शरदकालीन सुन्दर प्राकृतिक छटासँगै नेपालीका घरआँगनमा भित्रिने वडादसैँको आफ्नै महिमा रहिआएको छ । विशेषतः आसुरीशक्तिको पराजय र सत्यको विजय भएको पर्वका रूपमा विजयादशमीलाई हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । शारदीय सौम्य परिवेशसँगै प्रकृतिले पनि एउटा नवीन उत्साह थपिरहेको पाइन्छ । मालश्री धुन दसैँलाई द्योतन गर्ने सांगीतिक पक्ष हो । शरदकालीन मौसममा खुसी साटासाट गर्ने पर्वका रूपमा पनि दसैँले विशेष महिमा राखेको छ । यसैगरी भगवती दुर्गादेवीको उपासना गर्दै समस्त मनोकामना पूर्ण हुने आस्था र विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । दसैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । जसलाई दुर्गा पक्ष पनि भनिन्छ । विशेष गरी घटस्थापनादेखि विजयादशमीसम्म १० दिन मनाइने भएकाले पनि यो पर्वलाई दसैँ भनिएको हो । दसैँ चान्द्रमासका आधारमा मनाइने विशेष पर्व हो ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दसैँको विधिवत आरम्भ हुन्छ । घटस्थापनाका दिन विधिवत् कलश स्थापना गरी जौका जमरा राख्ने गरिन्छ । यसै दिनबाट दुर्गा भगवतीको उपासना पनि आरम्भ हुन्छ ।दसैँमा विशेष गरी दुर्गादेवीको पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका नवरात्रको महिमा विशेष छ । आश्विन महिनामा देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले उक्त समयको नवरात्रलाई बोधन नवरात्र भनिन्छ । हरेक दिन भगवती दुर्गादेवीका विभिन्न स्वरूपको आराधना गरी यो पर्व मनाउने धार्मिक विधान रहिआएको छ । दसैँमा विशेषतः भगवती दुर्गादेवीको आराधना हुने गर्दछ । भगवती आद्य मातृशक्ति हुन् । मार्कण्डेय पुराणमा भगवतीको स्तुति यसरी गाइएको पाइन्छ :
सर्वमंगलमाग्यल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तु ते ।।
अर्थात् अमंगललाई पनि मंगल गर्ने कल्यणदायिनी हे शिवे ! तिमीलाई नमस्कार छ । सम्पूर्ण पुरुषार्थ सिद्धि गर्नेवाली नारायणी शरणगतवत्सला हुनुहुन्छ । यस्ती कल्यणदायिनी भगवतीलाई नमस्कार छ भनी पुराणले विशेष महिमा गान गरेको पाइन्छ । दसैँका नवरात्रमा यिनै भगवतीको उपासना गरी दशमीका दिन टीका प्रसाद जमरा लगाउँदै आपसमा खुसी साटासाट गर्ने हाम्रो परम्परा रहेको छ । आद्य शक्ति दुर्गादेवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी ३ रूप छन् ।तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् ।
मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीले जसको स्तुति गरेका थिए तिनै देवीको नाम महाकाली हो । उनका १० मुख, १० हात र १० पाउ रहेका छन् । जो श्याम वर्णकी छन् । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, वाण, गदा, शूल, चक्र, शंख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गरेकी छन् । सम्पूर्ण देवताको अंगबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई १८ वटा हात भएकी देवीका रूपमा पूजा गर्ने चलन छ । उनका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु(वञ्चरो), त्रिशूल, शंख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् ।
सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् । त्यस्ती देवीका आठ भुजा(हात) छन् । ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान रहेका छन् । नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अंगभूत ६ देवी छन् : नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी ९ शक्ति हुन् । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यसदिन विधिपूर्वक कलश स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनासँगै भगवती देवीको पूजा आराधनाको पनि आरम्भ हुन्छ । दसैँको सुरुआतसँगै घरहरू रङरोगन गरी सफा र सुन्दर बनाइन्छ ।
आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि भगवतीको विशेष पूजा आराधना हुने गर्दछ ।सप्तमी अर्थात् फूलपातीका दिन विभिन्न प्रकारका पत्र पुष्पादि घरघरमा भित्र्यारइन्छ । यस दिन ८ वर्षीया कन्यालाई शाम्भवी नम सम्बोधन गरी विशेष पूजा पनि गरिन्छ । साथै यस दिन सरस्वतीको पनि विशेष पूजा हुने गर्दछ । नवपत्रिका अर्थात् ९ थरीका पत्र पुष्पादि(फूलपाती) घरका पूजा स्थापनामा भित्र्यारइन्छ । नवपत्रिकामा केरा, दारिम, धान, बेसार, मानक, कचु, वेल, अशोक र जमरा पर्दछन् । महाअष्टमीका दिन भद्रकालीदेवीको विशेष पूजा अर्चना गरिन्छ । यसदिन सिंहपूजा, भगवती देवीको षडंगपूजा, शस्त्रपूजासहित नवदुर्गाको पूजा आराधना हुने गर्दछ । विशेष बलि प्रदान पश्चात महाअष्टमीको पूजा आराधना समापन हुन्छ । महानवमीमा भगवती दुर्गादेवीको नवौँ दिनको विशेष पूजा आराधना हुने गर्दछ ।
यसदिन नवकन्या कुमारीको पूजापश्चात भोजन गराउने चलन पनि रहेको छ ।नवमीमा सिद्धिदात्री भगवतीको विशेष आराधना हुने गर्दछ । त्रेता युगमा राजा श्रीरामले रावणलाई विजय गरी सत्यको जित भएको आश्विन शुक्ल दशमी भएकाले पनि विजयको पर्वका रूपमा यो चाड मनाउने गरिन्छ । देवी माहात्म्य अनुसार असुरमाथि भगवती दुर्गादेवीले विजय गरेको दिन पनि यही दशमी भएकाले भगवतीका चरित्रलीला श्रवण गर्दै यो पर्व मनाउने धार्मिक विधि विधान रहेको छ । दसैँको विजयादशमी सबैभन्दा उत्कृष्ट दिन हो । यसदिन अपराजित जयाविजयाको विशेष पूजा गरिन्छ । भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको धार्मिक ऐतिहासिक प्रसंग पाइन्छ । यसदिन हर्षोल्लासपूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका प्रसाद जमरा ग्रहण गर्ने चलन रहिआएको छ ।
यसैगरी ज्योतिषीय दृष्टिले पनि विजयादशमीको विशेष महत्व रहेको छ । विजयादशमीको दिनभरी नै शुभ साइत हुन्छ । कुनै विशेष समय जुराउनु पर्दैन । शुभ कार्यको आरम्भ गर्न पनि यो दिन उत्तम रहेको कुरा मुहूत्र्त चिन्तामणिमा उल्लेख छ । नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ । भक्तिभावपूर्वक भगवती दुर्गादेवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय विधान छ । यसैगरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित, सम्पुटित, पाठ, शतरुद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख पाइन्छ । आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने क्रममा विशेष आशीर्वचन दिने पनि चलन रहिआएको छ ।
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयोराघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञाने विदुरे भवति भवतां कीर्तिश्च नारायणे ।।
अर्थात् अश्वत्थामाको जस्तै लामो आयु होस्, राजा दशरथको जस्तै श्रेय रहोस्, भगवान् रामका जस्तै शत्रु नाश हुन्, नहुष राजाको जस्तै ऐश्वर्य होस्, वायुको जस्तै गति होस्, दुर्योधनको जस्तो मान होस्, सन्तनुको जस्तो शौर्य होस्, सबैले गुन्ने मान्ने हुनू, कुन्तीपुत्र युधिष्ठिरजस्तै सत्यवादी हुनू, ज्ञान विज्ञानमा विदुर जस्तै नीतिवान र ज्ञानवान हुनू, भगवान नारायणको जस्तै यस कीर्ति सर्वत्र फैलियोस् भन्ने भावना समेटिएको उक्त आशीर्वचनले धार्मिक एवं सांस्कृतिक दुवै पक्षलाई अबलम्बन गरेको छ । आयु, आरोग्य, ऐश्वर्यको शुभकामना आदानप्रदान गर्ने कार्य कोजाग्रत पूर्णिमाका दिनसम्म चलिरहन्छ ।
यो हर्षोल्लास र उत्सवको पर्व हो । एक आपसमा खुसियाली साटासाट गर्दै मनाउने यसपर्वका अवसरमा लिंगेपिङ, रोटेपिङ आदि मनोरञ्जनका विषयवस्तुले पनि स्थान पाउछन् । विशेष गरी विजयादशमीका दिन धर्ती छोड्नुपर्छ भन्ने मान्यताले पनि पिङ खेल्ने गरिन्छ । एकआपसमा नाचगान गर्दै रमाइलो मान्ने चलन पनि वर्तमान समयमा चल्ने गरेको पाइन्छ । मालश्री दसैँको अर्को महत्त्वपूर्ण पक्ष हो । दसैँमा मालश्री गान तथा नाच हुने गर्दछ । जसले पनि दसैँलाई सांगीतिक मनेरञ्जन प्रदान गरेको हुन्छ । भगवती दुर्गामाताको अनुकम्पाले हामी सबैमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस्। सबैका मनोकामना पूर्ण हुन् भन्दै समस्त नेपालीमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
उपप्रा. नारायणप्रसाद निरौला -ज्योतिषाचार्य, वास्तुविद्
प्रतिक्रिया