इँटा उद्योगमा बालसिकाई केन्द्र :मजदुरका बालबालिका सिक्दैछन् कखरा

balbikas butwalबुटवल २ असोज । क कछुवा, ख खरायो, ग गमला… भन्दै हातमा सानो लठ्ठी लिएर ५ वर्षिया चुलबुली चौहान कक्षा कोठामा ठूलो स्वरले पढाउँदैछन् । उनकै आवाजलाई पछ्याउँदै अन्य २८ जना बालबालिकाका क कछुवादेखि ए एप्पलसम्मको पाठ गरिरहन्छन् । भित्तामा टासिएका ठूलो वोर्डमा अक्षरसँगै वस्तुहरूको तस्बिरसमेत राखिएको छ । छेउमै रहेको चिम्नीबाट ठूलै मुस्लो धुवाँ निस्किरहेको छ । बालबालिकाका अभिभावकहरू चिम्नी मुनिको भट्टामा काँचो इँटा चाङ लगाउँदैछन् । कोही गाडीमा लोड गर्दैछन् । कोही इँटा बनाउनमा व्यस्त छन् । यो दृश्य रूपन्देहीको हाटिवनगाई स्थित पिएनपी इँट्टा उद्योगको हो । इँट्टा उद्योगमा करिब ६ सय मजदुरहरू काम गर्छन् । मजदुरमध्ये ८० प्रतिशत भारतीय हुन् ।

भारतको झारखण्डको राँची र उत्तरप्रदेशको देवरियाबाट परिवारै बोकेर मजदुरहरू उद्योगमा काम गर्न आउँछन् । अभिभावकसँग आएका बालबालिकालाई शिक्षाबाट वञ्चित नगर्नका लागि उद्योगले ३ वर्षदेखि बालविकास तथा शिक्षा केन्द्र स्थापना गरेको छ । त्यही केन्द्रमा ३५ जना बालबालिका कखरा सिक्दैछन् । ५ वर्षमाथिका २७ जना बालबालिका भने हाटिवनगाइमै रहेको जनचेतना आधारभूत विद्यालयमा पढ्छन् । बालश्रम हटाउँदै बालबालिकालाई शिक्षाबाट वञ्चित नगर्न बालसिकाई केन्द्र स्थापना गरेको हौँ, उद्योगका सञ्चालक डोलराज पाण्डेले भने । विद्यालयमा पढाउने खर्चसमेत उद्योगले नै बेहोर्दै आएको छ । भारतबाट आउने मजदुरहरू त्यतिधेरै शिक्षित छैनन् । उनीहरूले छोरा–छोरीलाई पनि इँटा बोक्ने काममै लगाउन खोज्छन् ।

तर, उद्योगले मुख्य नाइकेमार्फत नियम नै बनाएर बालविकास केन्द्रमा भर्ना गर्न बाध्य बनाएको छ । बालविकास केन्द्रमा २ जना शिक्षक भर्ना गरिएको छ । मासिक ८÷८ हजार तलब दिने, बालबालिकालाई खाजा खुवाउने, कापी–किताब, पोसाक दिने कामसमेत उद्योगले गर्दै आएको छ । त्यसका लागि वार्षिक ३ लाख खर्च छुट्याइएको सञ्चालक पाण्डेले बताए । बालविकास केन्द्रकी शिक्षक मालती चौधरीले बालबालिकाहरूलाई नेपाली र अंग्रेजी अक्षर र अंक सिकाउने गरिएको बताइन् । बिहान साढे ९ बजेदेखि साँझ साढे ३ बजेसम्म बालबालिकाहरू कक्षाकोठामै पढाइमा व्यस्त हुन्छन् । भारतीय मजदुरहरू कात्तिक महिनामा नेपाल आउँछन र जेठ असारमा फिर्ता हुन्छन् । विद्यालयमा पढ्ने विद्यार्थीहरू कार्तिकमा आएपछि अन्तिम परीक्षा दिन्छन् ।

बालविकास केन्द्रमा भने ३÷३ महिनामा परीक्षा हुने गरेको छ । पिएनपी बाहेक रूपन्देहीका अन्य २ वटा उद्योगमा पनि बालसिकाई केन्द्र स्थापना गरिएको छ । सिद्धार्थ इँटा उद्योगमा २८ जना विद्यालय जाने विद्यार्थी छन् । भने १९ जना उद्योग परिसरमै स्थापना भएको सिकाई केन्द्रमा अक्षर सिक्दैछन् । अभिभावकहरूले पढाउन नमाने पनि उद्योगले जर्बजस्ती पढाउने गरेका छन् । जिल्लाकै सोना इँटा उद्योगमा पनि बालसिकाई केन्द्र खोलिएको छ । जिल्लामा ५८ वटा इँटा उद्योग रहेका छन् । एउटा उद्योगमा कम्तिमा ४० जना बालबालिका हुने गरेको तथ्यांक छ ।

विद्यालय नजाने र सिकाई केन्द्र नभएका उद्योगका बालबालिका भने बालश्रम गरिरहेका छन् । बालसिकाई केन्द्र चलाएको पिएनपी इँटा उद्योगले शिक्षा कार्यालयसँग आधारभूत विद्यालयको स्वीकृतसमेत माग गरेको छ । उद्योगमा सधै बालबालिका हुन्छन्, विद्यालय नै भए पढाउन सजिलो हुन्थ्यो भन्ने हो, सञ्चालक पाण्डेले भने । बालविकास केन्द्र सञ्चालनमा अहिले गैरसरकारी संस्था जिएफआई, वेस्ट ब्रिक नेपाल र सिद्धार्थ सामुदायिक समाजले सहयोग गरिरहेका छन् । इँटा उद्योगमा आएका कतिपय मजदुर घर फिर्ता भइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । मजदुरसँगै बालबालिका पनि घर फिर्ता हुने भएकाले पठनपाठनको नियमितता भने हुन सकेको छैन ।

प्रतिक्रिया