ठूला नेता, जसले गरेनन् मतदान

टंक खनाल काठमाडौं २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा बिहीबार सम्पन्न भएको छ । अधिकांश स्थानमा मतगणना पनि सुरु भएको छ । पहिलो चरण १० मंसिरमा ३२ जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणअन्तर्गत २१ मंसिरमा सम्पन्न निर्वाचनमा ६७ प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचनको तुलनामा कम मत खसेपछि निर्वाचनमा मतदाताको उल्लासमय सहभागिता रह्यो ।

मतदातालाई मतदानमा सहभागी गराउन राजनीतिक दलका नेताहरूले मतदाता शिक्षा तथा प्रचारका कार्यक्रम सञ्चालन गरे ।  मत हाल्नु प्रत्येक नागरिकको अधिकार हो भनेर वकालत गर्ने केही नेताहरूले भने यसपालिको निर्वाचनमा आफूले मतदान गरेनन् । आफैँ मताधिकारको प्रयोग नगर्ने नेताले जनताको मताधिकारको रक्षा कसरी गर्लान् ? पूर्वप्रधानमन्त्री, नेकपा एमालेका वरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नम्बर–२ का वाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाल मतदानमा सहभागी भएनन् ।

नेपाल बिहान ७ बजेदेखि नै मतदान केन्द्रको भ्रमणमा निस्किए पनि उनले मतदान गरेको विषयमा कुनै जानकारी नआएको नेपालका सहयोगीहरूले बताएका छन् । नेपालको मतदाता नामावली रौतहटमा छ । पूर्वसञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले पनि यसपालिको निर्वाचनमा मतदान गरेनन् । कार्की झापा क्षेत्र नम्बर–१ बाट वाम गठबन्धको उम्मेदवार हुन् । उनी काठमाडौंका मतदाता भए पनि निर्वाचनको क्रममा झापामै रहेकाले मतदानबाट छुटेका छन् ।

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर–१ का वाम गठबन्धनका उम्मेदवार अनीलकुमार शर्माले पनि यसपालिको निर्वाचनमा मतदान गर्न पाएनन् ।  उनी पश्चिम रुकुमका मतदाता हुन् ।  रोल्पाको मतदाता रहेका काठमाडौं–६ का उम्मेदवार झक्कुप्रसाद सुवेदीले पनि यसपालिको निर्वाचनमा मतदान गर्न पाएका छैनन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पनि यसपालिको निर्वाचनमा मत हालेनन् । थापाले भने, ‘यसपालिको निर्वाचनमा म प्युठान गइन । महासचिवको निर्वाचन क्षेत्रको संयोजक भएकाले छोडेर जान मिलेन ।’

थापा निर्वाचनमा उम्मेदवार नभए पनि उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवारको आकांक्षी थिए ।  नेपाली कांग्रेसकी नेत्री तथा कैलाली क्षेत्र नम्बर–५ की प्रतिनिधिसभा उम्मेदवार आरजु देउवाले पनि मताधिकारको प्रयोग गरिनन् । निर्वाचनको प्रचारका क्रममा कैलाली रहेकी आरजुको मतदाता नामावली भने डडेल्धुरामा छ । राजपाका अध्यक्ष मण्डलका नेता तथा महोत्तरी क्षेत्र नम्बर–३ का उम्मेदवार महन्थ ठाकुरले पनि यसपालिको निर्वाचनमा मतदान गर्न पाएनन् ।

उनका सहयोगी ब्रिखेसचन्द्र लालका अनुसार मतदान गर्ने तीव्र इच्छा भए पनि आफ्नो निर्वाचन क्षेत्र र मतदानस्थल फरक रहेका कारण ठाकुरले मतदान गर्न नपाएका हुन् । अर्का अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले पनि भोट हालेनन् । सर्लाहीका महतो कांग्रेस नेता विमलेन्द्र निधिको प्रतिस्पर्धीका रुपमा धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

तर, दुवै नेता दिनभर निर्वाचनको निरीक्षणका लागि विभिन्न मतदान केन्द्र पुगेको लालले बताए । प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा उल्लेख भएअनुसार ‘कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ ।’

 

प्रतिक्रिया