श्रीलंकाली महिलाले रक्सी किन्न पाउने

ढाका । श्रीलंकाले ६० वर्षभन्दा बढी समयपछि पहिलो पटक १८ वर्ष उमेर नाघेका महिलाहरूलाई मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरेको छ ।

महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को एउटा कानुन संशोधन गर्ने तयारी गरेको छ । बुधबार उक्त कानुन परिमार्जन गर्न लागिएको घोषणा गरिएको हो ।

त्यसको अर्थ, अब महिलाहरूले पूर्वस्वीकृतिविनै मदिरालयमा काम गर्न पनि पाउनेछन् । विगतमा पनि उक्त कानुनको पूर्ण पालना भएको थिएन । तर, धेरै श्रीलंकाली महिलाले पछिल्लो सरकारी निर्णयको स्वागत गरेका छन् ।

श्रीलंकाका अर्थमन्त्रीले गरेको उक्त कानुन परिमार्जनको घोषणालाई सामाजिक सञ्जालमा धेरैले स्वागत गरेका छन् र सरकारलाई त्यसका लागि धन्यवाद दिएका छन् । नयाँ कानुनअन्तर्गत महिलाहरूले अब लाइसेन्स प्राप्त मदिरालय वा रेस्टुराँमा काम गर्न वा मदिरा पिउन राज्यका कर आयुक्तको अनुमति लिनुपर्ने छैन ।

धेरैले प्रसन्नता व्यक्त गरेपनि कतिपयले चाहिँ पछिल्लो निर्णयका कारण महिलाहरू रक्सीको लतमा फस्न सक्ने चिन्ता व्यक्त गरेका छन् । श्रीलंकामा बहुसंख्यक महिलाहरू मदिरालाई आफ्नो संस्कृतिको विपरीत ठान्छन् ।

तर सन् २०१६ मा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले हालैका वर्षमा देशका महिलाहरूको रक्सी सेवन गर्ने दर नाटकीय रूपमा बढेको बताएका थिए । मद्यपानविरोधी अभियानकर्तासमेत रहेका सिरिसेनाले त्यसबेला भनेका थिए, ‘दुव्र्यसनी अब श्रीलंकाको जल्दोबल्दो राष्ट्रिय समस्या बनिसकेको छ ।’

प्रतिक्रिया