न विद्यार्थी खाली गाग्रा हुन् न शिक्षक भरी गाग्रा

‘अ मेडिअकर टिचर टेल्स, अ गुड टिचर एक्सप्लेन्स, अ सुपरिअर टिचर डेमोन्स्ट्रेड्स एन्ड अ ग्रेट टिचर इन्स्पाएर,’ शिक्षाविद् विलियम् अर्थर वार्डको उपर्युक्त भनाइमा शिक्षकको पढाउने सीपको बारेमा दार्शनिक पक्ष खोतलिएको छ । दार्शनिक वाक्य भएकाले प्रस्टसँग बुझ्न २÷३ पटक त दोहो¥याउनै पर्छ ।  हाम्रा अधिकांश शिक्षक व्याख्या गर्ने कलामा पोख्त छन् । किनकि, उनीहरूले पनि त्यसैगरी सिकेर शिक्षक भएका थिए । सिकाउने तरिका मुखका भरमा धान्ने हाम्रो सन्दर्भ परम्परागत रूपमा चलेको संस्कारजस्तै छ । त्यस्तै शैक्षिक सामग्रीको प्रदर्शन गर्दै पढाउने चलन ज्यादै कम छ । खासमा शिक्षकहरूले पढाइभन्दा पनि सिकाइको उत्प्रेरणा जगाउने गर्नुपर्दछ । उत्प्रेरणा जगाउने खालको शिक्षण विधिको पत्तो नहुनुमा शिक्षकहरू मात्र दोषी छैनन् ।

३ घन्टे परीक्षा प्रणालीले यति र उति नम्बर पाएको र ल्याएको हिसाब लब्धांक पत्रमा नभरी हाम्रो चित्तै बुझ्दैन । सिकाइको गुणस्तर, क्षमता, दक्षता, पौरख, कला, सीपभन्दा पनि पढाइको नापो ३ घन्टे परीक्षामा लेखेको उत्तरपुस्तिका हचुवामा जाँचेको प्राप्त नम्बरका आधारमा श्रेणी छुट्याएर तय गरिन्छ । शिक्षण विधि र सिकाइको नापजाँच यो नै पर्याप्त हो भन्न सकिन्न ।  यसलाई एउटा उदाहरणले प्रस्ट पारौँ । गाउँको विद्यालयमा पढ्ने एउटा विद्यार्थी कक्षा ९ र १० मा १÷१ पटक अनुत्तीर्ण भइसकेको थियो । अर्को वर्ष कक्षा १० का सबै विद्यार्थी थोकमा उत्तीर्ण गर्दा उनलाई पनि विद्यालय तहको पढाइ पार गर्ने ठूलो मौका मिलेको थियो ।

नत्र उनलाई विद्यालयको पढाइ पार गर्न मुस्किल पथ्र्याे । उनले एसएलसी परीक्षा त दिए तर परीक्षा परिणाममा ४ वटा विषयमा अनुत्तीर्ण भए । दोलखाको जिरीमा नेपालकै एउटा त्यस्तो महाविद्यालय छ जहाँ एसएलसी अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई नै केन्द्रीत गरेर कृषिमा जेटिए, निर्माणमा सबओभरसियर र स्वास्थ्यमा अनमी गरी ३ वटा विधाका नितान्त प्राविधिक विषयमा पढाइ हुन्छ । उक्त विद्यार्थीले जिरीको प्राविधिक शिक्षालयमा कृषिको जेटिएको प्रवेश परीक्षा दिए र नाम निकाल्न सफल भए । नाम निकाल्न सफल मात्र होइन जेटिएको सैद्धातिक र व्यावहारिक गरी २९ महिने पढाइमा ८० प्रतिशतभन्दा बढी नम्बर ल्याएर उत्तीर्ण भए । उनले त्यहाँ जेटिए पढ्दा कृषिसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक विषय पढ्नुपथ्र्यो । जिरी महाविद्यालयमा पढ्दा उनलाई विद्यालयमा जस्तो न अंग्रेजीको अड्को न त हिसाब वा विज्ञानका सिद्धान्त र सूत्रको सन्त्रास !

खेतीपाती त उनको अनुवांशिक सीप तथा बालापनमै लडिबुडी गर्दै जानिसकेकाले उनलाई सिकाइ सहज लागेको थियो । त्यसैले उनलाई कृषिको जेटिएमा कसरत गरेर पढ्नु नै परेन । केबल पढाइको प्रणालीमा मिसिनु मात्र थियो । उनी सिक्ने विद्यार्थी मात्र थिएनन् सिकाउने विद्यार्थी पनि थिए रे ! भनिरहनु पर्दैन कि कक्षा कोठमा सिक्ने विद्यार्थीभन्दा सिकाउने विद्यार्थी महत्वपूर्ण हुन्छन् ।  यो दृष्टान्तले के बताउँछ भने कुनै पनि विद्यार्थीलाई रुची भएको विषयमा पढाउने व्यवस्था हुने हो भने कुनै पनि विद्यार्थी अनुत्तीर्ण हुने भन्ने नै हुँदो रहेनछ । त्यसो त विद्यार्थी उत्तीर्ण वा अनुत्तीर्ण भन्ने नै हुँदैन भनेर शिक्षाविद्हरूले पनि भनेका रहेछन् । यदि सफल र असफलको कुरो नै गर्ने हो भने त विद्यार्थीसँगै शिक्षक पनि असफल भइरहेका हुन्छन् ।

कुनै विषयमा कम जानकारी हुनु भनेको अनुत्तीर्ण हुनु होइन । उनीहरूको त्यो विषयमा रुची वा चासो नभएको हुनसक्छ वा सिकाइका तरिका नमिलेको हुनसक्छ । उनीहरूलाई रुची भएको विषयमा पढाइको व्यवस्था हुने हो भने वा सिकाइको तरिका राम्रो हुने हो भने कोही माइकालालहरू अनुत्तीर्ण हुँदैनन् । विद्यार्थीहरूमा अन्तर्निहित रुची वा चासोको भेद खुट्याउने दक्षता शिक्षकहरूमा हुनुपर्दछ । युरोपियन मुलुकहरूमा हरेक शैक्षिक तह पार गर्दा विद्यार्थीहरूले कुन विषय अध्ययन गर्नु उपयुक्त हुन्छ भनेर शिक्षकहरूले अनिवार्य सिफारिस गर्नुपर्दछ । यो काम अत्यन्त संवेनशील भएकाले हाम्रो शिक्षा प्रणालीमा अहिलेकै अवस्थामा लागू गर्न त कल्पना गर्न पनि सकिन्न । एक त हामीसँग नीति नै छैन अर्को त यो काम गर्ने दक्षता बनाउन जगैबाट सुरु गर्नुपर्ने हुन्छ ।

शिक्षकहरू ज्ञान रूपी भण्डारका भरी गाग्रा हुन् र विद्यार्थी भनेका ज्ञान भर्न आएका खाली गाग्रा हुन् भन्ने बुझाइको मनोग्रन्थीले काम गरेको छ । वास्तवमा शिक्षक भनेका विद्यार्थीहरूलाई पाठ्यपुस्तक घोकाउने वा पढाउने निर्देशक होइनन् । उनीहरू त उत्प्रेरणा जगाउने सहजकर्ता हुन् । सिकाइको कला, पौरख र तौरतरिकाले सहजीकरण रोचक र सौहार्दपूर्ण बनाउन सकिन्छ । अपराधीलाई त केरकार गर्न लाठीमुङ्ग्रीको यातना दिन वा त्रासको वातावरणमा राख्न पाइन्न वा यसरी सफल हुन सकिन्न भन्ने मान्यता स्थापित भइसेको छ भने सरस्वतीको मन्दिरमा हिंसा वा यातनाको त कुरो गर्न पनि सुहाउँदैन । ज्ञान गुनलाई रोचक र सरल पारेर एकै पटक धेरै जनामा पु¥याउने कला नै सफल शिक्षकका गुण हुन् । सायद, यही गुणले भयो भने नै सरस्वती माता खुसी हुन्छिन् होला ।

नेदरल्यान्डका नागरिक तथा शिक्षा विद् बाउडेन भेन भ्याल्जेनका अनुसार, ‘शिक्षक, विद्यार्थी र अभिभावकको सौहार्दपूर्ण संवाद नै विद्यालय हो ।’ उहाँको यो भनाइअनुसार त हामीले विद्यालयलाई बुझेको परिचय वा परिभाषा नै परिवर्तन गर्नुपर्ने देखिन्छ । हाम्रो सन्दर्भमा त विद्यालय भन्ने वित्तिकै दुई थरि चित्र आउँछ । एकाथरि सरकारी विद्यालय जहाँ व्यवस्थापन समितिमा राजनीतिक दलका कार्यकर्ताहरू व्यर्थका सिङजुरा हालेर राजनीतिक मैदान रूपीे अखडाको चित्र झल्किन्छ । श्रद्धाका शिर झुकाउनुपर्ने अधिकांश शिक्षकहरू एउटा न एउटा दलको भातृ संगठनको नेता÷कार्यकर्ता छन् । पेसागत संगठनमा मात्र होइन ग्रामीण भेकको राजनीति धान्ने नै शिक्षकहरू छन् । हरेक राजनीतिक दलका गाउँ तहका नेतृत्वमा शिक्षकहरू कै बाहुल्यता छ ।

कक्षा कोठालाई प्रभावकारी सिकाइ बनाउनतिरभन्दा शिक्षकहरूलाई राजनीतिक दलका झोला र झन्डाको रन्कोले पिरोल्छ । अर्काथरि वर्गका छोराछोरीले पढ्ने अधिकांश निजी विद्यालयहरू छन् जहाँ सिकाइ होइन घोकन्ते पढाइ नै बढी हुन्छ । अंग्रेजी भाषा ज्ञान सिके जसरी सिक्नु आवश्यक पर्दैन । यो अरू भाषाजस्तै अभिव्यक्त गर्ने माध्यम मात्र हो । अंग्रेजी भाषा जान्नु सबैथोक हो भन्ने जबरजस्ती मान्यताले निजी विद्यालयहरूमा बढवा पाइराखेको छ । भरिएको गाग्रो खन्याउने तरिका निजी विद्यालयहरूमा झन् बढी हुन्छ । खासमा यी दुवै थरि विद्यालयहरू साँच्चै विद्यालय हुन सकेका रहेनछन् । परिमार्जित भएका पाठ्यपुस्तकका विषय र उद्देश्यको बारेमा सिकाइका तरिका र विधिको प्रशिक्षित गर्ने र निरन्तर पुनर्ताजकी गर्ने काम सरकारको हो ।

यो काममा दाताको दबावमा भएका प्रयासहरू पनि उल्टै बालुवा पानी हाले सरह पारिएका छन् । साथै आफ्नो पेसासँग सम्बन्धित विषय र सन्दर्भको बारेमा खोजी गर्ने, अध्ययन अनुसन्धान गर्ने र अध्यावधिक हुने काम शिक्षक स्वयम्ले पनि गर्नुपर्दछ । एक पटक उत्तीर्ण भइसकेपछि सधैँलाई पुग्छ भन्ने पुरातन सोचाइ त बदल्नैपर्छ ।

अन्त्यमा, राजनीतिक दलहरूले शिक्षकहरूलाई हाम्रो ठान्न छोडेर राम्रो ठान्नुपर्छ । आआफ्नो राजनीतिक दलको झोला र झन्डा बोक्न शिक्षकहरूलाई होइन कार्यकर्ताहरूलाई लगाउनुपर्छ । शिक्षकहरूलाई विद्यालयमै रमाउन र शैक्षिक वातावरणलाई नै रमाइलो बनाउन सहयोग गर्नुपर्छ । राजनीतिको झोला र झन्डा बोक्ने काम नागरिकहरूको नै हो । समाजलाई रूपान्तरण गर्न सक्षम शिक्षकहरू दलविशेषको झन्डा बोक्दा समाजिक रूपान्तरको प्रक्रिया नै अवरुद्ध हुन्छ । यो शिक्षकहरू आफैँले पनि मनन् गर्नुपर्ने विषय हो । राजनीति गर्ने रहर लाग्यो भने त नागरिकसँगैको मैदान खाली नै छ नि !

प्रतिक्रिया