गुरमुरत यादव
नेपालगञ्ज । पाँच दिनदेखि नेपालगञ्जमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहको हरकतले प्रहरी प्रशासन हैरान बन्न थालेको छ । सुरक्षा निकायलाई जानकारी नै नदिई हिँडन थालेपछि प्रहरी हैरान बनेको हो ।
पूर्वराजाले सोमबार नेपालगञ्ज बजारको अवलोकन गर्दा देखिएको दृष्यले प्रहरीको हैरानी बाहिर आएको हो । सुरक्षा निकायलाई थाहै नदिई पूर्वराजा सोमबार बिहान बाहिर निस्केपछि प्रहरी कर्मचारीको कुदाकुद भयो । बा २ च ६४१८ नम्बरको कार चलाएर ज्ञानेन्द्र नेपालगञ्ज बजारतिर निस्केका थिए । पूर्वराजाले नेपालगञ्जको सुर्खेतरोडमा केहीबेर यात्रा गरे । नेपालगञ्ज भन्सारसम्म पुगेर फर्किएका ज्ञानेन्द्र होटलमा नपसी फेरि कोहलपुरतिर लागे । गनापुरबाट फर्किएर ज्ञानेन्द्र सोल्टी होटल पुगेका थिए ।
पूर्वराजा एक्कासि केही नभनी हिँडेपछि बाँके प्रहरी ठूलै तनावमा परेको थियो । सोल्टी होटलबाट नेपालगञ्ज बजारतिर निस्केपछि बागेश्वरी मन्दिर दर्शन हुन सक्ने बुझेर प्रहरीको एउटा टोली मन्दिर पुगेको थियो । वडा प्रहरी कार्यालयका इन्चार्ज राजन गौतमको टोली धेरैबेरसम्म मन्दिर बसेर फर्कियो । पूर्वराजा कोहलपुरतिर गएको भन्ने बित्तिकै अर्का प्रहरी निरीक्षक वसन्त गौतमको टोली कोहलपुरतिर हान्नियो । उसले पनि पूर्वराजालाई भेट्न सकेन । केहीबेरपछि पूर्वराजा सोल्टी होटलमा पुगेको त्यहाँ रहेका असईले जानकारी गराएपछि कोहलपुरतिर लागेको र बागेश्वरी मन्दिरमा रहेको प्रहरी टोली फर्किएको थियो ।
पूर्वराजाको भ्रमणतालिका सुरक्षा निकायलाई नदिँदा बाँके प्रहरी तनावमा छ । सोल्टी होटलमा बसेका पूर्वराजपरिवारको सुरक्षामा सशस्त्र प्रहरीको टोली खटिएको छ । सशस्त्रका डिएसपीले कमान्ड गरेको टोली त्यही बसेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्रप्रसाद अर्यालले पूर्वराजपरिवारको सुरक्षामा सशस्त्र प्रहरीको टोली खटिएकोले आपूmहरूसँग उनको भ्रमण र यात्राको बारेमा समन्वय नहुने गरेको बताए । यसैबीच नेपालगञ्जमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेपछि राप्रपाका अध्यक्ष कमल थापाले अब राजसंस्था र हिन्दूराष्ट्रका लागि सडक आन्दोलन गर्ने बताएका छन् ।
उनले नेपालगञ्जस्थित होटल सोल्टीमा ज्ञानेन्द्र शाहसँग शनिबार भेट गरेका थिए । उनको भेट एक घण्टाभन्दा लामो समय चलेको थियो । यद्यपि थापाले आफू पूर्वराजालाई भेट्नकै लागि नेपालगञ्ज नआएको प्रष्टीकरण दिए । ‘म नेपालगञ्ज आएको र पूर्वराजा पनि यतै रहेको थाहा पाएपछि भेट्न गएको हुँ,’ थापाले भने ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रको भ्रमण तथा आफ्नोसमेत लगानी रहेको चार तारे होटल सोल्टी सिबक्रिम होटल एन्ड रिसोर्टको उद्घाटनका लागि पूर्वराजा ज्ञानेन्द्र गत बिहीबार नेपालगञ्ज आइपुगेका हुन् । थापाले उनले निर्वाचन परिणामपछि संसद्मा हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दा कमजोर भएको स्वीकार गरेका छन । यद्यपि, ती मुद्दालाई स्थापित गर्न राप्रपाले सडक आन्दोलन चर्काउने उनको दाबी थियो ।
प्रतिक्रिया