गोरखा १ मा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धन अगाडि

गोरखा, २२ मंसिर । गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् ।

बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिलेसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ ।

यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापाले ३,८२९ मत ल्याए भने काँग्रेसका नेता धीरन थापा २,५०७ मत ल्याएका छन् । अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ ।

प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा एमालेका नेता रामशरण बस्नेत ३७९२ मतका साथ अघि छन् भने काँग्रेस नेता राजेन्द्र बजगाइँ २४२६ मत ल्याए । अहिलेसम्म ६५५० मत गणना भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई ७५२० मतका साथ अघि छन् भने उनलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ ६३०४ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १४ हजार ७७१ मत गणना गरिएको छ ।

गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४३७५ मत ल्याइन् भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४७४० मत ल्याएर अघि छन् । अहिलेसम्म ९ हजार ६७१ मतगणना भएको छ ।

यस्तै गोरखा २ ख प्रदेशसभामा काँग्रेसका प्रकाशचन्द्र दवाडी ४,२७६ मत ल्याए भने माओवादीका अमर तमु ३,४३३ मत ल्याएका छन् । यहाँ ८,२४७ मत गणना भएको छ । मतगणना कार्य सुस्तगतिमा अघि बढेको छ । मतगणना गरिएको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया