विषादी परीक्षण उपकरण बेवारिसे

bisadi parikxyanझापा । प्रदेश नम्बर १ मा पहिलोपटक झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा राखिएको विषादी परीक्षण उपकरण बेवारिसे भएको छ । उपकरण प्रयोगका लागि कुशल जनशक्तिको अभावमा उपकरण बेवारिसे भएको हो । खाद्यान्न परीक्षण गरेर विषादीको मात्रा पत्ता लाउने उपकरण बिर्तामोडको कृषिथोकमा स्थापना भएको एक वर्ष बितिसकेको छ ।

गएको जेठदेखि त्यहाँ लगातार तरकारी परीक्षण पनि भइरहेको छ । तर, परीक्षणपछि आएको रिपोर्ट के गर्ने, कुनै तरकारीमा बढी विषादी पाइएको अवस्थामा कुन निकायमा जानकारी गराउने, विषादीको मात्रा बढी भएको तरकारी बिक्री वितरण गर्नेलाई कसले कारबाही गर्ने भन्ने अन्योलका कारण विषादी प्रयोगशाला र उपकरण बेवारिसे भएको हो ।

२६ जेठदेखि हालसम्म परीक्षण केन्द्रमा ५० प्रकारका तरकारी परीक्षण गरिएको त्यहाँ राखिएको रेकर्ड पुस्तिकामा उल्लेख छ । अहिले परीक्षण गरेर रेकर्ड राख्ने काम मात्र भइरहेको परीक्षण केन्द्रका कार्यालय सहयोगी सुस्मा खड्काले जानकारी दिइन् । उनले परीक्षण गरेको रिपोर्ट कुन निकायमा बुझाउने भनेर अझै थाहा नभएको बताइन् ।

२६ जेठदेखि सुरु भएको परीक्षणको रेकर्ड कार्यालयमा राखिएको छ । तर, त्यो रेकर्ड के गर्ने भन्नेबारे कसैले केही नभनेको उनले बताइन् । बिर्तामोडमा विषादी परीक्षण प्रयोगशाला त स्थापना भयो । तर, एकवर्ष बितिसक्दा पनि त्यसका लागि आवश्यक दरबन्दी प्राप्त हुन नसकेको जिल्ला कृषि विकास कार्यालय झापाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए ।

यो उपकरणलाई नियमित सञ्चालन गर्नका लागि दरबन्दी सिर्जना गरेर जनशक्ति थप गर्नुपर्ने उनले बताए । उनले विषादी परीक्षणसम्बन्धी कार्यविधि निर्माण नभई गरिएको परीक्षणले कुनै अर्थ नराख्ने बताए । प्रयोगशालामा परीक्षण गरिएको तरकारीमा अधिकतम १४ लेभलसम्म विषादी भएको पाइएको खरेलले बताए ।

भारतबाट ल्याइएका पर्वल, पूmलकोपी, गोलभेंडा र च्याउमा विषादीको मात्रा १४ लेभलसम्म रहेको भनाइ उनको थियो । उनले उपभोक्ताको शरीरले यो लेभलको विषादी पचाउन सक्ने भए पनि नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यालय सहयोगीको भरमा विषादी परीक्षण गर्नका लागि त्यो विषयमा तालिम लिएका छुट्टै प्राविधिक कर्मचारी आवश्यक पर्छ ।

तर, बिर्तामोडमा राखिएको प्रयोगशालामा कार्यालय सहयोगीले परीक्षण गर्दै आएका छन् । २६ वैशाखमा बाली संरक्षण निर्देशनालयले तीनदिने तालिम दिएर कार्यालय सहयोगी खड्कालाई परीक्षणमा खटाएको हो । परीक्षणका क्रममा प्रयोग हुने ग्लोब, मास्क, जुत्ता लगायतका सामग्री प्रयोगशालामा नभएको खरेलले बताए । बिर्तामोडको कृषिथोक बजारमा ७० प्रतिशत तरकारी भारतबाट आउने गरेको छ । नेपालको उत्पादनले यो बजारको ३० प्रतिशत मात्र हिस्सा ओगट्ने गरेको बिक्रेताले बताएका छन् ।

भारतबाट नेपाल आउने तरकारीमा विषादीको मात्रा अत्यधिक रहने गरेको पाइएको जानकारी खड्काले दिइन् । ‘जंगलबाट टिपेर ल्याएको निगुरोमा समेत अत्याधिक विषादी हालेको पाइएको छ, खड्काले भनिन्, भारतबाट ल्याइएका पर्वल, गोलभेंडा, पूmलकोपी, स्याउ र च्याउमा धेरै विषादी पाइयो ।’

उनले कृषिथोकमा पाइने अधिकांश तरकारीमा विषादी पाइएको बताउँदै भनिन्, ‘खान नहुने अवस्थाको तरकारी भने बजारमा पाइएको छैन ।’

कति विषादी भएको तरकारी खाने ?
जिल्ला कृषि विकास कार्यालय झापाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलका अनुसार शून्यदेखि ३५ लेभलसम्म विषादीको मात्रा आएको तरकारी उपभोग गर्न लायक हुन्छ ।

यतिको मात्रामा भएको विषादीलाई मानिसको शरीरले केही दिनभित्र पचाउन सक्दछ । ३५ देखि ४५ लेभलसम्म विषादीको मात्रा रहेको तरकारी केहीदिन भण्डारण गरेपश्चात उपभोग गर्न सकिने उनले बताए ।खरेलका अनुसार ४५ लेभलमाथि विषादीको मात्रा भएका तरकारी भने उपभोग गर्न लायक मानिँदैन । यसलाई नष्ट गर्नुपर्ने उनले बताए ।

कार्यविधि निर्माणको क्रममा छ ः कार्की
कृषि विकास मन्त्रालयका सहसचिव तथा मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले विषादी परीक्षण प्रयोगशालासम्बन्धी कार्यविधि बन्ने क्रममा रहेको बताएका छन् । उनले जिल्लास्थित बाली संरक्षण अधिकृतले उपकरण सञ्चालनको व्यवस्थापन गर्नपर्ने बताए । उपकरणको प्रभावकारी सञ्चालनका लागि बाली संरक्षण निर्देशनालय सजग रहेको धारणा व्यक्त गरे । उपकरण राखेपछि हँुदै गरेको अनौपचारिक परीक्षणमा झापामा पाइने तरकारीहरू उपभोग गर्न नहुनेस्तरको नरहेको उनले बताए । यद्यपि, भारतीय तरकारीमा ज्यादा विषादी पाइएकाले त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे अभियान सुरु गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया