एजेन्सी
अमेरिका । वैज्ञानिकहरूले किशोरावस्थाको अवधि बढ्दै गएको र अब त्यो १० देखि २४ वर्षसम्म रहन थालेको बताएका छन् । उनीहरूले सरकारका नीति र कानुनलाई समयानुकूल बनाउन किशोरावस्थाको परिभाषामा परिमार्जन आवश्यक रहेको उल्लेख गरेका छन् । अनुसन्धानकर्ताहरूले पोषणमा आएको सुधारका कारण किशोरावस्था सुरू हुने उमेर अझ कम भएको निष्कर्ष निकालेका छन् ।
२० वर्षको उमेरपछि पनि मस्तिष्कको विकासक्रम जारि रहेकाले किशोरावस्थाको अधिकतम उमेर सीमा पनि बदलिनुपर्ने उनीहरूको भनाइ छ । हाइपोथालामस भनिने मस्तिष्कको एउटा हिस्साले मानिसको पियुस र यौन ग्रन्थीहरूलाई क्रियाशील बनाउन हर्मोनहरू उत्पादन गर्न थालेपछि किशोरावस्था सुरु हुने विश्वास गरिन्छ ।
यो पहिला १४ वर्षको उमेर आसपास सुरु हुने गथ्र्यो । तर, स्वास्थ्य र अधिकांश विकसित देशमा पोषणमा आएका सुधारका कारण अब त्यो विकासक्रम १० वर्षको उमेरमा नै सुरु हुन थालेको वैज्ञानिकहरू बताउँछन् । परिणाम स्वरूप ब्रिटेनजस्ता औद्योगिक राष्ट्रहरूमा किशोरीहरूको पहिलो महिनावारी हुने औसत उमेर विगत डेढ सय वर्षमा चार वर्षले घटेको छ ।
अहिले कुल बालिकाको आधा संख्याको पहिलो महिनावारी १२ वा १३ वर्षको उमेरमा सुरु भइसक्छ । किशोरावस्थाको उमेरको सीमा किन बढाइनुपर्छ भन्नेमा पनि वैज्ञानिकहरूले तर्क दिएका छन् । उनीहरूले शरीरको विकासक्रमलाई ध्यान दिएर त्यसो गर्नु आवश्यक रहेको बताएका छन् ।
उदाहारणका लागि, मस्तिष्क २० वर्षको उमेरभन्दा बढी समयपछि पनि विकास भइरहन्छ र त्यसबेला पनि द्रुत र अझ प्रभावकारी रूपमा काम गरिरहन्छ । कतिपय व्यक्तिका बुद्धिबंगारो २५ वर्षसम्म पनि नआउने वैज्ञानिकहरू बताउँछन् ।
युवा उमेरका मानिसहरूले लामो समयसम्म शिक्षालाई निरन्तरता दिएको, बिहे ढिला गर्न र सन्तान अलिपछि जन्माउन थालेको लगायतले विगतमा किशोरावस्था भनेर भनिने गरिएको उमेरमा परिमार्जन ल्याएको बताइन्छ । ‘ल्यान्सेट चाइल्ड एन्ड एडोलेसेन्ट हेल्थ’ जर्नलमा प्रकाशित लेखले पछिल्लो खुलासा गरेको हो ।
तर, कतिपय विज्ञहरूले चाहिँ किशोरावस्थाको परिभाषा परिमार्जन गर्दा त्यसले कम उमेरका मानिसहरूलाई लामो समय बाल्य अवस्थामै राख्न सक्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया