विजयी अभियानमा खेलाडी र खेलपदाधिकारी

-अनील मल्ल ठकुरी काठमाडौं २४ मंसिर । २ चरणमा भएको प्रतिनिधी र प्रदेशसभामा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा नेपाली खेलकर्मीले पनि विजयी अभियानमा देखिएका छन् । देशमा भएको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा खेलक्षेत्रका हस्ती र राजनीती नियुक्तबाट खेलकुदलाई आधार बनाउँदै राजनीतिस्तर उकासेका खेलकर्मीको उम्मेदवारी बाक्लै नै थियो ।

खेलाडीकै रुपमा देशका लागि योगदान दिएका र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको झन्डा फर्फराएका खेलाडीले प्रतिनिधीसभा र प्रदेशसभामा कम अवसर पाए ।  अवसर पाएका मध्य पनि केही खेलाडीले मात्र जनताको मन दोस्रोपटक फरक क्षेत्रबाट जित्न सफल भए ।

ती मध्ये पूर्वभलिबल खेलाडी एवम् युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी सप्तरी–४बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।   यो समाचार तयार पार्दासम्म उनले वामगठवन्धका मोहम्मद इस्लामलाई करिब २ हजार मतले पछि पारेका छन् ।

ओलम्पियन तथा पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र हमालले बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा ९ हजार २ सय ११ मत ल्याएर विनयी भए । सन् १९८४ मा अमेरिकाको लसएन्जलसमा भएको ओलम्पिकमा सहभागिता जनाएका हमाल आफ्नो समयका प्रभावशाली भारोत्तोलन खेलाडी थिए ।

आफ्नो जीवन खेल क्षेत्रमा लामो समय बिताएका पूर्वखेलाडी भने कम देखिए पनि राजनीति नियुक्ती र खेल पदाधिकारीको रूपमा उम्मेदवार बन्नेको उपस्थिति भने बाक्लै रूपमा छ । त्यसैक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी ‘राजन’ले पनि काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधीसभामा विजयी हासिल गरे ।

मन्त्री केसीले २४ हजार १ सय ९० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी वामगठवन्धन माओेवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याए । अन्तर्राष्ट्रिय मान्यता पाएको र विवादीत नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका एमालेका जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधीसभामा १३ हजार ३ सय ९७ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेस नेता नवीन्द्रराज जोशीसँग १२ हजार ५३ मत ल्याए ।

पूर्वखेल पदाधिकारीका रूपमा वामगठवन्धन(माओवादी)बाट नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष टंक आङबुुहाङले प्रदेशसभामा ताप्लेजुुङ–१ ‘ख’ बाट १२ हजार १ सय ९८ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ सय ८७ मत ल्याए ।

क्यानकै पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला पनि कास्की क्षेत्र नम्बर १ (क) को प्रदेशसभामा १८ हजार ७ सय ८७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसका जीवन परियारले १५ हजार ८१ मत ल्याएका थिए ।

कांग्रेसबाट उम्मेदवार नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह प्रतिनिधिसभाका लागि जाजरकोट क्षेत्र नम्बर १ बाट वाम गठबन्धन माओवादी केन्द्रका शक्ति बस्नेत पराजित भए । बस्नेतले ३२ हजार २ सय ८१ ल्याउँदा शाहले २३ हजार २ सय ८९ मत प्राप्त गरे ।

कांग्रेसबाट करातेका पूर्वखेलाडी मीनकृष्ण महर्जन (ललितपुुर क्षेत्र नम्बर–१ (क) मा प्रदेशसभा) र तेक्वान्दोका सहायक प्रशिक्षक इन्द्रमान तुलाधार (काठमाडौं क्षेत्र नम्बर ९ (क) को प्रदेशसभामा) का लागि उम्मेदवार छन् । यद्यपि, मत परिणाम सार्वजनिक भएको छैन् ।

एमालेबाट राष्ट्रिय खेलकुुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव केशव स्थापित (काठमाडौं क्षेत्र नम्बर–६ प्रदेशसभा–क) पनि उम्मेदवार छन् ।  राखेपकै पूर्वसदस्यसचिव सकुन्तला नगरकोटी (समानुपातिक), नेपाल ओलम्पिक कमिटीका सदस्य समिममियाँ अन्सारी (समानुपातिक) पनि चुनावी मैदानमा छन् ।

करातेका पूर्वखेलाडी एवम् नेपाल कबड्डी संघका अध्यक्ष अध्यक्ष लालकुमार लामा पनि राष्ट्रिय प्रजातान्त्रिक पार्टी(प्रजातान्त्रिक)बाट समानुपातिक सुचीमा छन् । अखिल नेपाल फुुटबल संघकी पूर्वअध्यक्ष गीता राणा पनि कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेकी छन् ।

प्रतिक्रिया