमा छन् । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले प्रत्येक वर्ष क्यान इन्फोटेकको आयोजना गर्दै आएको छ ।
क्यान इन्फोटेकको लक्ष्य के हो ?
यो वर्ष चार लाख दर्शकलाई मेला अवलोकन गराउने लक्ष्य राखिएको छ । इन्फोटेक सुरु भएको दुई दिनमै करिब एक लाखले मेलाको अवलोकन गरिसकेका छन् । यस वर्ष सर्वसाधारणका निम्ति प्रवेशशुल्क एक सय रुपैयाँ तथा विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।
अहिलेको समयमा सूचना प्रविधिको महत्व कस्तो छ ?
अहिलेको समयमा सूचना प्रविधि अर्थात् आइसिटी सबैका लागि अत्यावश्यक भइसकेको छ । जन्मदेखि मृत्युपर्यन्त यसको उपयोग गर्नुपर्ने मानिसको बाध्यता बन्दै गइरहेको छ । त्यति मात्र होइन, संसारमा विकसित भइरहेका नयाँ—नयाँ प्रविधि केही समयमै नेपाल आइपुग्न र प्रयोग हुन थालेका छन् ।
बजारमा कस्तो नयाँ प्रविधि आए र त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा जान्नु पनि उत्तिकै आवश्यक हुँदै गएको छ । कुनै पनि व्यक्तिका लागि दैनिक वा साप्ताहिक रूपमा बजार गएर यी प्रविधिबारे जानकारी बटुल्नु सहज कार्य होइन । यस्तो अवस्थामा उनीहरूका लागि समय—समयमा हुने सूचना प्रविधि सम्बद्ध प्रदर्शनी वा मेलाले पर्याप्त सहयोग पु¥याइरहेको छ ।
क्यान इन्फोटेकको अवलोकन कस्ता व्यक्तिले बढी गर्छन् ?
हामीले सकेसम्म अवलोकनकर्तालाई अधिकतम सन्तुष्टि दिने गरी मेला आयोजना गरेका छौँ । हाम्रा अवलोकनकर्ता बच्चादेखि वृद्धसम्म छन् । सबैलाई लक्षित गरेर प्रदर्शनीस्थलमा केही न केही हुुन्छ । जानकारी लिने र सामान लिने कसैले पनि खाली हात फर्कनुपर्दैन । यही महत्वपूर्ण हो, तर केही पनि नलिनेहरूले केही पनि पाइँदैन भन्न पनि सक्छन् । अहिले सूचना तथा प्रविधिको समय भएको हुनाले इन्फोटेकमा विशेष गरेर युवाको आकर्षण बढेको देखिन्छ ।
क्यान इन्फोटेकमा प्रायः एउटै कम्पनीको उपस्थिति हुन्छ, नयाँ र विदेशी कम्पनीको सहभागिता किन बढ्न सकेको छैन ?
खासमा भन्ने हो भने धेरै कम्पनी नेपालमा छैनन् । जति छन्, तिनीहरूको उपस्थिति क्यानको इभेन्टमा छ । अर्काे कुरा कम्पनी मात्र भएर पनि भएन, प्रडक्ट पनि हुनुपर्छ । इन्फोटेकमा आउन प्रडक्ट सोकेस गर्नुपर्छ । प्रडक्ट नै नभएका कम्पनीको अर्थ छैन, त्यसैले केही त्यस्ता कम्पनी छुटेका पनि होलान् । हामीले निश्चित कम्पनीले मात्र भाग लिन पाउँछ भनेका छैनौँ । हामी स्टल बुकिङका लागि सार्वजनिक आह्वान गर्छाैं ।
यसअनुसार आउने कम्पनीले इन्फोटेकमा भाग लिइरहेका छन् । जसले आफ्नो सेवा र वस्तुको ब्रान्डिङ गर्न चाहेका छन्, उनीहरू आइरहेका छन् । अझ कतिपय कम्पनीले इन्फोटेककै वेला आफ्नो सेवा र वस्तु सार्वजनिक गरिरहेका छन् । हरेक विदेशी कम्पनीको नेपालमा आधिकारिक विक्रेता छ । विदेशी कम्पनीको उनीहरूले नै प्रतिनिधित्व गरेका हुन्छन् र उनीहरूकै सहभागिता हुन्छ । विदेशी कम्पनीका प्रतिनिधि मेला हेर्न आउनेक्रम पनि बढिरहेको छ ।
मेला कहाँ–कहाँ हुन्छ ?
पहिले–पहिले क्यान इन्फोटेक काठमाडौंमा मात्रै आयोजना हुन्थ्यो, तर यसपालिदेखि नेपालका विभिन्न ठाउँहरू जस्तै चितवन, बुटवल, पोखरा, इटहरीलगायत ठाउँमा आयोजना हुँदै छ । काठमाडौंबाहिरको क्यान इन्फोटेकमा काठमाडौंजस्तो भिड त हुँदैन, तर पनि यसले काठमाडौंबाहिरका उपभोक्तालाई पनि आफ्नो देशमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी हुन्छ ।
रन्जितकुमार पोद्दार
जेनरल सेक्रेटरी कम्प्युटर एसोसियसन नेपाल महासंघ
क्यान इन्फोटक भनेको के हो ?
क्यान इन्फोटेक भनेको क्यानले आयोजना गर्ने एक प्रकारको कुम्भ मेलाजस्तै हो । यसलाई नयाँ र सस्ता ब्रान्डबारे जानकारी दिने आधिकारिक थलो मान्न सकिन्छ । ती सामग्री कहाँ र कुन कम्पनीमार्फत प्राप्त गर्न सकिन्छ भन्ने जानकारी सहज रूपमा प्राप्त हुन सक्छ ।
यद्यपि, यसलाई मेलाका रूपमा मात्र लिइएको पाइन्छ । ग्राहकले अवलोकन गरेर मात्र केही हुँदैन, यसलाई ब्रान्ड प्रवद्र्धन गर्ने थलोका रूपमा पनि विकास गर्न सकिन्छ । त्यसका लागि गुणस्तरीय सामग्रीसमेत राख्ने व्यवस्था यहाँ हुन्छ ।
क्यान इन्फोटेकमा कस्ता सामग्री राखिएका छन् ?
क्यान इन्फोटेकमा पेनड्राइभ, माउस, इयरफोन, सस्तो ल्यापटपको स्किमले निकै नै चर्चा पाएको छ । मेला अवलोकनकर्ताले विभिन्न सामानबारे अध्ययन पनि गर्न सक्छन् । यहाँ विशेष गरेर सूचना र प्रविधिसँग जोडिएका नयाँ र पुराना सामानबारे जानकारी पाउन सकिन्छ । इन्फोटेकमा कतिपय कम्पनीले नयाँ प्रडक्ट सार्वजनिक गर्ने गर्छन् । यहाँ मोटोरोला, टिपीलिंक, नेटिस, डिजिकम, कम्प्युटर, राउटर, एन्टिभाइरस, प्रिन्ट, स्मार्टफोनलगायत सामग्री राखिएका छन् ।
क्यान इन्फोटेकलाई कसरी मूल्यांकन गर्न सकिन्छ ?
क्यान इन्फोटेकलाई जनचेतना जगाउने र व्यापार गर्ने गरी दुई हिसाबले मूल्यांकन गर्न सकिन्छ । व्यापारीको मुख्य उद्देश्य व्यापार भए पनि यसमार्फत वृद्धि भएको जनचेतनाले भविष्यमा हुने व्यापारलाई समेत मद्दत पुगेको छ । कम्पनीहरूले नयाँ प्रोडक्ट लन्च गर्ने उपयुक्त थलोका रूपमा यसलाई उपयोग गरेको पाइन्छ । यसले गर्दा अवलोकनकर्ताले पनि त्यसबारे एउटै स्थानबाट जानकारी प्राप्त गर्न सक्छन् । यसको फाइदाकै कारण अहिले यस्ता मेलामा भिड बढिरहेको छ ।
अहिले र पहिलेको इन्फोटेकमा के फरक छ ?
पहिलोपटक क्यान इन्फोटेक हुँदा २७ सय अवलोकनकर्ताको मात्र उपस्थिति थियो । अहिले चार लाखले अवलोकन गर्ने अनुमान छ । यो अवस्थामा भिड व्यवस्थापन गर्न भने गाह्रो छ । विदेशमा गरिने प्रदर्शनीहरू पनि यस्तै हुन्छन् । यद्यपि, त्यहाँ यस्तो भिड हुँदैन । त्यसका लागि क्यानले पनि अनलाइन रजिस्ट्रेसन, बारकोड प्रणालीलगायत व्यवस्था गरेको छ ।अहिले यहाँको क्यान इन्फोटेकमा बिस्तारै सुधार हुँ
दै गएको छ । नेपालमा अहिले इन्फोटेक मेलाको आयोजना भृकुटीमण्डपमा हुने गर्छ । आइसिटी महोत्सवको आयोजनाले यो क्षेत्रको विकास एवं विस्तारका निम्ति आवश्यक रणनीति तय गर्न बल पुग्छ । इन्फोटेक प्रविधि, विकासकर्ता, व्यवसायी तथा उपभोक्ताबीच सार्थक अन्तरक्रिया गर्ने उपयुक्त प्लेटर्फम पनि बनेको छ ।
क्यान इन्फोटेकमा कस्ता स्टलहरू राखिएका छन् ?
यसपटकको प्रदर्शनीमा भृकुटीमण्डपस्थित मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र बाहिर पाँच वटा ब्रान्डिङ प्रदर्शन कक्ष (स्टल) छन् । त्यसैगरी, ट्रसमा १ सय ४४, खुला स्थानमा १४ र फुड स्टल १० गरी २ सय २२ स्टल रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स एन्ड मेन्टेनेन्स, पावर सोलुसन, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसनलगायत स्टलहरू छन् ।
यसपटकको प्रदर्शनीबाट के अपेक्षा राख्नुभएको छ ?
यसपटकको प्रदर्शनीमा चार लाख अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा छ । सर्वसाधारणका लागि टिकट शुल्क सय रूपैयाँ र विद्यार्थीका लागि ५० रूपैयाँ तोकिएको छ । अनलाइनमार्फत टिकट खरिद गर्दा २० प्रतिशत छुट दिइएको छ ।
प्रतिक्रिया