वासिंगटन । अमेरिकी माथिल्लो सदन सिनेट सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ । यो विधेयक अनुमोदन भएको भए संघीय निकायहरूलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न सकिने थियो । विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवा बन्द हुनेछन् ।
यद्यपि संघीय निकायका कर्मचारीहरू काममा फर्कने दिन सोमबारसम्म त्यसको व्यावहारिक प्रभाव नदेखिने बताइएको छ । ह्वाइट हाउस र संसद्को दुवै सदनमा रिपब्लिकनहरूको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो ।
पछिल्लोपटक सन् २०१३ मा पनि सरकारी निकाय खर्चविहीन भएर १६ दिनसम्म कामकाज ठप्प भएको थियो । धेरै कर्मचारीले बाध्यात्मक छुट्टी लिएका थिए तर राष्ट्रिय सुरक्षा र हवाई क्षेत्रको सेवा भने अवरुद्ध भएको थिएन ।
फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो । तर, आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेन ।
केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ । त्यस्ता आप्रवासीको संख्या सात लाख छ ।
पूर्वराष्ट्रपति बराक ओबामाको पालोमा ल्याइएको कार्यक्रमअन्तर्गत उनीहरूलाई अस्थायी कानुनी मान्यता दिइएको थियो । गत सेप्टेम्बरमा ट्रम्पले उक्त कार्यक्रम अन्त्य गर्ने घोषणा गरे । अब संसद्ले मार्च महिनासम्ममा त्यसको विकल्प खोज्नुपर्नेछ ।
सिनेटको नतिजापछि ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा र जोखिममा रहेका केटाकेटीको हीतभन्दा राजनीतिलाई प्राथमिकता दिएको आरोप डेमोक्र्याटहरूमाथि लगाएको छ । सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले विधेयकमा रहेका धेरै विषयमा सहमति भए पनि डेमोक्र्याटहरूले अवैधानिक आप्रवासनसम्बन्धी असम्बन्धित मुद्दा थप्दा विधेयक पारित हुन नसकेको टिप्पणी गरे ।
तर, सिनेटका डेमोक्र्याटिक नेता चक सुमरले भने, ‘धेरै रिपब्लिकनले समेत विधेयकको विरोध गरेका थिए । उनले दुई दलबीच भएको सहमति राष्ट्रपतिले अस्वीकार गरेकाले पछिल्लो अवस्था सिर्जना भएको आरोप लगाए ।
अमेरिकी समयअनुसार शनिबार १२ बजेदेखि संघीय निकायहरू कामका लागि खुल्ने छैनन् । तर, अत्यावश्यकीय सेवाहरू भने चालू रहनेछन् । आवास, वातावरण, शिक्षा र वाणिज्यसम्बन्धी मन्त्रालयका धेरै कर्मचारी घरमै बस्नेछन् । अर्थ, स्वास्थ्य, प्रतिरक्षा र यातायात मन्त्रालयका आधाजसो कर्मचारी पनि सोमबार काममा जाने छैनन् । राष्ट्रिय पार्क र सम्पदास्थल पनि बन्द हुन सक्नेछन् । त्यसले सर्वसाधारणको आक्रोश निम्त्याउन सक्नेछ । सन् २०१३ मा पनि त्यस्तै भएको थियो ।
प्रवेशाज्ञा र राहदानीसम्बन्धी काममा पनि ढिलाइ हुन सक्छ । तर, ‘जीवन वा मानिसको सम्पत्ति’ संरक्षण गर्ने अत्यावश्यकीय सेवाहरू जारी रहनेछ । राष्ट्रिय सुरक्षा, हुलाक सेवा, हवाई ट्राफिक नियन्त्रण, स्वास्थ्य सेवा, आपतकालीन सेवा, विपद्मा सहायता, कारगार, कर र विद्युत उत्पादनजस्ता क्षेत्र भने प्रभावित हुने छैनन् ।
प्रतिक्रिया