एक्सेलसियर कपमा फुटबल र बास्केटबल

काठमाडाैं । छैटौँ दी एक्सेलसियर कप अन्तरविद्यालय खेलकुद प्रतियोगितामा फुटबल र बास्केटबलका २ खेल समावेश गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । स्वयम्भूस्थित दी एक्सेलसियरमा भएको पत्रकार सम्मेलनमा स्कुलका प्रबन्ध निर्देशक राम बस्नेतले खेलक्षेत्र विकासको मेरुदण्ड नै विद्यालय खेलकुद भएकाले राज्यले विद्यालय खेलकुदमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘शिक्षा सँगै खेलकुद’ हाम्रो संस्थाको मूल उद्देश्य हो, हामी खेल क्षेत्रको विकासका लागि सहकार्य गर्न चाहन्छौँ ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा आयोजक स्कुलका सहायक प्रधानध्यापक प्रशान्त रजकले प्रतियोगिताको फाइभ ‘ए’ साइड फुटबलमा छात्र जुनियर र सिनियरका खेलहरू सञ्चालन हुने जानकारी गराए । बास्केटबलमा छात्रतर्फ जुनियर र सिनियर तथा छात्रातर्फ सिनियर स्पर्धा रहेको जानकारी दिए । सहायक प्रधानध्यापक रजकले प्रतियोगिताका लागि अनुमानित ८ लाख लाग्ने पत्रकार सम्मेलनमा बताए ।

स्वयम्भुस्थित आयोजक स्कुलमा ४ देखि १३ पुषसम्म सञ्चालन हुने प्रतियोगितामा फाइभ ‘ए’ साइड फुटबलमा १२ वर्षमुनी १३ तथा १६ वर्षमुनि २० टिमको सहभागिता पक्का भएको प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी गराए ।  बास्केटबलमा छात्रातर्फ १२ टिमले प्रतिस्पर्धा गर्दा जुनियर छात्रमा १६ तथा सिनियर छात्रमा १२ टिम सहभागिता रहेको संयोजक ठकुरीले जनाएका छन् ।

प्रतियोगितामा स्टाप बास्केटबलका खेल पनि समावेश गरिएको छ । पत्रकार सम्मेलनमा अतिरिक्त क्रियाकलाप संयोजक थुपी गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्नेछन् ।

प्रतिक्रिया