रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

चरिकोट, ३ पुस । म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् ।

सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सदरमुकाम चरिकोटमा सोमबार आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् ।

त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएको म्यादी प्रहरी राजन बस्नेतले बताए ।

अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ ।घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।

खाना खुवाएवापत प्रहरी जवानबाट प्रति छाक रु ६० काटे पनि जिप्रकाले म्यादीबाट भने रु ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताइन् ।

त्यसैगरी, महिला म्यादीमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुले गरेका छन् ।

जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ ।

आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् ।

हाल जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता चलिरहेको छ ।

वार्ता निष्कर्षमा पुग्न सकेको छैन । प्रनाउ कार्कीले वार्ताबाट समस्या समाधान गर्ने बताउँदै जथाभावी आन्दोलन नगर्न म्यादीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया