दोलखामा समानुपातिक पनि एमाले पहिलो

चरिकोट, २६ मंसिर । दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मतगणनासँगै समानुपातिकतर्फ पनि एमाले नै पहिलो भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको भन्दा समानुपातिकतर्फमा एमाले–काँग्रेस मतान्तर आधाभन्दा बढीले घटेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले बताएअनुसार नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३८ हजार ४७ तथा प्रदेशसभातर्फ ३७ हजार ८३० प्राप्त गरेको छ भने नेकाले प्रतिनिधिसभाको समानुपातिकतर्फ २४ हजार ४७ तथा प्रदेशसभातर्फ २३ हजार तीन मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १८ हजार ७०२ तथा प्रदेशसभातर्फ १९ हजार १११ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।

जम्मा प्रतिनिधिसभातर्फ ८० हजार ८९६ र प्रदेशसभातर्फ ७९ हजार ९४७ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

प्रत्यक्षका लागि प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको दोलखामा ८७ हजार ४९८ मत झरेको थियो ।

जसमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत ल्याएका छन् ।

गुरुङ नेपाल अधिराज्यभर सबैभन्दा बढी मतान्तरले विजयी हुने उम्मेदवार भएका छन् ।

३२ उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दोलखा जिल्लाबाट उम्मेदवार बनेका ३२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका दोलखा जिल्लाका ३८ मध्ये ३२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ बमोजिम ३२ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ भन्ने कानून रहेको छ ।

प्रतिक्रिया