विदेश पलायन रोक्नुपर्छ

rajendra 2इन्जिनियरिङ क्षेत्र भनेको मानवीय समस्या समाधानका लागि प्रविधिको प्रयोग गरिने विज्ञानका रूपमा लिइन्छ । वास्तवमा, इन्जिनियरिङ एक व्यावसायिक कार्य हो जसमा सोच, फैसला गर्ने क्षमता, र वौद्धिक ज्ञान प्रयोग हुन्छ, जसमा विज्ञान, प्रविधि, गणित, र प्रयोगात्मक अनुभव प्रयोग गरी परिकल्पना, उत्पादन, र उपयोगी वस्तुको प्रयोग अथवा क्रम हो जसले मानवताको आवश्यकता र रहर पूरा गर्ने विषय हो । इन्जिनियरिङको व्यावसायिक प्राविधिकलाई इन्जिनियर भनिन्छ ।  नेपालमा इन्जिनियरिङ अध्ययनको श्रेय त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङलाई जान्छ जहाँबाट नेपालमा इन्जिनियरिङका विविध विषयमा अध्यापन सुरु गरिएको थियो ।

अहिले इन्जिनियरिङको क्षेत्र बढ्दै गइरहेको छ । सामाजिक अध्ययनदेखि राजनीतिक शास्त्रदेखि समाजका हरेक अंगमा इन्जिनियरिङ प्रयोग भइरहेको छ । यसै समयमा डिप्लोमा इन्जिनिरिङ एसोसियसन नेपालको राष्ट्रिय सम्मेलन इटहरीमा यहि १४ गते हुँदै छ । यो सम्मेलनले नयाँ कार्य समिति चयन गर्नुका साथै यस क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसर र यिनका समाधान लगायतका विषयमा बहस गर्नेछ । यसै सन्दर्भमा नेपालको समग्र इन्जिनियरिङ क्षेत्रको अवस्थाका बारेमा डिप्लोमा इन्जिनियरिङ एसोसियसन नेपालका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार डा.राजेन्द्रप्रसाद अधिकारीसँग सौर्य दैनिकका लागि कमल न्यौपानेले गरेको कुराकानी:

अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले आफ्नाे नियमित काम भौतिक संरचनाको डिजाइन निर्माणका साथै डिप्लोमा इन्जिनियरिङ एसोसियसन नेपालको राष्ट्रिय सम्मेलनको तयारीमा लागिरहेको छु ।

कहिले र किन हुँदै छ एसोसियसनको राष्ट्रिय सम्मेलन ?
एसोसियसनको राष्ट्रिय सम्मेलन यहि १४ गते इटहरीमा हुँदै छ । विशेष गरी नेपालमा छरिएर रहेका इन्जिनियरिङहरूको हकहित अधिकार स्थापित गर्नुका साथै यो पेसामा देखिएका समस्या, चुनौतीको समाधानका लागि पनि संगठन जरुरी हुन्छ । यसैले यो सम्मेलनले नयाँ कार्य समिति चयन गर्नेछ । यसका लागि पनि सम्मेलन गर्न आवश्यक देखिएको हो ।

नेपालमा इन्जिनियरिङ क्षेत्रको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपालमा अहिलेको अवस्थालाई हेर्दा यो क्षेत्रको कही विकास भएको छ । नेपालमा इन्जिनियरको अभाव छैन तर रोजगारीको समस्या भने देखिएको छ । पछिल्लो समय सिभिल इन्जिनियरिङमा युवायुवतीको आकर्षण बढेको देखिन्छ । तर, इलोक्ट्रोनिक इन्जिनियरिङमा खासै आकर्षण छैन । यसले पनि केही समस्या त छ नै । सरकारले इन्जिनियर उत्पादन र बजारको तालमेल मिलाउन नसकेको कारण थुप्रै समस्या पनि रहेका छन् ।

तमामखाले समस्या समाधानको पहल कस्तो भइरहेको छ ?
यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि एक व्यक्तिले गरेर केही हुनेवाला छैन । यसमा सरकारले नै विशेष प्याकेजमा कार्यक्रम ल्याएर इन्जिनियरहरूको जीवन निर्वाहका लागि रोजगारीको व्यवस्था गर्नुपर्छ । सरकारले यसमा उदासीन देखिएको छ । गुणस्तरीय इन्जिनियर उत्पादन गर्नु, सीपमुलक इन्जिनियर उत्पादन गर्नु र इन्जिनियरिङहरूको क्षमता तथा वृद्धि विकासमा सरकारले ध्यान दिनसके यहाँ देखिएका सबै त होइन केही समस्या समाधान हुन सक्छन् । यसका लागि अहिले हामीले एसोसियसनमार्फत सरकारको ध्यानाकर्षण गराइरहेका छौँ । यो सम्मेलनपछि पनि यस विषयमा सम्बन्धित पक्षसँग बहस र छलफल हुने विश्वास मैले लिएको छु ।

rajendra 1

यो क्षेत्रमा राजनीतिक प्रभाव कस्तो छ ?
मैले देखे र बुझेअनुसार यो संगठन एक विशुद्ध पेसाकर्मीहरूको संगठन हो । यसमा जति पनि सदस्यहरू छन् सबै पेसाप्रति इमानदार वफादार छन् । अहिलेसम्मको इतिहासलाई हेर्दा इन्जिनियरिङ क्षेत्रमा त्यस्तो राजनीतिक प्रभाव देखिएको छैन । म ठोकुवाका साथै भन्छु कि हिजो पनि राजनीतिक प्रभाव थिएन आज पनि छैन र भोलिका दिनमा पनि यो क्षेत्रमा राजनीतिक प्रभाव हुन नदिनका लागि हामी लागिपरेका छौँ ।

यस क्षेत्रको समग्र विकासका लागि सरकारी नीति कस्तो छ ?
अहिलेसम्म यस क्षेत्रको विकासका लागि सरकारको स्पष्ट नीति आउन सकेको छैन । हामीले बारम्बार सरकारी नीति आउनुपर्ने आवाज उठाएका छौँ । तर, सरकारका निकायहरू उदासीन छन् । सरकारी नीति स्पष्ट नभएकै कारण इन्जिनियरिङ क्षेत्रमा पनि इन्जिनियरबीच नै विभेद भइरहेको पक्का हो ।

इन्जिनियरिङ परिषद्मा पनि तहगत रूपमा इन्जिनियरहरूमा विभेद गरिँदै आएको छ । यो राम्रो होइन । सबै इन्जिनियरलाई हेर्दा सरकारको दृष्टि एउटै हुनुपर्छ । यसको व्यवस्थापन र सुधारका लागी नयाँ डिप्लोमा इन्जिनियरिङ परिषद्को आवश्यक छ । यस विषयमा सरकारले तत्काल सोच्नुपर्छ र सरकारी नीति स्पष्ट बनाइनुपर्छ ।

रोजगारीको अवस्था कस्तो छ ?
मध्यमस्तरका इन्जिनियरको हकमा रोजगारीको अवस्था नेपालमै राम्रो छ । मागभन्दा उत्पादन कम छ यसैले रोजगारीमा समस्या छैन । तर, उच्चस्तरमा भने उत्पादन बढी र माग कम भएका कारण समस्या छ यसैले थुप्रै इन्जिनियरहरू विदश पलायन पनि भइरहेका छन् । सरकारले रोजगारीको व्यवस्थापनका लागि सन्तुलन मिलाउँदै माग र आपूर्तिको तालमेल मिलाउनुपर्छ । यदि यो गर्न नसकेको अवस्थामा यो समस्या समाधान हुन सक्ने देखिँदैन ।

नेपालमा निर्माण भएका संरचना इन्जिनियरकै कारण मापदण्ड विपरीत निर्माण हुन्छन् भन्ने आरोप छ नि ?
यदाकदा यस्तो पनि सुनिएको साँचो हो । किनकी नेपालमा गुणस्तरीय र व्यावहारिक इन्जिनियरिङ शिक्षाको अभाव छ । पछिल्लो समय कताकता राजनीतिक हस्तक्षेप पनि बढ्न थालेको छ । इन्जिनियरले आफ्नाे स्वविवेकले काम गर्न नपाउँदा डिजाइन र मापदण्डमा केही तलमाथि हुन सक्छ । यसको रोकथाम जरुरी छ । यसका लागि राजनीतिक दलहरूले इन्जिनियरलाई आफ्नाे स्वविवेकले र स्वतन्त्र रूपमा काम गर्ने दिनुपर्छ । यसो गरिएको अवस्थामा अहिले लाग्दै आएको आरोप सहजरूपमा निराकरण हुनेछ ।

राष्ट्रिय सम्मेलनका एजेन्डा के के छन् ?
यही १४ गते सम्पन्न हुन गइरहेको एसोसियसनको राष्ट्रिय सम्मेलन मूलतः इन्जिनियरहरूको हकहित र अधिकारका लागि नै अघि बढ्छ । यसमा खासै एजेन्डा त केही छैनन् तर पेसागत सुरक्षाका साथै रोजगारी र नयाँ कार्य समितिको चयन प्रक्रिया नै हुन् । देशको संरचना अनुसार एसोसियसन पनि कसरी अघि बढ्ने भन्ने लगायतका विषयमा छलफल र बहस हुन सक्छ ।

अन्त्यमा
इटहरीमा हुन गइरहेको राष्ट्रिय सम्मेलनलाई सभ्य भव्यरूपमा सम्पन्न गर्न सबैमा आग्रह गर्दछु । देशभरका आमइन्जिनियरहरूको साझा संगठन भएका कारण यसमा राजनीतिक रंग नदेखाई आफना पक्षमा आवाज उठाउने सक्षम व्यक्तिलाई चयन गर्नुपर्ने भएकाले सम्मेलनतर्फ सबै लागिपर्नुपर्ने देखिन्छ । यो सम्मेलनमा देशभरबाट करिब ३ सयको हाराहारीमा इन्जिनियर सहभागिता हुने हुँदा सम्मेलनमा आफ्नाे हकहित र अधिकारका लागि खुलेर बहस गर्न र सक्षम नेतृत्व चयन गर्न सबैमा आग्रह पनि गर्दछु ।

प्रतिक्रिया