नेपाल उपाधिका लागि भिड्ने

काठमाडौं । नेपालले प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर टी–२० क्रिकेट ट्राई सिरिज फाइनलमा स्थान बनाएको छ । घरेलु मैदानमा भएको सिरिजमा लगातार दोस्रो जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दोस्रो खेलमा भारतलाई ६५ रनले हराउँदै सहज जित निकालेको हो । नेपालले भारतसँगको खेलमा ब्याटिङका साथै उत्कृष्ट बलिङ गरेको थियो ।

शुक्रबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ५२ रनको चुनौती पछ्याएको भारतले निर्धारित १४ ओभर नै खेल्दै ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।  शुक्रबारको खेल २० ओभरबाट १४ ओभरमा छोट्याइएको थियो । भारतका लागि ओपनर सौरभ मल्लिकले २५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । सुनीलकुमार पटेलले १३ रन र रमेश सार्तप्पेले १० रन बनाए पनि भारतको जितका लागि पर्याप्त रहेन ।

नेपालको बलिङका लागि यमबहादुर श्रेष्ठ र विष्णु अधिकारीले समान २–२ विकेट लिँदै भारतको पारीलाई माथि उठ्न दिएनन् । राजु कटुवालले १ विकेट निकाले । भारतले २ विकेट रन आउटको रूपमा गुमाएको थियो । त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ५१ रनको विशाल स्कोर खडा ग¥यो ।

नेपालका लागि नवीन राईले ५० रनको अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ६ चौका प्रहार गरे । विपिन पौड्यालले अविजित २५ रन बनाए । राजु गुरुङ २३ रन तथा दिगम लिम्बू १६ रनमा आउट भए । दानबहादुर थिङ र जंगबहादुर थापा भने शून्यमै पभेलियन फर्किए । ललित पाठक र अमितकुमार सिंहले समान २–२ विकेट लिए ।

सिरिजको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार नै भएको खेलमा भारतलाई नै पराजित गर्दै बंगलादेश पनि फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार कीर्तिपुर मैदानमा हुनेछ ।

प्रतिक्रिया