विराटनगर, २९ मंसिर । विराटनगरमा तुलसा मदर एण्ड चाइल्ड अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
विराटनगर-९ स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको विस्तारित शाखाअन्तर्गत उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।
१४ कठ्ठा जग्गामा रु सात करोडको लागतमा उक्त अस्पताल निर्माण गरिएको शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस्तै अस्पतालका प्रवन्ध निर्देशक राजेश भट्टराईले अस्पताल विधिवत् रुपमा सञ्चालनमा आएको जनाए ।
भूकम्प प्रतिरोधात्मक भवनमा सञ्चालन भएको उक्त अस्पताल ५५ श्ययाको रहेको अस्पतालका प्रबन्ध निर्देशक वीरेन्द्रकुमार विष्टले बताए ।
मातृशिशु स्वास्थ्यमा थप उपचार पुर्याउने उद्देश्यले अस्पतालमा २४ घन्टा आकस्मिक, प्याथोलोजी, भ्यान्टिलेटर, शल्यक्रिया, प्रसूति, टेस्टटुयुब बेबी सेवा तथा खोप तथा मातृशिशुलगायतका सेवा सञ्चालनमा रहेको निर्देशक विष्टले जानकारी गराए ।
१७ वर्षदेखि विराटनगरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सेवा पुर्याउँदै आएको छ ।
पूर्वाञ्चलकै प्रमुख अस्पतालको रुपमा रहेको सो अस्पतालले बालबालिका तथा प्रसूतिका लागि थप सेवा पुर्याउन सेवा विस्तार गरी उक्त बाल अस्पताल सञ्चालनमा ल्याएको हो ।
लामो समयदेखि विराटनगरमा सञ्चालनमा आएको कार्डियो अस्पतालमा भारतको बिहार र बंगालबाट २० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया