बिरामी बोक्न स्टेचर अभाव

अर्घाखाँची, २० भदौ । शीतगंगा-७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी (तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्युठानको दर्वाङमा लगेर उपचार गरियो ।

स्टेचर नभएकाले मान्छे खोजेर डाडीमा बोकी उपचार गर्न लगिएको उनका बुबा पीताम्बर राउतले बताए । मनिसरा मात्र हैन उहाँजस्तै सयौँ महिलाको हालत उस्तै छ । कैयौँ महिला, बालबालिका तथा वृद्धवृद्धाले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ ।

यहाँबाट भालुवाङ नजिक पर्छ तर सडक नजोडिएकाले जलुके हुँदै भालुवाङ जान समस्या भएको छ । यातायातको समस्याले यहाँका मानिसको उपचारमा कठिन भएको छ । बिरामी तथा सुत्केरी स्वास्थ्य संस्थामा लैजान डोलीमा बोक्नुपर्छ ।

भौगोलिक दृष्टिकोणले नेपालकै सबैभन्दा ठूलो नगरपालिका शीतगंगाका सिद्धारा, सिमलपानीलगायत क्षेत्रमा पर्ने वडाका बासिन्दा पनि स्वास्थ्यसंस्था तथा यातायातको असुविधाको अभावमा सामान्य उपचार पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिसमेत बिरामीले पाउन सकेका छैनन् ।

सूचना, सञ्चार तथा यातायातको पहुँच पुग्न नसकेको यस क्षेत्रका बिरामीले समयमै उपचार पाउन नसक्दा अकालमै ज्यान गुमाउनुपरेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया