रसिक र इन्फादा सम्मानित

काठमाडौं । नेपाली गीत संगीतका क्षेत्रमा योगदान दिएबापत गणेश रसिक र साहित्यमा योगदान पु¥याएबापत पूर्ण इन्फादा सम्मानित एवं पुरस्कृत हुने भएका छन् । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले रसिक र युवा स्रष्टा तथा समालोचक इन्फादालाई सन् २०१७ को ‘भोजपुर प्रतिभा सम्मान’ तथा ‘पुरस्कार प्रदान’ गर्ने जनाएको छ । रसिकले साहित्य, कला तथा गीत–संगीत र इन्फादाले कविता तथा समालोचनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको संस्थाका सचिव काङमाङ नरेश राईले जानकारी दिए ।

संस्थाका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सचिव काङमाङका अनुसार सम्मानमा नगद १५ हजार राशिसहित दोसल्ला र ताम्रपत्र तथा पुरस्कारमा नगद ३० हजार राशि र ताम्रपत्र रहेको छ । २००४ सालमा भोजपुरको छिनामखुमा जन्मिएका रसिकका ‘जब सिस्नुहरू टेक्दै हिँडेँ’, ‘दश जगाजमा उभिएर’ संस्मरण र ‘क्षितिजलाई छुन खोज्दा’, ‘एउटा सारङ्गीभित्र’, कथा संग्रह, ‘आकाशगंगाको ओतमुनि’ उपन्यास र ‘रसिकका गीत’ गीत संग्रह प्रकाशित छन् ।

उनले सयौं गीतमा संगीत सिर्जना गर्नुका साथै स्वर दिएका छन् । रसिक हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव छन् । यसै गरी भोजपुरको याकुमा २०२८ सालमा जन्मिएका इन्फादाका ‘मौन कम्पनहरू’ र ‘अभिलेख अवशेषहरू’ नामक दुई कविता संग्रह प्रकाशित छन् । सम्मान तथा पुरस्कार फागुनको दोस्रो साता राजधानीमा एक समारोहको आयोजना गरी प्रदान गरिने जनाइएको छ ।

साहित्य, कला, संगीत तथा खेलकुद विधामा उल्लेखनीय योगदान पु¥याएबापत भोजपुरे प्रतिभालाई दिइने सम्मानबाट यसअघि पूर्णप्रकाश नेपाल ‘यात्री’, परशु प्रधान, कृष्ण जोशी, जिबी लुगुन र मञ्जुल सम्मानित भइसकेका छन् । श्रवण मुकारुङ, दिनेश बान्तवा, विप्लव ढकाल, विमल गिरी र मीरा राईले पुरस्कार प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया