बाढीको बिमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा

imag1चितवन १४ भदौ । बाढीबाट हुने क्षतिको बिमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी मारमा परेका छन् । बैंकबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैंकले नै अनिवार्य बिमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बिमा नगर्दा व्यवसायी मारमा परेका हुन् ।  साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आएपछि सौराहाका सबै होटल डुबानमा परेका थिए । राप्ती किनारका ५ वटा रेस्टुरेन्ट बगाएर पूरै क्षति भएको छ भने अन्य होटलमा आंशिक क्षति पुगेको छ ।  क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार बाढीका कारण १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर, ९० प्रतिशत होटलले बाढीबाट हुने क्षतिको बिमा नगरेको उनले बताए ।

क्षति भएका अधिकांश होटलको बैंकमा ऋण रहेको छ । घिमिरेका अनुसार सौराहाका होटलको मात्रै १२ अर्बभन्दा बढी ऋण रहेको छ ।  यसअघि, पनि पटकपटक बाढीले करोडौँको क्षति पु¥याएको सौराहामा बैंकले ऋण दिँदा बाढीको समेट्ने गरी बिमा गर्न नलगाएको पाइएको छ । अनिवार्य भन्दै भूकम्प र आगजनीको बिमा गराए पनि बाढीको बिमा गर्न बैंकले पनि नभन्ने र व्यवसायीले पनि ध्यान नदिँदा पूरै जोखिम व्यवसायीले व्यहोर्न बाध्य भएका छन् । राप्ती किनारमा पब रेस्टुरेन्ट चलाउँदै आएका सौराहाबीच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालको पूरै रेस्टुरेन्ट बगाएको छ । उनका अनुसार बाढीले करिब ७० लाख बराबरको क्षति पु¥याएको छ ।  बैंकबाट ऋण लिँदा खाद्य र पेय पदार्थको मात्रै १७ लाख ५० हजारको बिमा गराएको जानकारी दिँदै उनले भने, ‘बैंकले पनि बाढीको बिमा गर भनेनन्, आफूले पनि गरिएन, अहिले सबै क्षति आफैँले व्यहोर्नुपर्ने भयो ।’

सँगैको अर्काे पव रेस्टुरेन्ट सनसेट भ्यु रेस्टुरेन्टका सञ्चालक दीपक खतिवडाको रेस्टुरेन्ट पनि पूरै बगाएको छ । खतिवडाले भने, ‘बैंकमा ऋण छ, उनीहरू आफैँले भूकम्प र आगजनीको मात्रै बिमा गरिदिएछन् ।’ झन्डै ८० लाख बराबरको क्षति भए पनि पूरै आफैँले व्यहोर्नुपरेको उनको गुनासो छ ।  राप्ती बिच रेस्टुरेन्टका सञ्चालक कृष्ण खतिवडाको पनि गुनासो उस्तै छ । उनले भने ‘बैंकको भर पर्दा बिमा हुन सकेन, अहिले पछुताउनु मात्रै भएको छ ।’ यसले गतिलो पाठ सिकाएको भन्दै उनले आउँदा दिनमा बाढीबाट हुने क्षतिको पनि बिमा गराउने बताए । नदी किनारका होटल रेस्टुरेन्टले ऋण पाउनै गाह्रो पर्ने गरेको उल्लेख गर्दै उनले ऋण पाइसकेपछि पनि बिमामा ध्यान नदिँदा ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

बाढीले होटल राइनो रेसिडेन्सीको पनि निकै क्षति पु¥याएको छ । सञ्चालक टीका बरालका अनुसार झन्डै ४० लाख बराबरको क्षति भएको छ । १२ वर्षअघिदेखि बाढी नआएको र नदीमा तटबन्धन बनेकाले बिमा नगर्दा सबै जोखिम बेहोर्नुपरेको उनले बताए । ‘आफ्नै कमजोरीका कारण क्षति पूरै व्यहोर्नुपरेको छ ।’ चितवन रिभरसाइड होटलका सञ्चालक गंगा गिरीको अवस्था पनि उस्तै छ । सौराहा क्षेत्रमा सबैभन्दा बढी क्षति सो होटलमा देखिएको छ । गिरीका अनुसार २ करोड ५० लाख बराबरको क्षति भएको छ ।  क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मी सौराहा जस्तो क्षेत्रमा बाढीको बिमा नगरी भूकम्प र आगलागीको मात्रै बिमा गरेकाले व्यवसायी मर्कामा परेको बताए ।

अधिकांशको बिमा ऋण प्रवाह गर्ने बैंक आफैँले गर्ने गर्छन् । उनीहरूले अनिवार्य भएकाले भूकम्प र आगलागीको बिमा गर्ने भए पनि बाढीको बिमा गर्न व्यवसायीलाई उत्प्रेरित नगरेको रेग्मीले बताए ।  सौराहाका होटलमा कुमारी, प्रभु, कृषि विकास, हिमालयन, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, सिटिजन्स लगायतका बैंकले लगानी गरेका छन् । कुमारी बैंक सौराहा शाखाका प्रबन्धक राजकुमार न्यौपाने भूकम्प र आगजनी अनिवार्य भएकाले तिनीहरूको बिमा गरिने भए पनि अन्य बिमा गर्न व्यवसायी राजी नहुने बताउछन् । सौराहामा १५ वर्षअघि ठूलो बाढी पसे पनि त्यसयता सुरक्षित रहेको भन्दै उनले लगानी गर्ने बैंकहरूले पनि बाढीको बिमामा दबाब नदिएको बताए ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जोखिम भएको क्षेत्रमा जोखिमको बिमा गर्न सकेमा व्यवसायी र बैंक सुरक्षित हुने बताए ।

प्रतिक्रिया