लालुलाई साढे १३ वर्ष जेल

राँची । पशु आहारा भ्रष्टाचारमा बिहारका पूर्वमुख्यमन्त्री तथा आरजेडी नेता लालुप्रसाद यादवलाई ५ वर्ष जेल र १० हजार जरिवाना गरिएको छ । यो उनीविरुद्धको सिबिआई विशेष अदालतको तेश्रो मुद्दा हो । योसमेत लालुविरुद्धका तीन मुद्दाको फैसला सुनाइसकिएको छ । अहिलेसम्म उनलाई साढे १३ वर्ष जेल सजायको फैसला सुनाइएको छ, जबकि अझै दुई मुद्दाको फैसला आउनै बाँकी छ । यो मुद्दाका अन्य प्रतिवादी जगन्नाथ मिश्र, जगदीश शर्मा, आरके राणालाई पाँच वर्ष जेल सजाय र विद्यासागर निषाद, ध्रुव भगतलाई तीन वर्ष जेल सजाय सुनाइएको छ ।

पशुपालन घोटाला अर्थात् राज्य ढुकुटीको रकम फर्जी निकासा, औषधि, आहारा आदिको फर्जी आपूर्तिमा लालुविरुद्ध पाँच मुद्दा दायर थिए । जसमध्ये तीनमा उनलाई दोषी ठहर गरियो भने दुई मुद्दाको फैसला आउनै बाँकी छ । पहिलो मुद्दामा २०१३ मा लालुलाई ५ वर्षको सजाय सुनाइएको थियो । यसमा उनी उच्च अदालतबाट धरौटीमा रिहा भइसकेका छन् । यो ७३ दशमलव ७० करोड भारुको भ्रष्ट्राचारको मुद्दा थियो ।
दोश्रो मुद्दामा यही वर्ष २०१८ को ६ जनवरीमा उनलाई साढे ३ वर्षको जेल र ५ लाख जरिवाना सुनाइएको छ ।

यही मुद्दामा उनी अहिले राँचीको बिरसामुन्डा जेलमा सजाय भागिरहेका छन् । यसमा ८४ दशमलव ५४ करोड भ्रष्ट्रचारको आरोप छ ।  तेश्रो मुद्दामा उनलाई पाँच वर्ष जेल सजाय र १० हजार जरिवाना तोकिएको छ । यसमा उनलाई ३३ दशमलव ६१ करोड भ्रष्ट्राचारको आरोप छ । चौँथोमा ३ दशमलव ३१ करोड र पाँचौँमा १३९ दशमलव ३९ करोड भ्रष्टाचारको मुद्दा छ, जसको अहिले सिबिआई विशेष अदालतबाटै फैसला आउन बाँकी छ ।

प्रतिक्रिया