गान्धी विषयक सिनेमा र मुन्नाभाइ

Kamal subediमोहनदास करमचन्द गान्धी आधुनिक भारतका निर्माता हुन् र उनी भारतवर्षका राष्ट्रपितासमेत मानिन्छन् । गान्धीका बारेमा चर्चा, प्रकाशन, व्याख्यान र अन्य विषयहरूको अहिले आवश्यकता पनि छैन । किनकि गान्धी बारेमा आज कोही पनि अनविज्ञ छैन । यो प्रसंगमा भने सिनेमाका पर्दामा गान्धी विषयको अवस्थितिका बारेमा चर्चा गर्न खोजिएको छ । भारत स्वतन्त्र हुनुभन्दा अघि पनि गान्धीको विचार, विषय र योगदानलाई आत्मसात गर्दै अनेक प्रतीक र बिम्बको प्रयोग गरेर सिनेमा बनेका हुन् । अंग्रेजहरूको शासनकालमै बी.शान्तारामले गान्धी विचार र दर्शनलाई केन्द्रमा राखेर धर्मात्मा सिनेमा बनाएका थिए । हुन त महात्मा नाममा यो सिनेमा बन्न लागेको थियो तर महात्मा शव्द अंग्रेज शासकहरूको आँखामा जँचेन किनकि यो शव्दले गान्धीलाई संकेत गथ्र्यो ।

उनै शान्तारामले स्वतन्त्रतापछि ‘दो आँखे बाह्र हात’ बनाए जो गान्धीको योगदान र दर्शनको अनुपम प्रस्तुति थियो । गान्धीले लडेको स्वतन्त्रताको अहिंसात्मक लडाइँलाई कलात्मक प्रस्तुतिले सजाएर यो सिनेमा बनेको थियो । सन् १९६० मा राजकपुर निर्माता र राधु कर्मकार निर्देशक रहेको ‘जिस देशमें गंगा बहती हे’ बन्यो जसले अहिंसात्मक आन्दोलनबाट नै समाजमा आमूल परिवर्तन हुन्छ भन्ने सन्देश प्रवाह गर्न सक्यो ।  समयक्रममा थुप्रै सिनेमाहरू बन्दै गए यो विषयमा । ‘नाइन आवर्स टु रामा (१९६२), गान्धी भर्सेज महात्मा (१९९६), हे राम (२०००), मैंने गान्धीको नहीँ मारा (२००५) तथा गान्धी माई फादर’ आदि बन्न पुगे । हिन्दी र अंग्रेजी भाषामा समेत बनेका ‘जोन ख्वाभ, श्याम बेनेगल, जानू बरुवा, फिरोज खान तथा कमल हसन’ आदिजस्ता हस्तीहरूको निर्देशकीय सीपको प्रयोग सिनेमामा भयो तर व्यावसायिक रूपमा यिनीहरू पूरै असफल भए ।

अत्यन्त विचारोत्तेजक र अति गम्भीर प्रकृतिको विषययुक्त भएकाले आमलोकजीवनले तिनलाई पचाउन नसकेको कुरा भारतीय सिने समीक्षकहरूले बताएका छन् । यसबीच रिचर्ड एटनबरोले १९८२ मा गान्धी—१ बनाइसकेका थिए जसले विश्वको वौद्धिक जगतमा तहल्का मच्चाएको थियो । ओस्कार प्रतियोगिताको मनोनयनमा परि पुरस्कृतसमेत भएको र विश्वले सह्राएको यो सिनेमा भारतमा भने पूरै असफल भयो । भारत सरकारले निःशुल्क प्रदर्शन गर्दा पनि सिनेमाघरहरू खाली भएका थिए । आमभारतीयहरूको गान्धीका बारेमा जो सोच थियो थियो त्योभन्दा धेरै माथिल्लो प्रस्तुति रहेकाले पनि आमदर्शकहरूले यसलाई पचाउन नसकेका हुन् । अझ स्वतन्त्रताको प्राप्तिपछि गान्धीलाई त फगत गान्धी जयन्तीमा मात्र फूलमाला चढाउने फेसन भारतमा पनि आयो ।

यस्तो प्रवृत्ति हामी कहाँ रत्नकुमार वान्तवा, क्याप्टेन यज्ञबहादुर थापा र कृष्ण सेन इच्छुकको प्रसंगमा पनि आई नै सकेको हो । यदि, यी देशभक्तहरूका बारेमा नेपालमा आज सिनेमाहरू बने भने तिनको हविगत पनि ‘गान्धी–१’ को जस्तै हुनेछ । यसमा शंका छैन ।  गान्धीको विचार प्रस्तुत गरिएका सिनेमाहरू एकपछि अर्काे गर्दै फस्दै गइरहेका बेला राजकुमार हिरानी एकाएक हौसिए गान्धी विषयक सिनेमा बनाउन । सञ्जय दत्तको केन्द्रीय भूमिका रहेको ‘लगे रहे मुन्ना भाइ’ बनाए उनले जसले भारतमा नै सय करोडको भन्दा बढी व्यापार गर्न सफल भयो । ‘मुन्नाभाइ’ मा गान्धीको विचारलाई जटिल नबनाएर सरलीकरण गरिएको थियो । आजका भारतीय युवाहरूलाई आजको भारतको परिवेशमा गान्धीको समानान्तर अवस्थामा उतारिएको छ यहाँ तर गान्धीप्रतिको आत्मीय अनुरागको बाटोबाट, विचार थोपरेर होइन ।

गान्धीको चरित्र निभाउने दीलिप प्रभावलकरले यस्तो आवाज, शैली र अभिनयको खुराक पस्के जसले आमभारतीय दर्शकको मन जित्न सफल भयो । उनै दीलिप प्रभावलकारले ‘गान्धी माइ फादर’ मा पनि भूमिका गरेका थिए तर त्यहाँ कल्पनाभन्दा बाहिरका विचार र भारी फुटेजहरूको प्रभाव थियो जो आमदर्शकले पचाउन सक्ने अवस्थाको थिएन । गान्धीलाई व्यावहारिक तरहले बुझ्नलाई आजका युवालाई भारी मद्दत गर्न सक्यो लगे रहो मुन्नाभाइले जसका कारण अपार सफलता प्राप्त गर्न सक्यो ।  ‘मुन्नाभाइ’ मा गान्धीलाई महान बनाइएको छैन, लक्ष्य पनि बनाइएको छैन फगत माध्यम बनाइएको छ र आजको यथार्थ पनि त्यही नै हो । जसरी महाकवि देवकोटाको ‘मुनामदन’ आज लेखिँदो हो त मदन नुनलिन भोट नगएर रेमिटेन्स बटुल्न खाडी देशहरूमा जान्थ्यो ।

थुप्रै सिनेमाहरू बने गान्धी दर्शनमा तर आजसम्म दर्शकका बीच सेतु बन्न सकेकाहरू मध्ये ‘जिस देश में गंगा बहती हे’ पछि यही ‘लगे रहो मुन्नाभाइ’ मात्र रह्यो । ‘मुन्नाभाइ’ भन्ने चरित्र आपराधिक संसारको वादशाह हो जसलाई गान्धीको चरित्रले विनाहिंसा सत्मार्गतिर डो¥याउँछ विना कुनै पूर्वाग्रह । यही सत्वका कारणले ‘लगे रहो मुन्नाभाइ’ बक्स अफिसमा त सफल भयो नै बलिउडमा सञ्जयको परिचय नै ‘मुन्नाभाइ’ मा बदलियो जसरी अमरिस पुरीको नाम कुनै बेला मोगेम्बोमा बदलिएको थियो । यो सत्य यथार्थले ‘मुन्नाभाइ’ ले कीर्तिमान प्राप्त ग¥यो । भारतमा ‘मुन्नाभाइ’ को विषयमा भारी चर्चा र अनुसन्धान भयो, पिएचडी भयो, पुस्तक पनि निस्कियो । सही चरित्रलाई पनि समयसापेक्ष रूपमा प्रस्तुत गर्नुपर्दाे रहेछ यो आजको दुनियाँमा महत्वपूर्ण कुरा रहेछ ।

प्रतिक्रिया