मानवीय क्रियाकलापबाट संस्कृतिको जन्म भएको हो । मानव जातिलाई विशिष्ट चेतनाको जग बसाउन यही संस्कृतिको अहं भूमिका रहेको छ । संस्कृतिका विविध पक्षमध्ये कला एक विशिष्ट पक्ष हो । मानव जातिको इतिहास, संस्कृति, राजनीति, सामाजिक जीवन आदिको अध्ययन कलाका माध्यमबाट सहज भएको छ । समकालीन समाजको वस्तुस्थितिबारे पनि कलामार्फत अभिव्यक्त भएको हुन्छ । विश्वमा, समकालीन कलालाई हेर्दा यसले मानव जातिको मौलिकतालाई चिनाउन मद्दत गरेको छ । विश्वका विभिन्न मुलुकका कलाकारले आफ्नो देशको कलालाई चिनाउन भ्रमण गरिरहेका हुन्छन् । सांस्कृतिक दूतको रूपमा कलाकारले देश–देशबीचको सम्बन्धलाई प्रगाढ बनाइरहेका हुन्छन् ।
यस्तै विभिन्न देशका कलासम्बन्धी निकाय र संग्रहालयले पनि अन्तर्राष्ट्रियस्तरका कलाका विविध गतिविधि गरिरहेका हुन्छन् । यस्तै, नेपालमा १७ दिन लामो कला उत्सवको आयोजना गरिएको छ । काठमाडौं र ललितपुरमा रहेका प्रायः कलादीर्घामा ‘काठमाडौं ट्रिएनाले–२०१७’ सम्पन्न भयो । ‘द सिटी’ शीर्षकमा २५ देशका ६० भन्दा बढी कलाकार सो ट्रिएनालेमा सहभागी भएका छन् । युरोप, उत्तर÷दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया, एसियाका विभिन्न देशका कलाकारको जमघटले विश्व कलाको समकालीन धारलाई काठमाडौंमा देख्न पाइयो ।
सहरका कथा–व्यथा, रहनसहन, संस्कृति, उतारचढाव, विभिन्न घटना आदिको कलात्मक कोलाजलाई कलाकारले आफ्ना सिर्जनामार्फत अभिव्यक्त गरेका थिए । सहरले मानिसलाई दुःख, सुख, संघर्ष, सुविधा सबै दिएको छ । यही सहरका अनेकन कहर र यथार्थतालाई सांस्कृतिक रूपमा कलाकारले उनेका छन्, ट्रिएनालेमा । डेढ वर्षदेखिको तयारीबाट ट्रिएनाले संभव हुन सकेको ट्रिएनालेका सेन्टर क्युरेटर फिलिप भ्यान काउटरेनले बताए । फिलिप स्माक बेल्जियमका कला निर्देशक हुन् । यस ट्रिएनालेमा प्रतिस्थापन, भिडियो आर्ट, चित्र, मूर्ति, परफर्मेन्स, कलाका विभिन्न विषयमा बहस गरिएको थियो ।
ट्रिएनाले के हो ?
ट्रिएनाले ३ वर्षको अन्तरमा गरिने कला उत्सव हो । ट्रिएनाले÷बायनाले (२ वर्षको अन्तरमा गरिने कला उत्सव) का लागि इटलीको भेनिसमा रहेको यसको कार्यालयबाट स्वीकृत लिनुपर्दछ । सन् १८९५ मा भेनिसमा पहिलो बायनालेको आयोजना गरिएको थियो । सन् १९५१ मा साओ पाउलो (ब्राजिल) पनि बायनाले गरियो । यी दुवै प्रदर्शनीलाई विश्वभर गरिने बायनाले वा ट्रिएनालेको प्रारम्भिक रूप मानिन्छ । सुरुताका यस्ता कला उत्सवको उद्देश्य मानिसलाई कलाका बहुआयामिक पक्षसँग परिचित गराउनु थियो । सन् १९५१ देखि वायनाले र ट्रिएनाले विश्वका विभिन्न स्थान हुँदै आएको छ ।
अहिलेसम्म हवाना (क्युवा), बुसान (दक्षिणी कोरिया), कोच्ची (भारत), सिड्नी (अस्ट्रेलिया), बर्लिन (जर्मनी), मरेक्क (मारोको), शारजाह (संयुक्त अरब इमिरात), मस्को (रुस), पोर्टो अलेग्रे (ब्राजिल), जकार्ता (इन्डोनेसिया) र सन् २०१७ देखि काठमाडौं ट्रिएनालेलाई अन्तर्राष्ट्रिय कला उत्सवको सूचिमा समावेश गरिएको छ ।
काठमाडौं ट्रिएनाले २०१७
११ चैतबाट सुरु भएको काठमाडौं ट्रिएनाले १७ दिनसम्म चल्यो । सिद्धार्थ आर्ट फाउन्डेसन र समकालीन कला संग्रहालय (स्माक) बेल्जियमको आयोजनामा भएको काठमाडौं ट्रिएनाले कलाको ठूलो उत्सवको रूपमा नेपालमा भएको हो । यो ट्रिएनाले काठमाडौं तथा ललितपुरका प्रायः सबै ग्यालरीमा गरिएको छ । ‘नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र विश्वमा चलेका कलाका ट्रेनलाई स्वदेशमै बुझ्न सजिलो हुने हुँदा यो कला उत्सवको महत्वबोध गरेर प्रदर्शनी गरिएको हो,’ सिद्धार्थ आर्ट फाउन्डेसनका संस्थापक तथा कार्यक्रमका संयोजक संगीता थापाले बताइन् । उनले थपिन्, ‘कलाले मानवीय सम्बन्धलाई नजिक ल्याउन भूमिका खेल्ने भएकाले सांस्कृतिक दूतको रूपमा विभिन्न देशका कलाकारलाई नेपाल ल्याइएको हो ।
यसले नेपाललाई सांस्कृतिक रूपमा अन्तर्राष्ट्रिय रूपमा जोड्न मद्दत पुग्छ ।’ ट्रिएनालेका मुख्य स्थानमा नेपाल आर्ट काउन्सिल बबरमहल, सिद्धार्थ आर्ट ग्यालरी, पाटन म्युजियम, तारागाउँ म्युजियम बौद्ध रहेका थिए । त्यस्तै यी बाहेक काठमाडौं तथा ललितपुरका विभिन्न १५ स्थानमा ट्रिएनाले गरिएको थियो । क्यानभासको रूपमा कलाकार अमृत कार्कीले कीर्तिपुरको नयाँबजारलाई रङद्वारा फ्रेममा कैद गरेका छन् । कीर्तिपुरका २१ घरलाई चतुर्भुज आकारमा फ्रेमको रूपमा लिएर त्यसभित्र उनले सयौँ घरको कोलाजलाई कलात्मक स्वरूप दिएका छन् । त्यस्तै, ओमबहालस्थित यंगालमा बेलायती कलाकार मार्टिन ट्राभेजले लाखे नाचको कथालाई म्युरल कलाका रूपमा उधिनेका छन् ।
विगत डेढ दशकभन्दा लामो समयदेखि इन्द्रजात्रामा लाखे नाच्दै आएका लक्ष्मण रञ्जितको कथालाई चित्रमा उतारेका हुन् । चित्रमा १२ वैशाखमा रक्तदान गर्दागर्दै भूकम्पका कारण रञ्जितले पत्नी गुमाउन पुगेको कथालाई प्रस्तुत गरेको ट्रिएनालेका निर्देशक निश्चल ओलीले जानकारी गराए । चित्रमा रञ्जितकी पत्नीलाई चन्द्रमामा देखाइएको छ । काष्ठमण्डप मन्दिरबाट परेवा उडिरहेको दृश्यले जोकोहीको मन छुन्छ । रञ्जित लाखे नाचका लागि तयारी अवस्थामा रहेका छन् । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा नेपाली परम्परागत कलाका नमूना प्रदर्शनीमा राखिएको छ । क्यानेडियन कलाकार ग्यारी बोर्नेलले सन् २०१२ देखि नेपालमा बसेर संकलन गरेका परम्परागत कला तथा तस्बिर प्रदर्शनीमा राखिएको हो ।
‘ट्रेजर अफ नेपाल’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा सिद्धार्थ आर्ट फाउन्डेसन र फिनल्यान्डको लाहिटी कला संग्रहालयको सहयोग रहेको छ । बेंगाल फाउन्डेसनको सहयोगमा पार्क ग्यालरी पुल्चोकमा बंगलादेशी कलाकारका कला राखिएको छ । डा.डिना बाङ्देलको क्युरेटिङमा टंगालस्थित टंगालउडमा वैदेशिक रोजगारमा जाने श्रमिकका कथा र व्यथालाई नेपाल, कतार, भारत तथा कोलम्बियाका कलाकारले कलाकृतिमार्फत प्रस्तुत गरेका छन् । सृजनालयले सर्वसाधारणलाई इन्भल्ब गर्दै बाल मनोविज्ञान र त्यसमा कलाले पार्ने प्रभावका बारेमा प्रदर्शनीस्थलमा कार्यशाला नै चलाएको थियो । त्यसैगरी नेवाःछें आर्ट ग्यालरीमा बुङमतीका ६ जना काष्ठ कलाकारका लिच्छवीकालीन शैलीका मूर्ति राखिएको छ । निकै आकर्षक र कालिगारी युक्त मूर्तिमा नेपालको प्राचीन सहरको कलात्मक शिल्पकारिता देख्न सकिन्छ ।
दक्षिण एसियाली कलाको प्रभाव बढी
ट्रिएनालेमा दक्षिण एसियाली मुलुकका कलाकारले बनाएका कला बढी आकर्षक र प्रभावशाली रहेको सहभागी नेपाली कलाकार मनिषलाल श्रेष्ठले बताए । विश्वमा कलाकारले सिर्जना गर्ने कला प्रभावशाली र समयसापेक्ष हुनुपर्ने तर्क कलाकार कपिलमणि दीक्षितले राखे । सो प्रदर्शनी भुवन थापा ‘बहुबि’ को ‘पूर्ण कलश’, एससी सुमनका मिथिला कला, अस्मिना रञ्जित, सुनील सिग्देल, मनिषलाल श्रेष्ठ, जुपिटर प्रधान, सौरगंगा दर्शनधारी, पृथ्वी श्रेष्ठ, सुनिता मर्हजन, सञ्जीव महर्जन, विधाता केसीको ‘रथ’, सुजन चित्रकार, हितमान गुरुङ, अर्जुन कार्की, शिलाशा राजभण्डारी, मेख लिम्बुका कलाकृतिले दर्शक ध्यान तान्न सक्यो । बंगलादेशी कलाकार महमुर रहमानको अवधारणामा बनेको ‘तेस्रोलिंगी’ विषयको कला प्रभावशाली प्रस्तुति रहेको थियो ।
पाकिस्तानी कलाकारका कला पनि निकै आकर्षक रहेका थिए । समग्रमा नेपाली कलाकारका कलाले स्थानीय दर्शकको मन जित्न सकेको थियो भने विदेशी कलाकार तथा सञ्चारमाध्यमको ध्यान तान्न सकेको पाइयो । ट्रिएनालेमा नेपाली कलाकारका कलाले आफूलाई तानेको कलाकार अनिता खनाल भट्टराईले बताइन् । उनले भनिन्, ‘नेपाली कलाकारले पनि राम्रा कला रचना गर्न सक्छन् भन्ने उदाहरण यसले दिन सकेको छ । यो नेपालीका लागि गर्व गर्नलायक इभेन्ट बन्न गएको छ ।’ संसारमा चलेका कलाका शैली र चिन्तनलाई नेपाली कलाकारले नजिकबाट नियाल्न पाएका भन्दै कलाकार तथा कला समीक्षक रमेश खनालले भने, ‘मलाई नेपालीका कलाले मन छोयो ।
समग्रमा कलाकृतिले विश्वको पछिल्लो अवस्थालाई चित्रण गरेको पाएँ ।’ नेपाली कला पारखीको पनि उलेख्य रूपमा उपस्थिति रहनु यस उत्सवको सफल पक्ष हो । हुनतः दिनदिनै भइरहने कला प्रदर्शनीले कला दीर्घामा चहलपहल बढ्नु स्वभाविकै हो । तर, नेपाली कलाप्रति स्वदेशी पारखीको पनि बढोत्तरी हुनु कलाकार र कला क्षेत्रका लागि सुखद समाचार हो । यसका साथै कलाकृति संग्रह गर्नुपर्छ भन्ने भावनाको विकास पनि भइरहेकै छ । ट्रिएनालेमा राखिएका कला र तिनको प्रभाव नेपाली समाजमा पछिसम्म पर्ने निश्चित छ तर यस प्रदर्शनीमा राखिएका कलाको नेपाली समाजप्रतिको दृष्टिकोणमा समयापेक्ष रूपमा आउन सकेन् । एउटा उत्सवका रूपमा ट्रिएनाले रहे पनि कलाकै रूपमा नेपाली दर्शकको मनोविज्ञानलाई कलाकारले उन्न नसकेको प्रतीत हुन्थ्यो ।
आम नेपाली दर्शकको मनोविज्ञानका चित्र, मूर्ति तथा यससँग सम्बन्धित विषयलाई पनि खोज्ने भएकाले त्यतातिर क्युरेटरको ध्यान पुग्न पक्कै सकेन । क्युरेटर फिलिपले युरोपियन मनोविज्ञानलाई ट्रिएनालेमा संयोजन गर्न खोज्दा त्यो नेपाली समाजको मनोविज्ञानसँग तालमेल खान नसकेको हो । नेपाल विकासोन्मुख देश भएकाले हाम्रो समाज र त्यसको चरित्र पनि परम्परागत र स्थानीक हुनु स्वभाविक हो । यस समाजको परिदृश्यमा कतिपय कलाकार र क्युरेटरको ध्यान पुग्न पक्कै नसकेकै हो ।
यसमा नेपाललगायत दक्षिण एसियाली मुलुकका कलाकारको मनोविज्ञान र कलाप्रतिको दृष्टिकोणलाई सघन रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ तर, उनीहरूका कलामा मौलिकतालाई पश्चिमा चिन्तनले गहिरो गरी प्रभाव पारेको देखिन्थ्यो । यसले उनीहरूमा मौलिकतामा समसामयिक दृष्टिकोण दिन खोज्दाखोज्दै पनि कलाकार कहीँकतै चुकेको भान हुन्थ्यो । तैपनि, समग्र ट्रिएनालेमा दक्षिण एसियाली राष्ट्रका कलाकारका कलाको प्रभाव भने राम्रै रहेको थियो ।
१ सय ७० वर्ष अघिको हस्तलिखित पुस्तक र चित्र
नेपाली कलामा पहिलोपटक पश्चिमा वस्तुवादी शैलीमा चित्र बनाएका कलाकार राजमानसिंह चित्रकारका मौलिक कलाकृति राखिएको छ । ब्रायन हड्सनले नेपालमा पाइने चराका विषयमा हस्तलिखित पुस्तक तयार पारेका थिए । ती पुस्तकमा राजमान लगायतका नेपाली कलाकारले चित्र बनाएका थिए । हाल ‘ब्रिटिस लाइब्रेरीमा ६ वटा हस्तलिखित पुस्तक रहेका छन् तीमध्ये १ वटा १७ दिनका लागि काठमाडौं ल्याइएको हो,’ ट्रिएनालेका निर्देशक निश्चल ओलीले भने । नेपाल र इस्ट–इन्डिया कम्पनीसँग भएको सन् १८१६ को सुगौली सन्धिपछि काठमाडौंमा अंगे्रजको चहलपहल ह्वात्तै बढ्यो । सो सन्धिपश्चात् बेलायतको पहिलो स्थायी आवासीय प्रतिनिधिको रूपमा इडवार्ड गार्डनर नेपाल आए । उनले नेपालमा तत्कालीन शासकसँग कूटनीतिक सम्बन्ध राख्दै वनस्पतिको खोज–अनुसन्धानमा लागेका थिए ।
उनी सन् १८१६ देखि १८२९ नेपालमा बेलायतको स्थायी आवासीय प्रतिनिधिका रूपमा रहेर काम गरेका थिए । वनस्पति अध्ययनमा गार्डनरलाई सघाउन सहयोगीको रूपमा रोर्बट स्टुआर्ट पनि नेपाल आएका थिए । गार्डनरको सो टोलीमा फ्रान्सिस डि सिल्भा र भरत सिंह पनि रहेका थिए । नाथालियल वालिच इस्ट इन्डिया कम्पनी भारतमा वनस्पति संकलन तथा अध्ययन गर्ने प्रमुख व्यक्ति थिए । वालिचसँग रोबर्ट स्टुअर्ट सन् १८२० मा तराई हुँदै काठमाडौं आउने क्रममा रोर्बटलाई मलेरियाले समात्यो र त्यसकै कारणले उनको निधन भयो । उनको स्थानमा ब्रायन एचएच हड्सन नियुक्त भई काम गर्न सन् १८२० मा काठमाडौं आए । हड्सनको रुचि चराचुरुंगी तथा जीवजन्तुको अध्ययनमा रहेकाले उनले आफ्नो अध्ययन अनुसन्धानका लागि दृष्टान्त चित्रको आवश्यकता परेकाले नेपाली कलाकारको खोजी गर्ने क्रममा कलाकार राजमानसिंह चित्रकार भेटछन् ।
र, उनैलाई आफ्नो सहयोगी तथा चित्रकारको रूपमा नियुक्त गर्छन् । हड्सनको संगतपश्चात् राजमानले नेपाली कलामा नयाँ शैलीमा काम गर्दछन् । उनले अपनाएको शैलीले नेपाली कलामा परम्परागत धारलाई चुनौती खडा गर्ने काम ग¥यो । राजमानले सुरुमा त्यत्तिबेला काठमाडौंमा चलेका परम्परागत तथा संस्कारजन्य कलाकृति बनाएका थिए । हड्सनभन्दा ३ वर्ष जेठा सन् १७९७ (?) मा जन्मिएका राजमानले जीवनको सुरुआती दिनमा परम्परागत तथा संस्कारजन्य कला बनाए ।
हड्सनको संगतपछि उनले काठमाडौं उपत्यकाका बौद्ध वास्तुकला चैत्य, स्तूपा, बहाल तथा बिहारका रेखाचित्र बनाएको पाइन्छ । त्यसपछि उनले जीवजन्तु, चराचुरुंगी, दृश्यचित्र तथा मुहारचित्र बनाएको पाइएको छ । राजमानसिंह चित्रकारले नेपाली कलामा पश्चिमेली शैलीलाई भित्राएर नयाँ युगको आरम्भ गरेको कलाकार तथा कला लेखक मदन चित्रकार बताउँछन् । उनै हड्सनको हस्तलिखित पुस्तकमा नेपाली कलाकार राजमानले बनाएका चराका मौलिक चित्र रहेको पुस्तक ट्रिएनालेमा मुख्य आकर्षण रह्यो । नेपाली कलाको खोज–अनुसन्धानका लागि निकै उपयोगी यो पुस्तकले १ सय ७० वर्ष अघिको नेपालको इतिहासलाई बुझ्न सघाउ पु¥याएको छ ।
अन्त्यमा
यस्ता गतिविधिले नेपाली कलालाई चलायमान बनाउँदै लग्छ । यो सुरुआतले केही सकारात्मक छाप छोड्न सकेको छ, तर, यसमा रहेका तमाम कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्नुपर्ने देखिन्छ । यस प्रदर्शनीले नेपाली कलाकारका कलाले विश्वमा प्रभाव जमाउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सकेको छ । विशेषगरी दक्षिण एसियाली मुलुकका कलाकारले गहन रूपमा विषयलाई उठाएको पाइयो । चीन र भारतजस्ता देशमा विश्वकला केन्द्रित हुँदै जानु पक्कै पनि हाम्रा लागि सुखद् अवसर बन्दै गइरहेको छ । नेपालमा ट्रिएनाले हुनु हाम्रा लागि संभावनाका ढोकाहरू खुल्दै जाने वातावरण निर्माण हुनु पनि हो ।
प्रतिक्रिया