वैदिक परम्पराका दर्शन

वेदका संहितालाई नै भारतवर्षको धर्म, सभ्यता र अध्यात्म–ज्ञानको सनातन स्रोत मानिएको छ । भारतवर्षीय दर्शनशास्त्रको प्रारम्भ पनि वैदिककालदेखि नै मानिन्छ । वैदिक आचार–विचारका स्रोतका रूपमा रहेका वेद–समष्टिको मूलबाट एक सुदीर्घ परम्परा प्रवाहित भएको छ । त्यस परम्पराका अनेक आयाममध्ये दार्शनिक परम्परा पनि एक अभिन्न पाटो हो । वेद अनेकौँ दर्शनहरूको स्रोत हो किनभने यसैबाट ज्ञानको सञ्चय गरेर अनेकौँ विचार एवं दर्शनहरूको निर्माणका लागि गरिएको पाइन्छ । वैदिक दर्शनलाई आस्तिक दर्शन भन्ने र यसलाई हिन्दू दर्शनको समानार्थकको रूपमा प्रयोग गर्नेसमेत गरिन्छ । पारम्परिक वर्गीकरणको प्रचलनअनुसार भारतवर्षीय दर्शनहरूलाई आस्तिक र नास्तिक गरी २ भागमा बाँडिन्छ जसमध्ये वेदको आधिकारिकता–प्रामाणिकता स्वीकार गर्नेलाई आस्तिक र वेदनिन्दकलाई नास्तिक भनिन्छ ।

मनुस्मृति–२।११ मा ‘नास्तिको वेदनिन्दकः’ भनिएकाले यो परिभाषा वैदिक–परम्पराको मान्यतानुरूप नै देखिन्छ । वेदको आधिकारिकता–प्रामाणिकता स्वीकार गर्ने वा नगर्ने आधारबाट दर्शनहरूको वर्गीकरण गरिनु वेदलाई सन्दर्भ–विन्दुका रूपमा मिलेको व्यापक मान्यताको द्योतक हो । भारतवर्षीय दर्शनका आस्तिक सम्प्रदायहरूको विकास सूत्र–साहित्यद्वारा भएको छ । मीमांसा, वेदान्त, सांख्य, योग, न्याय र वैशेषिक दर्शनहरूका आफ्ना–आफ्ना सूत्र ग्रन्थहरू छन् र यी सबैले वेदको आधिकारिकता–प्रामाणिकता स्वीकार गर्छन् । मीमांसादर्शन जैमिनिकृत मीमांसासूत्रबाट, वेदान्तदर्शन वादरायणकृत ब्रह्मसूत्रबाट, सांख्यदर्शन कपिलकृत सांख्यसूत्रबाट, योगदर्शन पताजलीकृत योगसूत्रबाट, न्यायदर्शन गौतमकृत न्यायसूत्रबाट र वैशेषिकदर्शन कणादकृत वैशेषिकसूत्रबाट प्रणीत मानिन्छन् ।

आस्तिक समूहमा पर्ने मीमांसा, वेदान्त, सांख्य, योग, न्याय र वैशेषिकलाई षड्दर्शन वा षट्दर्शन तथा षट्शास्त्र पनि भनिएको पाइन्छ । आस्तिक दर्शनहरूलाई प्रत्येक समूहमा दुई–दुईवटा समावेश हुने गरी ३ वटा समूहमा बाँड्ने परम्परा रहिआएको छ । जसअनुसार सांख्य र योगलाई मिलाएर सांख्य–योग, न्याय र वैशेषिकलाई मिलाएर न्याय–वैशेषिक तथा मीमांसा र वेदान्तलाई मिलाएर मीमांसा–वेदान्त पदावलीले जनाइन्छ । मीमांसा–विशेषलाई पूर्वमीमांसा र वेदान्तलाई उत्तरमीमांसा पनि भनिन्छ । यदि वेदान्तका परवत्र्ती सम्प्रदायहरूलाई छाडिदिने हो भने मीमांसा र वेदान्तका सूत्र–ग्रन्थ एक–अर्काका पूरक नै देखिन्छन् । एवं दुवैलाई मिलाएर नै कृत्स्नशास्त्र अर्थात् सम्पूर्ण–शास्त्र भनिएको पनि पाइन्छ । मीमांसा र वेदान्त मात्र होइन आस्तिक मतका सबै ६ वटा दर्शनबीचमै समन्वयात्मक दृष्टिकोण राख्ने परम्परा रहिआएको छ । एक संस्कृत श्लोकमा भनिएको छ–‘ रुचीनां वैचित्र्याद्दजुकुटिल–नानापथजुषां । नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव ।।’

अर्थात् रुचीको भिन्नता वा वैचित्र्यका आधारमा सोझा–सरल बांगा–टिंगा र घुमाउरा आदि अनेकौं पथ पद्धति र धार्मिक परिपाटीमा बाँडिने मनुष्यहरूका लक्ष्य विन्दु वा प्राप्य वस्तु एकमात्र तिमी हौ जस्तो कि विभिन्न प्रकारका रूपाकृतिमा बाँडिएर बग्ने अनेकौं नदीनालाहरूको पानीको एकमात्र गन्तव्यस्थल वा प्राप्य वस्तु एउटै समुद्र हो । उपर्युक्त षड्दर्शन मीमांसा, वेदान्त, सांख्य, योग, न्याय र वैशेषिक का साथै अन्य आस्तिक दर्शन पनि छन् किनभने दर्शनशास्त्र सर्वत्र व्यापक छ । भारतवर्षमा ज्ञान व्याकरण संकेत आयुर्वेद भैषज्य संगीत चित्रकला भाषा वाद्य नृत्य चित्र उपासना ज्योतिष आदि सबैका दर्शनशास्त्र छन् । यस दृष्टिकोणबाट हेर्दा आस्तिक दर्शनको सूची लम्बिन सक्नेमा कुनै द्विविधा रहँदैन । जे होस् आस्तिक दर्शनको सूचीमा समेटिनका लागि प्रत्येक दर्शनले आपूm वैदिक परम्पराको भएको पर्याप्त आधार भने दिनै पर्ने हुन्छ । तसर्थ, चाहे तिनीहरू ६ वटा मानियून् वा त्यसभन्दा बढी आस्तिक दर्शन नै वैदिक परम्पराका दर्शन हुन् भन्ने तथ्य निरुपित हुन्छ ।

आफ्नै पृष्ठभूमिः
वैदिक सनातन धर्म (जसलाई हिन्दू संज्ञा पनि दिने गरिएको छ) का साथै बौद्ध, किराँत, बोन, जैन जस्ता धर्म यहाँका मौलिक रैथाने हुन् । नेपालको पहिचान यहाँका मौलिक रैथाने धर्मबाट हुनु र राज्यले विशेष संरक्षण गर्नु शत–प्रतिशत ठीक हो । क्रिस्चियन (इसाई), इस्लाम, बहाई आदि — जसको उद्भव पनि पराई स्रोतमा छ र जसको वर्तमान प्रवृत्ति पनि आक्रमणकारी छ । उनीहरूलाई मौलिक रैथाने धर्म, संस्कृति, सम्प्रदायका अनुयायीहरू र राज्यसत्तासमेत निराकरणात्मक कारबाही गर्न पाउँछ र गर्नु पर्ने पनि हुन्छ । यो कुरा राज्यराष्ट्र पुस्तकमै स्पष्ट लेखिएको छ ।

यस पंक्तिकार पोखरा बस्दा समूह नै बनाएर क्रिस्चियन (इसाई) बनेकालाई फिर्ता ल्याउने र प्रायश्चित्त गराउने गरेको थियो । तर, उनीहरूको साधन स्रोतको सामुन्नेमा सानो समूहको प्रयासले धेरै थेग्न सक्ने देखिएन । अब राज्यसत्ता नै हाम्रो भयो भने पक्कै सकिन्छ भनेर राजनीतिक तयारीमा लागेको अवस्था हो । केही ढिलो होला, तर धर्मको विजय गराइनेछ भन्ने विश्वासले यस पंक्तिकार कर्मरत छ । यस पंक्तिकार काठमाडौं आएपछि ०५७ मा ८४ वटा हिन्दू संगठन, संघ, संस्थाहरूका प्रतिनिधि सम्मिलित एक सम्मेलन आयोजना गरेको थियो । ३ दिन चलेको सम्मेलनपछि के निष्कर्षमा पुगियो भने नेपालमा हिन्दूको नाम भजाएर खोलिएका संगठन, संघ, संस्थाहरूसँग अल्मलिएर कुनै सार्थकता छैन ।

तसर्थ, आफ्नै तयारी अगाडि बढाइएको हो । केही ढिलो होला, तर धर्मको विजय गराइनेछ भन्ने विश्वास छ ।

प्रतिक्रिया