झलनाथ खनाल इलाम १ बाट पाँचौं पटक संसदमा

राम योङहाङ

इलाम, २४ मंसिर । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल विजयी भएका छन् । नेकपा माओवादीको समर्थनमा बाम गठबन्धनका साझा उम्मेद्वार खनाल ३६ हजार ८ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९ हजार ६ सय ३७ मत प्राप्त गरे । यो अन्तर १७ हजार १ सय ७० हो ।

खनालको यो इलामबाट पाँचौ पटकको जीत हो । यसअघि खनाल २०४८, ०५१, ०६४ र ०७० मा इलाम १ बाट निर्वाचित भई संसदमा प्रतिनिधित्व गरिसेकेका छन् । ०४८ र ०५१ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तोयानाथ भट्टराई पराजित गरेका थिए । ०५१ मा खनालले भट्टराईलाई २ सय १० को झिनो मतले मात्र पराजित गरेका थिए । ०५६ को संसदीय निर्वाचनमा भने खनाल सोही क्षेत्रबाट नेपाली कांग्रेसका वेनुपराज भट्टराईसँग पराजित भए ।

०६२।६३ को जनआन्दोलनपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भने खनालले कांग्रेसका वेनुपराज प्रसाईलाई अघिल्लो हारको बदला लिदैं विजय हासिल गरे । त्यस्तै ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गर्दै संसदमा चौथो पटकका लागि विजयी बनेका थिए ।

को हुन् झलनाथ खनाल ?

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका सम्हालेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको जन्म इलाम नगरपालिका १ साँखेजुङमा ६ चैत २००६ मा भएको हो । एमालेको पूर्व अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खनाल बाबु पुङ्गनाथ र आमा मधुमाता खनालका १३ सन्तानमध्ये सातौँ सन्तान हुन् ।
खनालको राजनीतिक यात्रा १५ वर्षको कलिलो उमेरमा ०२१ सालदेखि सुरु भएको थियो । मेची विद्यार्थी संगठनको अध्यक्षबाट राजनैतिक यात्रा गरेका खनाल ०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तपछि नेपाली राजनीतिमा झनै सक्रिय भए । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका खनालले राजनीति आन्दोलनकै क्रममा शिक्षण पेशामा संलग्न भएपनि खनालले पटकपटक गरि ७ वर्ष जेल जिवन बिताएका थिए ।
झापा विद्रोहपछि ०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन ‘को ओर्डिनेशन कमिटि’ नेपाल कम्युनिस्ट पार्टी मालेको संस्थापक सदस्य रहेका खनाल पछि सोही पार्टीको महासचिव समेत भएका थिए । तत्कालीन महासचिव सिपी मैनालीलाई महासचिवबाट हटाएर नेकपा मालेका महासचिव बनेका खनालले ८ वर्षसम्म पार्टी नेतृत्व गरेका थिए ।
०३७ सालपछि भुमिगत भएका खनाल ११ वर्षपछि ०४६ सालको जनआन्दोलन सफल भएपछि काठमाडौंको खुलामञ्चबाट सार्वजनिक भएका थिए । प्रजातन्त्र पर्नवहालीपछि बनेको विभिन्न सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण, सुचना तथा संचार मन्त्री बनेका थिए । गणतन्त्रपछि प्रधानमन्त्री समेत बने ।

०६५ मा भएको बुटवलमा भएको आठौ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित खनाल तत्कालिन एकिकृत नेकपा माओवादी केन्द्रको समर्थनमा २३ माघ ०६७ मा देशको ३५ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । ०७१ सालको नवौ महाधिवेशनबाट पार्टीका वरिष्ठ नेता बनेका छन् ।

साहित्यमा समेत कवितामा निक्कै रुची राख्ने खनालले प्रजातान्त्रिक नेपालको रुपरेखा लगायतका १ दर्जन पुस्तकहरु पनि लेखेका छन् ।

प्रतिक्रिया