एक–अर्काविरुद्ध खनिए कांग्रेस नेता

 

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले मेलमिलाप दिवसमै एक–अर्काविरुद्ध दन्त बजान गरेका छन् । मेलमिलाप दिवसमा पार्टीले कुनै कार्यक्रम नगरे पनि भ्रातृ संगठनले आयोजना गरेको फरक–फरक कार्यक्रममा नेतृत्वले सार्वजनिक रूपमा नै एक अर्काको उछित्तो काढ्ने काम गरेका हुन् ।

संस्थापक नेता बिपी कोइराला मेलमिलापको नीति लिएर प्रवासबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । विगतमा भव्य कार्यक्रम गरेर मेलमिलाप दिवस मनाउने गरे पनि पछिल्लो समय भने यसलाई कांग्रेसले औपचारिकतामा मात्र सीमित गर्दै आएको छ । जसको मुख्य कारण हो, पार्टीभित्र मौलाउँदै गएको गुट राजनीति ।

मेलमिलाप दिवसका अवसरमा कांग्रेस भ्रातृ संगठनले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । नेपाल विद्यार्थी संघको एउटा समूहले आपूm पक्षका नेतालाई मात्र बोलाएर मेलमिलापको कार्यक्रम गरे । त्यही कार्यक्रमको मञ्चमा उभिएर शीर्ष नेताले भने मेलमिलापको विकल्प छैन । त्योभन्दा बढी अर्को गुटका नेताविरुद्ध दिल खोलेर उछितो काढे ।

नेविसंघले राजधानीमा आयोजना गरेको बेग्लाबेग्लै कार्यक्रममा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह एक अर्काविरुद्ध खनिए । मुख्यत सबै निर्वाचनमा व्यहोरेको लजास्पद परिणामपछि कांग्रेसभित्र सस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिएका नेताबीच आरोप प्रत्यारोप हुँदै आएको छ । उनीहरूले लज्जास्पद हारको कारण एक अर्का गुटलाई बोकाउँदै खुलेरै सभापतिको राजीनामा माग्दै आएका छन् । आपूm विरुद्धको आवाज सार्वजनिक रूपमै आउन थालेपछि देउवाले जथाभावी नबोल्न पटक–पटक निर्देशन दिएका छन् । बाँकी नेताहरूले सभापतिले पार्टी चलाउन नसकेकाले तत्काल राजिनामा दिनुपर्ने दाबी गर्दै आएका छन् ।

सभापति देउवाले आफ्नो आलोचना गरेको भन्दै निर्वाचनमा हारेका नेतालाई अनुशासनमा बस्न चेतावनी दिए । उनको ठाडो शब्द थियो, ‘पार्टीभित्र मेरो बिरोध गर्नेले पनि बुझुन, चुनाव आफैँ हार्ने अनि मलाई हरायो भन्ने रु’ हारपछि पार्टीभित्र निकै चर्को आलोचना खेपेका देउवाले पार्टीभित्रै पनि अनुशासन सहितको मेलमिलापमा जोड दिए । स्थानीय तहमा अन्तर्घात गर्नेलाई कारबाही नगर्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पराजित हुनुपरेको उनको भनाइ थियो । अन्तर्घात गर्नेलाई छानबिन गर्न अब उच्च तहको जाँचबुझ समिति बनाउने उनको दाबी छ । देउवाले लोकतन्त्र सुदृढीकरणका लागि सबै दलबीचको मेलमिलाप आवश्यक रहेको पनि बताए ।

नेविसंघलकै अर्को कार्यक्रममा नेता प्रकाशमान सिंहले नेतृत्वको चर्को आलोचना गरे । पार्टी विधि र विधानअनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरू कमजोर हुँदै गएको उनको भनाइ थियो । पार्टी अहिले संस्थागत नभएर व्यक्तिगत ढंगले चलेकै कारण निर्वाचनमा कमजोर नतिजा आएको उनको दाबी थियो । सिंहले पनि सभापति देउवाविरुद्ध दिल खोलेर आलोचना गरे । ‘कुनै पनि निर्णय गर्दा पार्टी नेताको राय सुझाव नलिएका कारण कांग्रेस अहिले बिरामी भएको छ, यसलाई निको पार्न राम्रो डाक्टरको आवश्यकता छ ।’ सिंहले भने, ‘वर्तमान नेतृत्वको गुणगान गाउँदैमा कांग्रेसमा सुधार हुँदैन ।’ नेता सिंहले पार्टी नेतृत्वले पदाधिकारी, केन्द्रीय समिति, विभागलाई दुई महिनामा पूर्णताः दिनुपर्नेमा दुई वर्षसम्म पनि गर्न नसक्नु दुःखद कुरा भएको उल्लेख गरे । कांग्रेसलाई बलियो बनाउन विधान र नियमअनुसार पार्टी चलाउनुपर्ने नेता सिंहले सभापति देउवालाई सुझाव दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने गृहजिल्ला तनहँुबाट बिपी कोइरालाको आदर्श, सिद्धान्त र नीतिलाई कांग्रेसले आत्मसात गर्न नसक्दा निर्वाचनमा हार व्यहोर्नुपरेको बताए । उनले कांग्रेस भित्रबाटै भएको अन्तर्घात र पार्टी सिध्याउन लागेका तत्वहरूका कारण चुनावमा पराजित हुनुपरेको उल्लेख गरे । कांग्रेस संस्थापक नेता बिपी कोइराला ०३३ पुस १६ मा राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्केको दिनको अवसर पारेर कांग्रेसले मुलुकभर विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाएको छ ।

प्रतिक्रिया