क्रोध मूर्तिका ओस्ताज कुमाले

kalu kumale2कालु कुमाले नेपाली परम्परागत मूर्तिकलाका क्षेत्रमा परिचित अनुहार हो । कला साधनाको दृष्टिले नेपाली कला आकाशमा अद्वितीय व्यक्तित्वका रूपमा उनलाई चिनिन्छ । सामान्य पारिवारिक पृष्ठभूमिमा जन्मिएर कलाको सगरमाथा चुमेका कुमालेको कला यात्रा भने निकै कठिन दिनबाट सुरु भएको थियो । उनको जीवनको उकालीओराली निकै कष्टकर र कठिन मोडबाट गुज्रिएर सफलताको शिखरमा पुगेको हो । जीवनका अनेकन नागवेली घुम्तीको चक्करबाट आफूलाई अझै प्रभावशाली रूपमा विश्वकलामा परिचित गराउने नेपाली कला क्षेत्रका अद्वितीय कला साधक कुमालेको प्रतिभाको नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा चर्चा भएको पाइन्छ ।

नेपाली परम्परागत मूर्तिकला क्षेत्रमा कुमालेको नाम नयाँ होइन, एक सम्मानित नाम हो । परम्परागत मूर्तिकलामा पनि क्रोध मूर्ति बनाउने अग्रणी व्यक्तित्वका रूपमा नेपाली कला आकाशमा कुमाले सुपरिचित छन् । क्रोध मुद्राका मूर्ति बनाएर आफूलाई त्यसको विज्ञका रूपमा स्थापित गर्ने कुमालेले साढे ६ दशक लामो जीवनमा निरन्तर मूर्ति बनाएरै बिताए । क्रोध भनेको रिस, आवेग र रौद्र रूप हो । प्रायः संसारका सबै मानिसमा रिस र आवेगको हुन्छ । विद्वानहरूको मतलाई आधार मान्ने हो भने मानिसमा शान्त रूपभन्दा बढी क्रोध भाव हुन्छ । हुनत क्रोधले मानिसको शरीरमा ऊर्जा पैदा गर्न महत्वपूर्ण भूमिका खेल्छ । क्रोध र शान्त भावबीचको द्वन्द्वबाट मानिसमा नयाँ ऊर्जा पैदा हुन्छ ।

यसलाई मानिसले सकारात्मक रूपमा अगाडि बढाउन सकेमा त्यसले मानिस र समाजको हित गर्छ भने नकारात्मक रूपमा लिए त्यसले मानव जाति र समाजकै अहित गर्छ । विश्वमा प्रचलित विभिन्न धर्ममा पनि क्रोध र शान्त भावको समिश्रण परापूर्वकालदेखि चलिआएको पाइन्छ । धर्ममा कतिपय देवतालाई क्रोध रूपमा देखाइन्छ । संसारमा जब जब अधर्म बढ्न थाल्छ त्यत्तिबेला देवताले आफ्नो क्रोध रूपमा अधर्मलाई पराजित गर्न प्रकट हुन्छन् भन्ने मान्यता रहेको छ । कुमालेले पनि हिन्दू र बौद्ध धर्मका विविध क्रोधमय देवदेवीका मूर्ति बनाई त्यसमा उच्च सीप र कालीगढी क्षमताको प्रदर्शन गरेका छन् । उनले परम्परागत कलाका आधारभूत सिद्धान्तलाई कलात्मक रूपमा मिलाएर मूर्तन गरेको पाइन्छ । यसरी नेपाली मूर्तिकलामा कालु कुमालेले क्रोध मूर्ति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै लामो ऐतिहासिक परम्परालाई धानेका छन् ।

kalu kumalee1

क्रोध मूर्ति विभिन्न भावभंगीमा आकृतिको मूर्तन गरी बनाउन निकै कठिन कार्य हो । तर, कुमालेले त्यसमा निपूर्ण छन् । बनाउन जटिल भए पनि उनले त्यसलाई सहजै मूर्तन गर्दै आफ्नो कालीगढी क्षमता देखाएका छन् । पाटनको महाबुद्ध ओकुबहाल धातु मूर्तिकलाका निम्ति नेपालमा मात्रै नभएर विश्वमै प्रसिद्ध रहेको छ । यस क्षेत्रमा परम्परागत मूर्ति बनाउने दर्जनाैंँ प्रसिद्ध कलाकारको जन्म भएको छ । तीमध्येका क्रोध मूर्तिका पर्यायका रूपमा प्रसिद्ध कलाकार कालु कुमालेको कर्मथलोको रूपमा ओकुबहाल रहेको छ । नेपाली कला क्षेत्रमा शालिन व्यक्तित्वको छवि बनाएका कुमालेले बनाउने क्रोध मूर्तिसँगको भावमा उनको कुनै मनोवैज्ञानिक तालमेल पटक्कै मिल्दैन तर उनले निरन्तर रूपमा क्रोधमय मूर्ति बनाएरै जीवनको लामो कालखण्ड पार गरेका छन् ।

अग्रज मूर्तिकार कालु कुमालेको जन्म ललितपुरको ओकुबहाल थपाटटोलमा १९९० सालमा भएको हो । उनको वास्तविक नाम भने दक्ष प्रजापति थंकू हो । कलाको सुन्दर नगरका रूपमा प्रसिद्ध पाटनले नेपाली कलाको लामो परम्परालाई जीवित रूपमा राख्न सफल रहिरहेको छ । ललितपुरको पाटनमा विभिन्न माध्यममा मूर्तिकला निर्माण गर्ने परम्परा प्राचीनकालदेखि रहिआएको हो । माटो, काठ, ढुंगा, धातु, मैन तथा अन्य विविध माध्यममा अनेक कलाकृति निर्माण गरिँदै आएको छ । पाटनको महाबुद्ध ओकुबहाल धातु मूर्तिकलाका निम्ति नेपालमा मात्रै नभएर विश्वमै प्रसिद्ध रहेको छ । यस क्षेत्रमा परम्परागत मूर्ति बनाउने दर्जनौँ प्रसिद्ध कलाकारको जन्म भएको छ । तीमध्येका क्रोध मूर्तिका पर्यायका रूपमा प्रसिद्ध कलाकार कालु कुमालेको कर्मथलोको रूपमा ओकुबहाल रहेको छ ।

उनले सानै उमेरदेखि माटोसँग खेल्दै विभिन्न आकारका कलाकृति बनाउँदा बनाउँदै मूर्तिकलामा लागेका हुन् । उनी २१ वर्षको उमेरदेखि नै मूर्तिकर्ममा लागेका हुन् । प्रारम्भिक कालमा उनले माटाका मूर्ति बनाउँथे । उनको मूर्तिकलाको यात्रामा भने मानज्योति शाक्यले महत्वपूर्ण योगदान दिएका छन् । शाक्यले कुमाले बनाएका माटाका चराचुरुंगीका मूर्तिलाई मिलाइदिनुका साथै प्रोत्साहन दिन्थे । कुमाले माटोका मूर्ति बनाउनमा मात्रै सीमित नरही मैनमा समेत मूर्ति निर्माण गर्दै अगाडि बढे । समयक्रमसँगै उनले क्रोध भावका मूर्ति बनाउन थाले । विभिन्न देवदेवीका क्रोध भावायुक्त मूर्ति बनाउँदाबनाउँदै उनी त्यसमा पारंगत हुँदै गए । मूर्तिकलामा राम्रो हात बस्दै गएपछि पाटनका अन्य सिद्धहस्त कलाकारले उनलाई प्रोत्साहित गर्दै गए । समयक्रमसँगै कालु कुमालेले बनाएको मूर्तिको चर्चा पाटनमा मात्रै सीमित रहेन ।

बिस्तारै बिस्तारै उनका मूर्तिमा विदेशीहरूको आँखा प¥यो । फलस्वरूप उनले तिब्बती धर्मगुरु दलाई लामाका लागि मूर्ति बनाउने काम गर्न थाले । उनले सुरुमा तिब्बती धर्मगुरु दलाई लामाका लागि छस्कामनी (पल्देन ल्हामु) को मूर्ति बनाउने काम पाए । सो मूर्तिको शिल्पगत सुन्दरता र आकर्षणले दलाई लामा प्रभावित भए । लामाले सो मूर्तिलाई आफ्नो पूजाकोठामा ३ महिनासम्म राखेर गार्देन जाङ्गत्से गुम्बालाई प्रदान गरे । मूर्तिको शिल्पगत क्षमताबाट प्रभावित भएका लामाले मूर्तिकला हस्तान्तरण कार्यक्रममा कुमालेलाई घो सोवा को उपनाम दिए । यसको अर्थ ‘राम्रो क्रोध मूर्ति निर्माण गर्ने’ हो । यस कार्यबाट कुमालेको प्रसिद्धि बढ्दै गयो ।

बौद्धधर्मालम्वीले क्रोध मूर्ति निर्माणका लागि कालु कुमालेलाई सम्झन थाले फलतः उनी क्रोध मूर्ति विशेषज्ञका रूपमा देश विदेशमा परिचित हुँदै गए ।  मूर्ति निर्माण प्रक्रियामा कुमालेको यात्रा रोचक रूपमा अगाडि बढेको छ । उनको पारिवारिक पेसा पनि माटाका भाँडा बनाउने हो । पिता सानु कुमालेले किसानी कामका साथै मत्स्येन्द्रनाथ, भीमनाथ, आदिनाथ र वसुन्धरादेवीलाई चढाउन चाहिने माटाका भाँडा बनाउने गर्थे । हरेक वर्ष एकपटक माटाका भाँडा चढाउनुपथ्र्यो । यस कामका लागि उनीहरूको एउटा गुठी नै थियो र गुठियारहरूले आलोपालो गरी भा“डा बनाउने चढाउने परम्परा आज अद्यापि पनि चलिआएको छ । यो कार्यमा उनी ०५४ सालसम्म संलग्न हुँदै आए ।उनको व्यावसायिक मूर्तिकलाको यात्रा माटाका अष्टमातृका, भैरव, गणेश, करूणामय आदि मूर्ति बनाएर सुरु भएको हो ।

महाबौद्धका एक जना व्यापारी पञ्चराज शाक्य (चाकू) ले कुमालेलाई मैनमा मूर्ति बनाउनका लागि प्रेरित गरे । यस कार्यबाट उनको जीवनयापन सहज हुँदै गयो । यो कार्यलाई उनले लामो समयसम्म कायम राखे । यसक्रममा उनका छोराहरूले मूर्ति बनाउँदै अगाडि बढ्न थालिसकेका थिए । उनलाई छोराहरूको साथले यो पेसा अगाडि बढाउन महत्वपूर्ण सघाउँ पुग्यो । छोराको सहयोगमा उनले आफैँले मूर्ति ढलाई गर्ने काम अगाडि बढाए । कालु कुमालेको जीवनमा तिब्बतमा चलेको विद्रोहले निकै ठूलो परिवर्तन ल्यायो । तिब्बतमा चलेको सांस्कृतिक क्रान्तिबाट दलाई लामा र उनका चेलाहरू भागेर नेपाल हुँदै भारततिर शरणार्थीका रूपमा आउन थाले ।

उनीहरू नेपाल हुँदै भारततिर जान थाले । यहीक्रममा उनीहरूले तिब्बतबाट ल्याएका टुटेफुटेका मूर्तिलाई नेपालमा पूर्ण रूपमा बनाउन थाले । यसका लागि पाटनको ओकुबहालमा ल्याए । त्योबेला नेपालमा टुटुफुटेका सयौँ मूर्तिको मर्मत गरियो । यिनै मूर्ति बनाउने काम पाएपछि कालु कुमालेको जीवनमा नयाँ मोडको सुरुआत भयो ।  त्यसबेला कालु कुमालले यमन्तक, शक्ति, बज्रपाणीका साथै थुप्रै क्रोध मूर्ति बनाउने र मर्मत गर्ने काम पाए । यी मूर्ति बनाउँदा बनाउँदै उनको कार्यदक्षता खारिँदै गयो । कामका साथै उनले बनाएका मूर्तिको चर्चा देशविदेशसम्म फैलिँदै गयो । मूर्तिको अर्डर पनि बढ्दै गयो । विभिन्न गुम्बा तथा बिहारका लागि उनले मूर्ति बनाउने काममा व्यस्त हुन थाले ।

कुमालेले बनाएका मूर्ति नेपालमा मात्र नभएर बेलायत, अमेरिका, जापान, भुटान, कोरिया, इटली, मंगोलिया, भारत, रुस, युरोपलगायतका देशमा पुगिसकेका छन् । त्यत्ति मात्रै होइन बेलायतको प्रसिद्ध संग्रहालय भिक्टोरिया एन्ड अल्वर्ट म्युजियममा समेत उनले बनाएका क्रोध मूर्ति संग्रहित छन् । कुशल कालिगढी क्षमता भएका कुमालेको मूर्तिकारिता नेपालकै लागि गौरव गर्ने विषय बनेको छ । कुमालेको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाले उनलाई सम्मानसमेत गरेका छन् । उनको कलाकारिताको सम्मान गर्दै क्रोध शिरोमणिबाट उनलाई सम्मानित गरिएको छ । नेपाली परम्परागत कलामा क्रोध मूर्तिकलाका मूधन्र्य व्यक्तित्व कुमालले अहिले पनि सक्रियताका साथ मूर्ति बनाउँदै आफ्नो सीप र क्षमता अरूलाई बाँडिरहेका छन् ।

प्रतिक्रिया