उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुआत

काठमाडौं २६ मंसिर । नेपालले एसिसी यू–१६ क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एसियाको पूर्वी क्षेत्रका राष्ट्रहरूको प्रतिस्पर्धामा थाइल्यान्डमा सोमबार भएको खेलमा नेपालले घरेलु टोलीलाई १ सय ३३ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १९ दशमलव ३ ओभरसम्म क्रिजमा टिकेर ४६ रनमात्रै बनाउन सक्यो । नेपालको जितमा नारायण जोशीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि घरेलु पारी झिनो स्कोर समेटियो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव ५ ओभरमा अलआउट हुनुपूर्व १ सय ७९ रन बनाएको थियो । त्रिर्थराज दासले सर्वाधिक ३९ रनको योगदान दिए । थाइल्यान्डविरुद्ध सम्मानजनक स्कोरको लागि नेपालका कुशल मल्लले २४ तथा सुनिल भण्डारीले २३ रन बनाए ।

राजन मगरले १७, कप्तान रित गौतमले १६ रन बनाउँदा प्रतिष जिशीले १२ रन बनाए । थाइल्यान्डका बलिङमा कोकिअट चाटवोङले ३ तथा चिरापोङ र कोङकिडाकोनले समान २–२ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको थाइल्यान्डको ब्याटिङ चल्न नै सकेन ।

नेपालको कसिलो बलिङसामु थाइल्यान्डका ब्याट्सम्यान निरिह देखिए । थाइल्यान्डले ४ ओभरमा ४ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । त्यसपछिका ब्याट्सम्यानले भने केही रन जोडे पनि पारी धेरै माथि उकास्न सकेनन् । थाइल्यान्ड १९ ओभरभन्दा बढी टिक्न सकेन । थाइल्यान्डका कोकिअट चाटवोङले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।  उसका ४ शीर्ष ब्याट्सम्यान खातै नखोली पभेलियन फर्किए ।

जोशीले थाइल्यान्डका माथिल्लो अर्डरका ४ ब्याट्सम्यानलाई आउट गरेका थिए । थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका नारायण जोशी एक्लैले ५ विकेट लिए । सूर्य तामाङले २ तथा निखिल कुमार सिंह र विशाल बिक्रम केसीले समान १–१ विकेट लिए ।  पहिलो दिनको अन्य खेलमा समूह ‘बी’ को चीनले भुटानलाई ६९ रन, सिंगापुरले मलेसियालाई २९ तथा समूह ‘ए’ हङकङले म्यानमारलाई २ सय १२ रनले पराजित ग¥यो ।

समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।  नेपालले समूहको अन्तिम खेलमा बिहीबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा समान १ जितका साथ हङकङ रनरेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ । एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । लिग खेलपछि समूहको शिर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया