म्याग्दी, २३ पुस । म्याग्दीको गलेश्वरधाममा सञ्चालित शालग्राम वेद विद्याश्रममा अध्ययनरत विद्यार्थी (बटुक)लाई पोशाक र गलेश्वर वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ ।
शनिबार पशुपति अन्नपूर्ण आश्रम काठमाडौंका अध्यक्ष जगदिश वैद्य, उपाध्यक्ष दयाराम पाण्डे, महासचिव कमल खनाल र सदस्य भगवान बानियाँले १५ जना विद्यार्थी र ४० भन्दा बढी वृद्धवृद्धालाई पोशाक र न्यानो कपडा प्रदान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार सो अवसरमा काठमाडौँको पशुपति अन्नपूर्ण आश्रमले गलेश्वर क्षेत्रमा सञ्चालित संस्कृति पाठशाला र वृद्धाश्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
“आगामी दिनमा पनि पाठशालामा अध्ययनरत विद्यार्थी, वृद्धाश्रमका वृद्धा, मन्दिरका पुजारीलगायत गलेश्वर क्षेत्र विकासमा आवश्यकताअनुसार शैक्षिक तथा खाद्यान्य सामग्री उपलब्ध गराउने छौँ” अन्नपूर्ण आश्रम काठमाडौँका अध्यक्ष वैद्यले भने ।
प्रतिक्रिया