‘फुर्लुङ’ मा भुइँचालोको कथा 

काठमाडौं । ०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले नेपाली समाजमा पारेको प्रभावमा आधारित रहेर चलचित्र ‘फुर्लुङ’ निर्माण गरिएको छ । दिनेशजंग खड्काले निर्देशन गरेको यो चलचित्रमा घरपरिवार गुमाएका बालबालिकाको दयनीय अवस्थालाई उतारिएको छ ।

सिन्धुपाल्चोकको दनुवार समुदायको कथा–व्यथा, जीवनशैली तथा संस्कृतिलाई चलचित्रमा चित्रण गरिएको छ । जीवन थापाले संवाद लेखेको यस चलचित्रमा दनुवार समुदायमा भुइँचालोले पारेको प्रभावलाई देखाइएको निर्देशक खड्काले बताए ।

चलचित्रलाई देशका विभिन्न विद्यालय र गाउँबस्तीमा प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाउने उद्देश्य रहेको खड्काले जनाए ।

केशव अधिकारीको छायांकन, नवीन निरौलाको सम्पादन र सूर्य राईको सङ्गीत रहेको चलचित्रमा जीवन थापा, अशोक शिवाकोटी, अनुष्का खड्का, ज्ञानेन्द्र कोइराला, अर्नभ खड्का, कृष्णभक्त, वेदप्रसाद, विष्णुभक्त र लक्ष्मी दनुवारको अभिनय छ ।

आरटीआई एड इन्टरनेसनल नेपालको प्रस्तुति रहेको चलचित्रमा राजेश श्रेष्ठ ‘राहुल’ कार्यकारी निर्माता रहेका छन् भने भवानी खड्का निर्माता र कर्ण नेपाली सहनिर्माता रहेका छन् । चलचित्रको अन्तर्राष्ट्रिय बजार–व्यवस्थापनको जिम्मा माउन्टेन रिभर फिल्मसले लिएको छ ।

प्रतिक्रिया