शुक्र र प्रतिमाको अग्रता कायमै


काठमाडौं २७ मंसिर । सिएमएस छैटौँ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले ७ स्ट्रोकको अग्रतासहित उपाधि जित्ने सम्भावना बलियो बनाएका छन् । यू–२१ तर्फ शुक्रले मंगलबार ३ ओभर ७५ अंक जोड्दा समग्रमा ७ ओभर १५१ अंकका साथ शीर्ष स्थानमा रहेका हुन् ।

अन्तिम १८ होलको खेल बाँकी छँदा शुक्रले बिपिन तामाङलाई ७ स्ट्रोकले पछि पारेका छन् ।  शुक्रले पहिलो र दोस्रो होलमा बोगी खेपे । तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा साताँै होलकम ट्रिपल बोगी गरेपछि शुक्रले फ्रन्ट नाइन ३ ओभर ३९ मा सकाए । यसपछि ११औँ र १५औँ होलमा १–१ सट खेर फाले पनि अन्तिम २ होलमा बर्डीको सफलतासँगै ब्याक नाइनमा इभन पार–३६ मा पूरा गरे ।

७ ओभर ७९ अंक जोडी समग्रमा १५८ अंकका साथ बिपिन तामाङ दोस्रो स्थानमा रहेका छन । ९ ओभर ८१ अंक जोडी समग्रमा १६८ अंक बनाएका सुरेश तामाङ तेस्रो स्थानमा रहेका छन् ।  छात्रातर्फ २२ स्ट्रोकको फराकिलो अग्रतासहित प्रतिमा शेर्पा उपाधिको निकै नजिक पुगेकी छन् । उनले १ ओभर ७३ को राम्रो नतिजाका साथ समग्रमा १० ओभर १५४ अंक जोडेकी छन् ।  यो स्कोरमा प्रतिमाले कस्मिरा शाहलाई २२ स्ट्रोकले पछि पार्न सफल भएकी छन् ।

कस्मिराले ८६ अंक जोड्दा समग्रमा १७६ अंकका साथ दोस्रो र जुनी गुरूङ समग्रमा १९३ अंकसहित तेस्रो स्थानमा रहेका छन् । यू–१६ तर्फ सुवास घिसिङ ५ ओभर ७६ अंकसहित समग्रमा १५६ अंकका साथ शीर्ष स्थानमा उक्लेका छन् ।  भारतीय खेलाडी मोनिष शाह १६० अंकका साथ दोस्रो र रितेश तामाङ १६१ अंकसहित तेस्रो स्थानमा छन् ।  ४ छात्रासहित २३ जुनियर खेलाडीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम १८ होलको खेल बुधबार हुनेछ ।

नेपाल गल्फ संघ र गोकर्ण फरेस्ट रिसोर्टद्वारा आयोजित ३ दिने प्रतियोगिताको तीनै विधाको विजेता भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसियाको फाइनलमा छनोट हुनेछन् । साथै यही प्रतियोगिताबाट १० खेलाडी छनोटगरी बन्द प्रशिक्षणमा राखिनेछ । खेलाडीलाई राष्ट्रिय प्रशिक्षक तथा गल्फ संघका सल्लाहकार किम बाल्डविनले प्रशिक्षण दिनेछन् ।

 

प्रतिक्रिया