पदक विजेता सम्मानित

काठमाडौं । प्रथम इसिन कान क्योकुसिन कराते एसियन कप काता च्याम्पियनसिपमा पदक जित्न सफल ३ खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । भारतको कोलकातामा भएको प्रतियोगितामा नेपाललाई १ स्वर्ण र २ कांस्य पदक दिलाएका आफ्ना खेलाडीलाई इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल संघ (आइएफकेके) ले नगदसहित सम्मान गरेको हो ।

गत १८ नोभेम्बरमा भएको प्रतियोगिताको एकल कातामा ज्ञानबहादुर तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए । उनलाई संघका अध्यक्ष श्याम थापाले व्यक्तिगत २५ हजार नगद पुरस्कार प्रदान गरे । एकल कातामै डिककुमार प्रधान र मिक्स कातामा एलेन्स पौडेलले कांस्य जितेका थिए । उनीहरूलाई संघका पदाधिकारीहरू मिलेर समान ५–५ हजार नगद पुरस्कार दिए ।

संघका अध्यक्ष थापा तथा उपाध्यक्षद्वय दामोदर नेपाल र घनश्याम श्रेष्ठले खेलाडीलाई सम्मानपत्र र नगद प्रदान गरी सम्मान गरे । टोलीका प्रशिक्षक एवं नेपालका लागि ब्रान्च चिफ प्रेमबहादुर तामाङ पनि सोही अवसरमा सम्मानपत्रबाट सम्मानित भए ।

प्रतिक्रिया