– मोहिनी मिश्र रिसाल साउदी अरेबियामा महिलाले फुटबल खेल हेर्न रंगशाला प्रवेश गर्न पाउने समाचारले यो महिनाको सुरुआतमा लगभग अन्तर्राष्ट्रिय स्तरमा नै ठूलो प्राथमिकता पायो । साउदी अरेबिया र गल्फ मात्र होइन, विश्वका अन्य देशहरूले यस समाचारलाई ठूलो महत्व दिए । विश्वका कैयौँ देशका महिला राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशको शासन सञ्चालन गर्ने पदमा पुगेका छन् ।
तर पनि साउदी अरेबियामा बल्ल महिलाले यस्तो अधिकार प्राप्त गर्दैछन् भने समाचारले प्राथमिकता नपाउने कुरा पनि भएन । साउदी अरेबियाको सरकारले सन् २०१५ को डिसेम्बर १२ मा भएको नगरपालिकाको निर्वाचनमा पहिलोपटक महिलालाई मतदान गर्ने अनुमति दिएको समाचारले पनि यस्तै चर्चा पाएको थियो । त्यस समयमा महिलाले आफ्नो यो मताधिकारलाई एउटा ठूलो पर्वका रूपमा नै मनाएका थिए ।
यसअघि पनि साउदी अरबको ट्राफिक कार्यालयले महिलालाई पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चारमा स्थान पाएको थियो । ती सञ्चारमाध्यम साउदी अरबले महिलालाई ठूलो न्याय गरेको भान हुनेगरी समाचार छाप्न बाध्य भएका थिए । यो पनि तत्काल लागू नभई औपचारिक रूपमा भने यस वर्षको मध्यबाट मात्र लागू हुने बताइएको थियो । महिलालाई ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गत डिसेम्बर १६ मा गरिएको थियो ।
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलालाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए । यी देशमा मानव अधिकारको विषयमा महिला र पुरुष समान रहेका र उनीहरूले पनि अधिकार पाउनुपर्ने बताउने गरिएकै हुन्छ । तर, व्यवहारमा भने त्यस्तो थिएन । करिब दुई हप्ताअघि जेद्दाहामा भएको फुटबल प्रतियोगितामा साउदी अरबका महिलाहरू पहिलोपटक सहभागी भएर नयाँ इतिहास रचेका टिप्पणी गरियो ।
यसअघि साउदी अरबमा रङगशालामा नै गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरूलाई प्रतिबन्ध थियो । अब आफ्ना परिवारजनसँग फुटबल प्रतियोगिता हेर्न वा प्रतियोगितामा सहभागी हुन पनि सरकारले खुला गरेको बडो गर्वसाथ खुलासा गरेको थियो । साउदी अरबको सरकारले किंग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरूलाई पनि खुला गरेको सूचना हालै प्रकाशित गरेको हो । यस रंगशालामा महिला दर्शकहरूका लागि छुट्टाछट्टै प्रवेशद्वार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ ।
यस वर्षको मध्यबाट साउदी सरकारले महिलाहरूलाई सवारीसाधन चलाउन र चलचित्र हलहरूमा गएर चलचित्र हेर्न पाउने व्यवस्था पनि गर्ने निर्णय गरेको छ ।प्रतियोगितामा खाडी राष्ट्रका महिलाले नयाँ स्वतन्त्रताको पहिलोपटक फाइदा उठाएको विज्ञहरूको भनाइ छ । महिलाले फुटबल प्रतियोगिता हेर्न पाउने, सवारी चलाउन पाउने, चलचित्र हलमा गएर चलचित्र हेर्न पाउनेजस्ता कुरा वास्तवमा भन्ने हो भने अहिलेको युगमा अन्तर्राष्ट्रिय जगतमा नै समाचार बन्ने विषय भने होइन ।
तर, साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै धेरै अनुदार मुलुक मानिन्छ । त्यसका कारण पनि यो समाचारले प्राथमिकता पाएको हो । यस्तो अनुदार देशमा महिलाप्रति यी सरकारी निर्णय पक्कै पनि चर्चा गर्न लायक र विश्वमा नै समाचार त बन्ने नै भयो । यस अगाडि साउदीमा महिलाले कुनै पनि सवारीसाधान चलाउन नपाउने व्यवस्था रहेको थियो । मुस्लिम देश साउदीमा महिलाहरूले कालो बुर्का लगाउने र अनुहार तथा शरीर छोप्नुपर्ने सांस्कृतिक प्रचलनका कारण सवारीसाधन चालक बन्न पनि नदिने गरिएको थियो ।
यद्यपि, महिलाले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनुपर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीहरूले लामो समयदेखि दबाब दिँदै आएका थिए । जर्मनी, बेलायत, भारत, पाकिस्तान, नेपाल, दक्षिण कोरिया, बंगलादेश म्यानमारलगायत देशका महिला देशको उच्च नेतृत्व तहमा नै पुगेका छन् । जर्मन चान्सलर एन्जेला मार्केल चौँथोपटक पनि निर्वाचन जित्न सफल भई चान्सलर बन्न सफल भएकी छन् ।
युरोपियन युनियनबाट बेलायत अलग्गिने जनमतपछि सत्तामा आएकी महिला प्रधानमन्त्री टेरेसा मे बेलायतको सत्ताको बागडोर सम्हाल्न सफल भएकी छन् । अमेरिकामा पनि सन् २०१६ मा शक्तिशाली महिलाको सूचीमा रहेकी अमेरिकी पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन सन् २०१६ को नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपति पदको उम्मेदवार बनिन् र लगभग जितको नजिक नै पुगिन् । साहित्यतर्फ पनि महिलाहरूको उच्च स्थान देखिन्छ, सुनिन्छ । बेलारुसकी पत्रकार तथा लेखिका एसभेट्लाना अलेस्किभीचलाई सन् २०१५ को साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो । नेपालमा समेत विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित भइन् ।
त्यस्तै, प्रधानन्यायाधीश, सभामुखजस्ता महत्वपूर्ण स्थानमा नेपालका महिला पुगिसकेका छन् ।आर्थिक, सामाजिक एवं राजनीतिक रूपमा समेत महिला पछि परिरहेको नेपालजस्तो तेस्रो विश्वको देशमा समेत एकजना महिला देशको प्रमुख र पहिलो पदाधिकारीका रूपमा निर्वाचित हुनुलाई संसारका कतिपय देशका सञ्चारमाध्यमले उदाहरणका रूपमा आफ्ना समाचारका विषयवस्तुमा पारेका थिए । महिलाको यस्तो प्रगतिको चर्चापछि साउदी अरेबियामा यस्ता ससाना कुराहरू पनि गर्व गर्न लायक भनी प्रचार गर्दा त्यहाँका महिलाको अवस्था झल्किन्छ नै ।
यद्यपि, दक्षिण एसियाली राष्ट्रहरूमा महिला र पुरुषलाई समान व्यवहारको जतिसुकै नारा लगाइए पनि भनिएजस्तो महिला सशक्त भने छैनन् । मुस्लिम राष्ट्रहरूमा महिलाप्रतिका नीति अझै अनुदार नै छन् । यस्तै अनुदार देशका रूपमा रहेको साउदी अरेबियामा पनि फुटबल खेलमा सहभाागिता, सवारीसाधन चलाउन पाउने र चलचित्र भवनमा गएर चलचित्र हेर्न पाउनेजस्ता महिलाका लागि गरिएका अग्रगामी परिवर्तनबाट यहाँका महिलामा उत्साह थपिएको पाइएको छ । उनीहरूमा अधिकारका लागि आफ्नो पहल पनि आवश्यक छ भन्ने कुराको महसुस पनि भएको छ । (विभिन्न एजेन्सीको सहयोगमा)
प्रतिक्रिया