केभहिलः ऐतिहासिक, पौराणिक पर्यटकीयस्थल

kv hill

बेनी । बेनी नगरपालिका–९ गाजनेको धुरीमा अवस्थित केभहिल ऐतिहासिक महत्व र अपार पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  ‘रामायण’ का अनुसार विद्वान् महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीमा रहेको केभहिल प्राकृतिक सुन्दरता र हिमशृंखलाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँबाट धौलागिरि हिमाल पुनहिलबाट भन्दा पनि नजिकबाट अवलोकन गर्न सकिन्छ ।

१४औँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर केभहिलको नजिकैमा रहेको छ । त्यसैगरी मनोरम हिमशृंखलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दासमेत रहेका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले बताए ।

बानियाँका अनुसार बेनीबजारदेखि नजिकैको क्षेत्र भनेको पुलस्त्य पुलहाश्रम, ढोल्ठान दरबार, जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरीलगायत क्षेत्र नै भएकाले ती क्षेत्रको व्यापक रूपमा प्रचारप्रसार गर्न सक्ने र यी ठाउँहरूको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बुझाउन सक्ने हो भने नेपाल र भारतका मात्रै होइन तेस्रो मुलुकका हजारौँ पर्यटक यहाँ आउन सक्ने प्रशस्तै आधार रहेका छन् ।
समुद्री सतहदेखि करिब २ हजार ४ सय मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घन्टाको पैदल यात्रापछि पुग्न सकिने केभहिल प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानियाँले बताए । उनले भने, ‘ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाहरूले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेर पनि यो ठाउँको कहिल्यै प्रचारप्रसार हुन सकेन, यदि राम्रोसँग प्रचारप्रसार गरी सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने हो भने केभहिल क्षेत्र म्याग्दीको मात्र होइन ४ नम्बर प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बन्न सक्छ ।’

‘केभहिलबाट पूर्वोत्तरतर्फ माछापुच्छ«े, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमालका लर्कनहरू आँखैअगाडि ठिंग उभिएको देखिन्छ, ।’ पौलस्त्य पुलह क्षेत्रविकास समितिका अध्यक्ष लीलाबहादुर बानियाँले बताए । अध्यक्ष बानियाँका अनुसार केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले अति पवित्रतम गाजने गाउँ मादकपदार्थ र मांसाहार निषेधित नेपालकै उदाहरणीय गाउँ हो ।  केभहिलबाट करिब आधा घन्टाको दुरीमा रहेको जगन्नाथ मन्दिर भारतको उडिसा राज्यमा रहेको जगन्नाथ मन्दिरकै ढाँचामा निर्माण गरिएको छ । । गतवर्ष पुनर्निर्माण सम्पन्न गरिएको मन्दिरका लागि ०६८ सालमा महायज्ञ लगाइएको थियो । महायज्ञबाट संकलित १ करोड ८ लाख रुपैयाँको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको अध्यक्ष बानियाँले बताए ।

शिखर शैलीमा निर्माण गरिएको यो मन्दिरदेखि माथितिरको गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण बज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ ।  विशाल, बलशाली र समृद्ध चौबिसे राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरैपछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक ग्रन्थमा उल्लेख छ । १८४२ सालमा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको ‘कहिले राजा बेनी बाग्लुङ, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि भन्न सकिन्छ ।

प्रशासनिक दृष्टिकोणले पनि यो स्थान अत्यन्तै महत्वपूर्ण मानिन्छ । अघिल्लो पुस्ताका म्याग्देली कार्यालय प्रमुखले समग्र जिल्लाको दृश्यावलोकनसहित वस्तुस्थिति मूल्यांकन यहाँबाट नै गर्ने गरेको स्थानीयवासी वयोवृद्धले बताएका छन् । विशिष्ट व्यक्तित्वले आफ्नो पदबहाली र रमानापूर्व विश्वमहायज्ञ स्थलको चरु निधारमा धस्ने र जगन्नाथ मन्दिरको दर्शन गरी मनोकांक्षा पूरा हुने विश्वास प्राचीन समयदेखि आजपर्यन्त मानिँदै आएको पाइन्छ ।

बेनी नगरपालिकाभित्र रहेका टोड्के, जगन्नाथ, पौलस्त्य पुलहाश्रम, जालपा, महारानी, गलेश्वर, ज्यामरुककोट, भकिम्लीको स्वर्गाश्रमजस्ता ऐतिहासिक र धार्मिक महत्वका क्षेत्रको संरक्षण र उपयोगको चाँजोपाँजो मिलाउने अभियानमा बेनी नगरपालिका लागेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

‘स्थानीय जनतालाई संरक्षणबाट प्राप्त हुने लाभ र संरक्षण नहुँदा हुने नोक्सानीका लागि प्रत्यक्ष रूपमा जिम्मेवार बनाएर सचेत गरियो र आवश्यक आधार विकास गर्न सरकारस्तरबाट आर्थिक लगानीको वातावरण बनाइयो भने अवश्य पनि यी सम्पदाहरूले भविष्यमा बेनीवासीलाई मात्र होइन, देशकै पर्यटकीय विकासका संभावनामा महत्वपूर्ण योगदान गर्नेछन्’, श्रेष्ठले भने ।

प्रतिक्रिया