नयाँ सरकारको आर्थिक नीति: कमिसन निषेधगरी कर असुली

सरकारले लिन्छ लगानीकर्ताको पूर्ण सुरक्षा ग्यारेन्टी
कर असुलीमा कुनै सम्झौता हुन्न, कर छल्नेलाई छाडिन्न
लगानीमैत्री वातावरण हुन्छ, कमिसनमा पूर्ण प्रतिबन्ध लगाइन्छ
मेरो नाममा माग्न आउनेलाई पैसा नदिनोस्, समातेर प्रहरीमा बुझाउनोस्

शान्तिराम कार्की
काठमाडौं, २९ मंसिर । अब बन्ने सरकारको आर्थिक नीति कमिसनलाई पूर्णरूपमा निषेधगरी करअसुली हुने भएको छ । वाम गठबन्धनको सरकारले लिने आर्थिक नीतिको विषयमा मुलुकका व्यापारिक घराना र लगानीकर्ता आशंकामा परेको बेला सरकारका नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यापारिक समुदायका अगुवासमक्ष आगामी सरकारको आर्थिक नीति प्रष्ट पारेका हुन् ।

वामपक्षीय गठबन्धनको विजयका लागि ओलीलाई बधाई दिन पुगेका व्यापारिक घरानाका अगुवाहरूले आर्थिक नीतिको विषयमा आशंका गरेपछि ओलीले सरकार लगानीकर्ताको पूर्ण सुरक्षा ग्यारेन्टीसहित अघि बढ्ने प्रष्ट पारे । ‘कमिसनलाई निषेधगरी कर असुली सरकारको पहिलो प्राथमिकता हुन्छ, कोही पनि लगानीकर्ता डराउनु पर्दैन, सबै प्रकारका सुरक्षा सरकारले गर्छ,’ ओलीले भने । सरकारले नै लगानीकर्तालाई सुरक्षा दिनुको साटो अनावश्यक दुःख दिई कमिसन असुल्ने तर करमा भने छुट दिने गरेको तथ्यका आधारमा यस्तो नीति अबलम्बन गर्न लागेको पनि ओलीले प्रष्ट पारे ।

व्यापारिक घराना राज्य र गैरराज्य दुवैतिरको थ्रेटमा परेको यथार्थप्रति आगामी सरकारले विशेष योजना बनाएर अघि बढ्ने पनि ओलीले जनाउ दिए । आफूहरूको पहिलो प्राथमिकता समृद्धी रहेकोले लगानीकर्ता र लगानीको सुरक्षाको ग्यारेन्टीका साथ काम अघि बढाउने उनको भनाइ थियो ।

‘हाम्रो सरकारले लगानीकर्ताको लगानीको मात्रै होइन, भौतिक सुरक्षासहित सबै पक्षीय सुरक्षाको ग्यारेण्टी गर्छ, ढुक्क भएर लगानी गर्नाेस्, तपाईंहरूको लगानी खेर जान्न,’ व्यापारिक अगुवाहरूसँग ओलीको भनाइ थियो । ओलीले विगतको सरकार जसरी अब बन्ने सरकारले कमिसनका लागि व्यापारीलाई दुःख दिने काम नगर्ने पनि प्रष्ट पारे ।

‘कांग्रेसले व्यापारीलाई दुःख मात्रै दियो, कमिसन खाएर हैरान पा¥यो, अब कमिसन होइन, काम हुन्छ,’ ओलीले भने । व्यापारिक घरानासँग निकै खुलेका ओलीले अहिलेसम्म लगानीकर्ता त्रसित हुनुको कारणसमेत खोल्दै केही सुधार आपूmमा गर्न पनि सुझाए । ‘कसैको नाममा कमिसन खानेलाई तपार्इंहरू सहजै विश्वास गर्नुहुन्छ, कमिसन नदिनोस्,’ ओलीले भने, ‘आजकै मितिदेखि मेरो नाममा कोही पैसा माग्न आयो भने नदिनोस्, बुझ्नोस त्यो ठग्न आयो, समातेर पुलिसलाई बुझाइदिनोस्, म तपाईहरूको साथमा हुन्छु ।’

उनले राज्यलाई बुझाउनुपर्ने कर भने इमानदारीका साथ तिर्न सुझाए । ‘कर असुलीमा कुनै छुट हुन्न, कडाइका साथ अघि बढिन्छ, यसमा तपाईंहरूको साथ चाहिन्छ,’ ओलीले भने । उनले सरकारले वातावरण बनाउने र नीजि क्षेत्रले काम गर्ने बेला आएको पनि प्रष्ट पारे । ०४६ सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेकोले मुलुक निकै पछाडि परेको तथ्य पनि ओलीले राखे ।

‘नीजिकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योग कांग्रेसको पालामा बेचिए, जसले गर्दा स्वेदशमा भएको रोजगारीसमेत गुमेर लाखौँ युवा खाडीमा पसिना बगाउन बाध्य भए,’ ओलीले भने । आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्थामा विशेष ध्यान दिने पनि ओलीले प्रष्ट पारे । सम्पत्ति शुद्धीकरणका नाममा व्यवसायीहरूलाई आफ्नो पुँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएको तथ्यप्रति पनि ओलीले सम्बोधन गरे ।

‘आफ्नै खाताबाट १० लाख रुपैयाँभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?,’ ओलीले भने, ‘सरकारको काम लगानी मैत्री वातावरण बनाएर व्यवसायीसँग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैरकानुनी रकम आजर्न गर्ने होइन, अब त्यस्तो गैरकानुनी काम हुन्न,’ ओलीले भने ।

अब निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने योजनासमेत ओलीले सुनाए । ओलीसँग व्यापारिक घरानाका अगुवाहरूले राज्यबाटै आफूहरू त्रसित भएको भन्दै सुरक्षाको ग्यारेन्टी र लगानीमैत्री बातावरण बन्दा नेपालमा जति पनि लगानी हुने प्रष्ट पारेका थिए ।

प्रतिक्रिया