जुम्लामा दुई करोड २५ लाखको स्याउ बिक्री

jumla-appleजुम्ला, ९ भदौ । एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् ।

अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो रु ६० का दरले खरिद गर्न थालेका छन् । चन्दननाथ नगरपालिका-१० का छक्कबहादुर शाही बगैँचाबाटै रु तीन लाखभन्दा बढीको स्याउ बिक्री गरेको बताउँछन् ।

सोही वडाकै सरस्वती देवकोटाले लगानीअनुसारको आम्दानी गर्न सफल भएको बताइन् । स्याउमा चमेरो, अरिङ्गाल, कोइरालोलगायतले क्षति पु¥याउन थनलेकाले चाँडै बेच्नु परेको उनको भनाइ छ ।

सुर्खेत र नेपालगञ्जमा स्याउको मूल्य ह्वात्तै घटेकाले व्यापारी मारमा परेका छन् । ग्रेडिङ र प्याकेजिङ बिना स्याउ धमाधम बिक्री हुन थालेको छ । ग्रेडिङ नगरिएको स्याउले उचित मूल्य नपाउँदा व्यापारी चिन्तामा छन् ।

जिल्ला सहकारी संघमा रहेको रु ८० लाखको ग्रेडिङ मेसिन सञ्चालनमा आउन सकेको छैन । दिनहुँ हातले नै स्याउ ग्रेडिङ गर्नु परिरहेको व्यापारी रामकृष्ण चौलागार्इंले बताए ।

उनले ६५ मेट्रिक टन स्याउ खरिद गर्नुभएको थियो भने करिब २५ मेट्रिक टन कमसल स्याउ भेटिएको छ ।

जुम्लामा प्रतिकिलो रु ६० मा खरिद गरिएको स्याउ काठमाडौँमा रु १२० मा बिक्री गर्ने सम्झौता भएको चौलागाईंले बताए । उनले करिब रु ३५ लाखको स्याउ खरिद गरेका छन् ।

भदौ पहिलो साताभित्रै जुम्लाका ९० प्रतिशत स्याउका बगैँचा रित्तिएका छन् ।

पञ्चेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मीनबहादुर डाँगी व्यापारीले अत्याएका कारण स्याउ पूर्ण रुपमा तयार हुन नपाएको बताए । आगामी वर्षमा यसबारे कृषक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया