ताकम माविको कक्षा भवन निर्माण

म्याग्दी, १५ मंसिर । एक करोड रुपैयाँभन्दा बढीको लागतमा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविको भवन निर्माण भएको छ ।

एक विदेशी संस्था र स्थानीयवासीको एक करोड १६ लाख तीन हजार ८१७ लागतमा दश कोठे भवन निर्माण भएको हो ।

भूकम्प प्रतिरोधात्मक क्षमताको दुईतले सो भवन बिहीबार सहयोगी संस्था विकास एशोसिएशन बेल्जियमका अध्यक्ष बेट्टी मौरिक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले उद्घाटन गरे ।

भवन निर्माणका लागि विकास एशोसिएशनले रु ७२ लाख ६६ हजार ७३ आर्थिक सहयोग गरेकामा स्थानीय बासिन्दाले रु ४३ लाख ३७ हजार ७४४ बराबरको योगदान गरेका विद्यालयका प्रअ कपिल सुवेदीले जानकारी दिए ।

हाल बेल्जियममा रहेका ताकमका ज्ञानबहादुर विश्वकर्मा र यामबहादुर विश्वकर्माले आर्थिक सहयोग जुटाउन पहल गरेका थिए । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पक्की सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएपछि पठनपाठनमा समेत सहज भएको छ । सोसँगै जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुईकोठे अर्को भवन र छात्रामैत्री शौचालयसमेत निर्माण भएको छ ।

कार्यक्रममा सहयोगदाता संस्थाका अध्यक्ष मौरिक्सलाई ताकमवासीले सम्मान गरेका थिए ।

प्रतिक्रिया