राष्ट्रिय सभामा मतभार ः यस्तो छ दलीय हिसाब

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा वाम गठबन्धनको स्पष्ट दुईतिहाइ बहुमत पुग्ने देखिएको छ । एकल संक्रमणीय प्रणालीअनुसार सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्ने अन्तिम तयारी गरिरहेको छ । निर्वाचन आयोगले २५ माघमा निर्वाचन गराउन सिफारिस गरेपछि सरकारले दलीय छलफल सुरु गरेको छ ।

एकल संक्रमण्ीाय प्रणालीमा जाँदा नेपाली कांग्रेससहित अन्य दलले १४ र बाँकी सबै सिट वाम गठबन्धनले जित्नेछन् । एकल संक्रमणीय प्रणालीले गर्दा नेपाली कांग्रेसलाई आठ सिट फाइदा हुने देखिन्छ भने वाम गठबन्धनलाई प्रदेश नम्बर २ बाट दुई सिट फाइदा हुने देखिएको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने व्यवस्था छ ।

जसअनुसार स्थानीय तहका ७ सय ५३ मध्ये एमालेले प्रमुखमा २ सय ९४, उपप्रमुखमा ३ सय ३१, नेपाली कांग्रेसले प्रमुखमा २ सय ६६, उपप्रमुखमा २ सय २३, माओवादी केन्द्रले प्रमुखमा १ सय ६ र उपप्रमुखमा १ सय १२ सिट जितेका छन् । यस्तै, प्रमुखमा संघीय समाजवादी फोरम नेपालले एक्लै २४ सिट र नयाँ शक्ति नेपालसँग मिलेर थप १० सिट जितेको छ ।

राजपाले प्रमुखमा २५, कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिकले ९, राप्रपाले ५, जनमोर्चाले ३, नेपाली जनता दलले २, मजदुर किसान पार्टीले एक र स्वतन्त्रले ६ स्थानमा जित हासिल गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा गएकाले केही मतभार उसमा थपिनेछ । प्रदेशसभाको सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । प्रत्येक प्रदेशमा कुल मतभार बेग्लाबेग्लै हुने तथा विजयी हुने उम्मेदवारले पनि निश्चित मतभार कटाउनुपर्ने हुन्छ ।

कुन प्रदेशमा कसको कति मतभार ?
प्रदेश १
यस प्रदेशमा कुल मत ९ हजार ३ सय ९६ छ । जसमध्ये जितका लागि प्रत्येक उम्मेदवारलाई २ हजार ३ सय ५० मत चाहिन्छ । यहाँ एमालेको स्थानीय तहमा ५ हजार २ सय २० मतभार छ भने माओवादी केन्द्रको १ हजार ८ छ । नेपाली कांग्रेसको २ हजार ६ सय १० तथा तत्कालीन फोरम लोकतान्त्रिकको १ सय २६ मतभार छ । यस प्रदेशबाट संघीय समाजवादी फोरम नेपालको २ सय १६ मतभार छ ।

प्रदेश २
यस प्रदेशमा कुल १० हजार ३२ मतभार छ भने जितका लागि उम्मेदवारले २ हजार ५ सय ३३ मत ल्याउनुपर्नेछ । यहाँ एमालेको १ हजार ६ सय ७४ र माओवादीको १ हजार ३ सय ३८ मतभार छ । नेपाली कांग्रेसको २ हजार २ सय ६२ र फोरम लोकतान्त्रिकको १ सय ८ छ । यसैगरी, संघीय समाजवादी फोरमको २ हजार ३ सय १० र राजपाको २ हजार १ सय ९० मतभार छ । नयाँ शक्तिको ६६ र जनता दलको ८४ मतभार छ ।

प्रदेश ३
यस प्रदेशमा कुल मतभार ९ हजार ५ सय ६४ छ । विजयी उम्मेदवारले २ हजार ३ सय ९१ मत ल्याउनुपर्दछ । एमाले एक्लैको यहाँ ५ हजार १ सय ७८ मतभार छ भने माओवादी केन्द्रको १ हजार ६ सय ९८ छ । नेपाली कांग्रेसको २ हजार २ सय १४, राप्रपाको ८४ छ । यस्तै, विवेकशीलको १ सय ४४, नेमकिपाको १ सय ३२, नयाँ शक्ति नेपालको ६६ र राप्रपा प्रजातान्त्रिकको ४८ मतभार छ ।

प्रदेश ४
प्रदेश नम्बर ४ मा कुल ५ हजार ९ सय ४० मतभार छ । यहाँ जित्नका लागि एक उम्मेदवारले १ हजार ४ सय ८५ मतभार ल्याउनुपर्छ । एमालेको यस प्रदेशमा २ हजार ५ सय ५६, माओवादी केन्द्रको ७ सय ९२ मतभार छ । नेपाली कांग्रेसको २ हजार १ सय ७८, राष्ट्रिय जनमोर्चाको १ सय ९८, राप्रपाको ३६, नयाँ शक्ति नेपालको ९६ र स्वतन्त्रको ८४ मतभार छ ।

प्रदेश ५
८ हजार १ सय मतभार रहेको प्रदेश ५ मा जितका लागि उम्मेदवारले २ हजार २५ मतभार ल्याउनुपर्ने हुन्छ । यस प्रदेशमा एमालेको ३ हजार १ सय २० तथा माओवादी केन्द्रको १ हजार ६ सय ९८ मतभार छ । नेपाली कांग्रेसको २ हजार ५ सय ३२, फोरम लोकतान्त्रिकको ३६, संघीय समाजवादीको ४ सय ३८, राष्ट्रिय जनमोर्चाको १ सय २० छ । राजपाको ४८, राप्रपाको ३६, नयाँ शक्तिको १८ र स्वतन्त्रको ५४ मतभार छ ।

प्रदेश ६
प्रदेश नम्बर ६ मा कुल ४ हजार ७ सय ६४ मतभार छ भने जित्न उम्मेदवारले १ हजार १ सय ९१ ल्याउनुपर्छ । एमालेको १ हजार ९ सय ८६ मतभार छ भने माओवादी केन्द्रको १ हजार ५ सय ६० छ । नेपाली कांग्रेसको १ हजार २६, राप्रपाको ८४ र स्वतन्त्रको १ सय ८ मतभार छ । यहाँ भने नेपाली कांग्रेसलाई आफ्ना उम्मेदवारलाई जिताउन स्वतन्त्रको मत निकै महत्वपूर्ण मानिएको छ ।

प्रदेश ७
प्रदेश नम्बर ७ मा ५ हजार ७ सय ८ मतभार छ । यहाँ जित्नका लागि उम्मेदवारले १ हजार ४ सय २८ मतभार कटाउनैपर्छ । यस प्रदेशमा एमालेको २ हजार ६ सय ९४ मतभार छ भने माओवादी केन्द्रको १ हजार १४ छ । नेपाली कांग्रेसको १ हजार ९ सय ८, राजपाको ९६ मतभार छ ।

कसरी हुन्छ मतभार गणना ?
पहिलो हुने निर्वाचित हुने प्रणालीमा भोट खेर जाने लगायतका अवगुणलाई हटाउँदै समानुपातिक प्रतिनिधित्व गराउनका लागि यो निर्वाचन प्रणाली बनाइएको हो । यो प्रणालीमा कुत मतलाई कुल सिटसंख्यामा एक जोडेर आउने अंकले भाग गरेर आएको अंकमा एक जोड्दा आउने संख्या नै जितका लागि आवश्यक मत हुन्छ । हरेक मतदाताले प्राथमिकताक्रमअनुसार भोट हाल्नेछन् । कोटाभन्दा बढी भएका भोट र सबैभन्दा कम भोट पाउने उम्मेदवारको दोस्रो प्राथमिकताको भोट अरू उम्मेदवारलाई सर्छ । निश्चित मत पाउने उम्मेदवार सुरुमा विजयी हुन्छ भने निश्चित मतभारमध्ये सबैभन्दा कम मत ल्याउने पनि पहिला नै बाहिरिन्छ । बाहिरिएको उम्मेदवार र विजयी हुन निश्चित मतभन्दा बढी आउने उम्मेदवारको मतभार दोस्रो प्राथमिकतामा राखिएको उम्मेदवारको मतमा गएर जोडिन्छ ।

दोस्रो प्राथमिकतामा परेको भोटलाई त्यो उम्मेदवारले पाएको कुल भोटले भाग गरेर त्यसलाई बाँकी रहेको भोटले गुणा ग¥यो भने सर्ने भोटको संख्या आउँछ । त्यसबाट जित्नका लागि आवश्यक मतभार कटाउने उम्मेदवार विजयी हुन्छ र विजयी हुँदा त्यो उम्मेदवारको पनि मत बढी भए तेस्रो प्राथमिकतामा राखेको उम्मेदवारलाई सरेर जान्छ । तेस्रो उम्मेदवारलाई जितका लागि आवश्यक मत पुगेन भने बाँकी रहेका उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छ ।

पाँच वटा प्रदेशमा महिलातर्फ पाँच जना र खुलातर्फ पाँच जना गरी कुल १० सिटमा कांग्रेसको सम्भावना रहन्छ । वाम गठबन्धनलाई ५९ सदस्यीय राष्ट्रिय सभामा निर्वाचित हुने ५६ मध्ये प्रदेश १, ३, ४, ५ र ७ बाट दुई , दुई सिट गरी १० सिट घाटा लाग्ने देखिन्छ तर एमालेले प्रदेश २ बाट दुई वटा सिट जित्ने सम्भावना छ ।

प्रतिक्रिया