म इमानदार र देशभक्त युवा हुँ ः महेश बस्नेत

mahesh basnet 111111122222222

युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष तथा पूर्वउद्योगमन्त्री एवं एमालेका युवानेता महेश बस्नेत पछिल्लो राजनीतिक परिपेक्षमा एमालेभित्र मात्रै नभई अन्य राजनीतिक वृत्तमा पनि उत्तिकै चर्चामा छन् । भक्तपुरमा एमाले कमजोर छ, महेशको आधार बलियो छैन र उनी केपी ओलीको चाकरी गरेर नेता भएका हुन् भन्ने आरोपलाई बस्नेतले गएको स्थानीय निर्वाचनमा उल्ट्याइदिएका छन् ।

उनी भक्तपुरका ४ मध्ये ३ वटा नगरपालिकाको स्थानीय तहको निर्वाचनमा एमालेकै पोल्टामा नतिजा पार्न सफल भएका छन् । अहिले त्यसैले पनि उनको चर्चा अझै बढेको छ । नेपाली राजनीतिक वृत्तमा । सौर्य दैनिकका लागि उनै युवानेता महेश बस्नेत र कमल न्यौपानेबीच समसामयिक राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर भएको कुराकानी ।

 भक्तपुरमा कांग्रेस र नेमकिपाको गढ एमालेले तोड्यो भन्ने छ नि वास्तवमै गढ तोडिएकै हो त ?
भक्तपुरका मतदाताको मनोविज्ञान नेमकिपासँग असन्तुष्ट हुँदा कांग्रेसलाई मत दिने र कांग्रेससँग असन्तुष्ट हुँदा नेमकिपालाई मत दिने हो । पछिल्लो ३, ४ वर्षको मिहिनतले नेमकिपा वा कांग्रेससँग असन्तुष्ट मतदाताले एमालेलाई मत दिने अवस्था बन्यो । त्यो भन्दाअघि एमाले प्रतिस्पर्धी नै होइन भन्ने देखिन्थ्यो ।

विशेषगरी, ३ वर्षमा जनताको सेवामा यहाँको विकासमा, जुन भूमिका खेल्याैँ अझ भूकम्पपछि पीडितहरूलाई राहत, उद्धार पुनःस्र्थापनामा हामीले गरेको सहयोगलाई यहाँका मतदाताले अहिले आएर अनुमोदन गरिदिए । जसका कारण विगतमा आफ्नो गढ भनेर मख्ख पर्ने जनताको सेवामा ध्यान नदिने शक्तिहरूले आफ्नाे परम्परागत गढ भत्किएको पत्तै पाएनन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले करोडाैँ रुपैयाँ बाँडे्र मत खरिद गरेको आरोप छ नि ? महेश बस्नेतको भागमा कति करोड थियो ?
अब यो आरोप प्रतिस्पर्धामा हारलाई सहज ढंगले लिन नसक्ने कतिपय साथीहरूले लगाएको आरोप हो । भक्तपुरका मतदाताले हामीलाई दिएको मत विल्कुल शुद्ध र पवित्र मत हो । दालमोठ चिउरा खाएर कार्यकर्ताले खटेर प्राप्त गरेको मत हो । हामीलाई भोट नदिए नगरपालिकाको सिफारिस दिन्न, विकासको बजेट दिन्न, जस्ता धेरै प्रलोभन र दबाबमा नपरेको भोट हो ।

जहाँसम्म पैसा बाँडे्को सवाल छ, एमालेले सरकारमा रहँदा र म स्वयं १ वर्ष मन्त्री भइरहँदा भक्तपुरमा २ वटा सेटलाइट सिटी हनुमन्ते करिडोर मनोहरा करिडोर, अन्तर्राष्ट्रिय प्राणी उद्यानकेन्द्र, आधुनिक वीर अस्पताल निर्माण गर्न र मेलम्चीको खानेपानी पहिलो चरणमा भक्तपुरमा पार्दै कटुञ्जे र टिगिनीमा ७ करोड लिटरको ट्यांकी बनाउनुका साथै विभिन्न ४० भन्दा बढी सडक विस्तार गर्न ४ अर्ब बढी रकम विनियोजन गर्न सफल भइयो ।

यसरी सिंहदरबारमा पानी बाराबारको सम्बन्ध रहेको बेला भक्तपुरमा अर्बाैं रकम ल्याएर विकास गर्ने कुरालाई कसैले त्यो अर्थमा बुझेको हो, भने त्यो सकारात्मक कुरा हो । भूकम्पपछि पनि नेपाल निर्माण गरी ४ करोडभन्दा बढी सहयोग जुटाएर भूकम्पपीडितलाई सहयोग गरियो । अहिले पनि २ सय २५ जना गरिब बालबालिकालाई निःशुल्क पढाइँदै छ र ३ सय महिलालाई सीपमुलक तालिम प्रदान गरिँदै छ । यस्तो कुरामा प्रतिस्पर्धी मित्रहरूले आलोचना गर्नेभन्दा प्रतिस्पर्धा गर्नेतर्फ लाग्नु पर्दछ । तसर्थ हामीले एउटा नारा बनाएका छौं ‘राजनीतिमा प्रतिस्पर्धा गरौं , विकासमा ऐक्यबद्धता गरौं ।’

‘लडाइँको मोर्चा जितेभन्दा हारेको सिपाहीले बुझ्छ’ भनेझैं महेशले संसदीय चुनाव हार्दा र स्थानीय तहमा एमालेले नगरमा जित्दा कस्तो महसुस भइरहेको छ ?

दोस्रो संविधानसभाको निर्वाचनमा म प्रतिस्पर्धा गरेर हार्न तयार भएर नै आएको थिएँ । कारण ः भक्तपुर एमालेको लागि पत्झडक्षेत्र नै थियो । हार पछाडिको परिस्थितिलाई मैले सहज ढंगले आत्मसाथ गरेँ । भक्तपुरका जनतामा एमाले भिजेको छैन र म आफैँ पनि जनताको सेवामा जति लाग्नुपर्ने हो लाग्न सकेको रहेनछु भन्ने महसुस गरेँ । त्यसलाई मैले शिक्षाको रूपमा लिएर यी गएका ३ वर्षहरूमा म पूर्णरूपले जनाताको सेवामा समर्पित भएँ ।

जनताका व्यक्तिगत समस्यादेखि उनीहरूको घरपरिवारमा परेका सुख, दुःखमा ऐक्यबद्धता जनाउन सहभागी भएँ । आफूले सक्दो विकास निर्माणको काम गरेँ । आम मतदाताले आफूले जिताएको प्रतिनिधि बेखबर भइरहँदा हारेको प्रतिनिधि घर आगनमा सहजै पाउने कुरालाई सम्मान गर्दै यस निर्वाचनमा हामीलाई मतदान गरी विजयी गराए । यसबाट के पाठ सिक्न सकिन्छ भने सेवा गरे मेवा मिल्छ भने झैँ जनभावनाको कदर गर्न सकियो भने पक्कै सफल भइन्छ ।

विपक्षीको मत एमालेमा धेरै आयो भन्ने छ यसमा के जादु थियो ?
स्थानीय तहको निर्वाचन भएको हुनाले सही व्यक्ति र उम्मेदवार छनोट गर्न सक्नु यसको एउटा महत्वपूर्ण पाटो हो । आफ्नाे असहमत भएका व्यक्तिहरूलाई सम्झाउन सक्नु अर्को महत्वपूर्ण पाटो हो । फरक आस्था राख्ने प्रतिस्पर्धी दलका साथीहरूका दलको मत आकर्षण गर्नुु पनि अर्को पक्ष हो । यसरी हेर्दा हामी प्रतिको आकर्षण न्युटल मतदाताको मात्रै होइन अन्य पार्टीका नेता कार्यकर्ताको पनि प्रशस्तै देखिन्छ । राप्रपाको जिल्ला उपाध्यक्ष, कोषाध्यक्षलगायत बहुमत टिम एमाले प्रवेश गरिसकेको थियो ।

कांग्रेस र नेमकिपाका धेरै साथीहरू एमालेमा प्रवेश गरिसकेका थिए । ३ वर्षबीच हामीले हाम्रो संगठित सदस्य ३ गुणा बढाइसकेका थियौं । यी सबै कुरा हामीले गरेका थिएनौं । कारण प्रतिस्पर्धीहरू चनाखो भएर रोक्ने र थप सक्रिय हुने काम नहोस् भन्ने हाम्रो चाहना थियो । वास्तवमा यसपालि साइलेन्स डेप्लोमेसीले नै भक्तपुरमा काम ग¥यो । हाम्रा मतदाताको मनोबल उच्च नै थियोे । यस्तो ठाउँमा हामीले अवलम्बन गरेको यो रणनीति योग्य देखियो ।

सभ्य भाषामा भन्दा महेश विद्रोही र अन्तरमुखी व्यक्ति हो भन्ने आरोप पनि छ महेशको वास्तविक रूप के हो ?
यो आरोप मैले जतिखेर युथफोर्स र युवा संघको जिम्मा लिएँ त्यो समयमा मेरै पार्टी भित्रका मेरो मिसनमा असहमति राख्ने कतिपय नेताहरूले लगाएको आरोप हो । न मेरो स्वभाव विद्रोही छ न त अन्तरमुखी । सामान्यतया मेरो स्वभाव भनेको जनसेवी, सरल र सहज ढंगले साथीभाइहरूसँग मिल्नसक्ने, समस्याका महल उठाउने होइन समाधानका विकल्प दिनसक्ने व्यक्तिका रूपमा साथीहरूले मूल्याङ्कन गर्नुपर्छ जस्तो लाग्छ ।

मेरो व्यक्तिगत जीवनसरल, पारदर्शी, कुनै महत्वकांक्षी नभएको मिलनसार नै छ । जो नयाँ साथीले म सँग संगत गर्छन् तिम्रोबारे हामीले के के सुनेका थियाैँ वास्तवमा हामी भ्रममा रहेछाैँ भन्ने गर्छन् । पछिल्लो समय मेरोबारे विगतमा नकरात्मक टिप्पणी गर्ने मिडियाले पनि सकारात्मक टिप्पणी गर्न थालेको देख्छु । यसमा मेरो स्वभाव बदलिएको होइन मलाई हेर्ने साथीहरूको दृष्टिकोण बदलिएको हो भन्ने लाग्छ ।

माओवादी र राप्रपाले बेचेको मत एमालेको (महेश) ले खरिद ग¥यो भन्ने कुरामा कतिको सत्यता छ ?
यसमा आधा सत्यता छ । विशेष गरेर साना दलहरूले निर्वाचनका बेलामा आफ्नाे मतले अन्य दललाई सहयोग गर्ने चलन छ । अघिल्लो संविधानसभामा माओवादीको वैद्य समूह, माले, अखण्ड नेपालजस्ता पार्टीले अन्य दललाई मत सहयोग गरेको देखिन्छ । यस पटक पनि देशभरीको मतको पद्धतिलाई हेर्दा कतिपय ठाउँहरूमा राप्रपा र माओवादीले आफ्नाे मत अन्य पार्टीलाई सहयोग गरेको देखिन्छ ।

जहाँसम्म भक्तपुरको सवाल छ हामीले जितेका नगरपालिकाहरूमा मेयरको भन्दा उपमेयरको बढी मत छ अनि मतान्तर पनि बढी छ । राप्रपा र माओवादीका साथीले वडाअध्यक्षले पाएको मत भन्दा सम्बन्धित वडामा मेयरले पाएको मत निकै कम छ त्यो मत सूर्यविनायक र चाँगुनारायणमा कांग्रेसको उम्मेदवारले प्राप्त गरेको देखिन्छ । भोट नै बेचे भन्ने आरोप त म लगाउँदिन तर, एमालेलाई असफल बनाउन कांग्रेसलाई मतदान गरेर सहयोग गरेको चाँहि पक्कै हो ।

 चितवनमा समेत महेश बस्नेतकै इशारामा माओवादी केन्द्रका स्थानीय नेतालाई युवा संघले ज्यान मार्ने धम्की दिएको भन्ने आरोप थियो नि ?
युवा संघको पूर्वअध्यक्ष र सफल अध्यक्ष भएको नाताले स्वाभाविक रूपमा युवा संघसँग जोडिएका कतिपय सवालहरू मसँग पनि जोडिने गर्छन् । भरतपुरको मतपत्र च्यातेर माओवादीले लोकतन्त्र माथि नै धावा बोलेको छ । हार स्वीकार गर्न नसक्ने अधिनायकवादी शैली प्रर्दशन गरेको छ । जसको विरुद्ध युवा संघ नेपाल र नेकपा एमालेले आन्दोलन नै घोषणा ग¥योे । युवा संघलाई माओवादीले ज्यान मार्ने धम्की दियो भनेर लगाएको आरोप भनेको डाँकाहरूले गाउँ लुटेको ठिकै हो केटाहरूले डाँका लखेटेर पुलिस बोलाउने काम गलत गरे भनेजस्तै हुन्छ ।

केपी ओलीको चाकडी, चाप्लुसीकै कारण तपाईंले राजनीतिक उचाइ हासिल गर्नुभयो भन्ने कुरामा कत्तिको सत्यता छ ?
म कुनै ठूलो खान्दानी परिवारबाट राजनीतिमा आएको व्यक्ति होइन । म श्रमजीवी किसान परिवारबाट राजनीतिमा आएको व्यक्ति हैँ । मेरो राजनीतिक जीवनमा नेताको आशीर्वादभन्दा मेरो कर्म र परिश्रमले नै बढी प्रभाव पारेको छ । जहाँसम्म पार्टी अध्यक्ष ओलीसँगको मेरो सम्बन्ध छ केपी ओली भनेका वर्तमान राजनीतिक वृत्तमा एउटा चम्किला तारा हुन् भन्ने कुरा केपी ओली कुनै पावरमा नहुँदा र स्वयं एमालेभित्र उनलाई अनेक खालका लालचना लगाएर कमजोर बनाएको बेला हामी केही युवा साथीहरूले यो पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री एकपटक केपी ओलीलाई बनाउनुपर्छ भनेर लाग्याैँ । त्यो लागेबापत झण्डै कारबाहीको सिकार हुन लागेको एउटा पात्र म पनि हुँ ।

आज केपी ओली जुन स्थानमा पुगे, त्यो स्थान बन्ला र त्यसबाट लाभ लिउँला भनेर हामीले उनलाई साथ दिएको होइन । हिजो अप्ठारो बेलामा हामीले उनलाई साथ दिएको हुनाले उनीसँगको सम्बन्ध पारिवारिक खालको रह्यो । म जब पार्टी केन्द्रीय सदस्यको निर्वाचन र संविधानसभाको निर्वाचनमा पराजित भएको थिएँ त्यतिखेर ममा निराशा नआओस् भनेर अध्यक्ष निकै चिन्तित भएको मैले पाएँ । जसको कारण उनले मलाई मभन्दा धेरै सिनियर साथीहरूलाई टपेर मलाई मन्त्री बनाइदिए । यो मेरो राजनीतिक जीवनको निकै नै महत्वपूर्ण क्षण थियो ।

महेश बस्नेतको जनाधार छैन, केपी ओलीको आर्शिवादले नेता बन्यो भनिरहेको बेला भक्तपुरमा अहिले भएको स्थानीय तहको चुनावलाई एमालेको पक्षमा ल्याएर त्यो आरोपको खण्डन गरेको छ ।त्यसो भएको हुनाले केपी ओली प्रधानमन्त्री भएको त्यो क्षणलाई मैले मेरो कुनै व्यक्तिगत लाभमा परिणत गर्न चाहेको होइन । प्रयोग गरे त केबल भक्तपुरका जनताको हितमा प्रयोग गरेँ । केपी ओलीले महेश बस्नेतलाई माया गर्छन् त्यो सत्य हो । तर, त्यो महेश बस्नेत जसले इमानदार साथ दिएको जिम्मेवारी पूरा गर्छ र जनसेवामा समर्पित भएर लाग्छ । यस मानेमा केपी ओलीको माया पाउने मेरो अधिकार पनि हो ।

 तपार्इंले ‘म महेश’ भन्ने आत्मवृत्तान्त लेखनमा अलि हतार गरेको जस्तो लाग्दैन ?
मेरो राजनीतिक जीवन निकै आरोह अबरोह पूर्ण छ । मेरा जिम्मेवारी पनि बिल्कुल फरक फरक खालका मैले पूरा गरेँ । विशेषगरी, युथफोर्स र युवा संघको जिम्मा लिइरहेको बेला मेरो राजनीतिक जीवनमा र व्यक्तिगत जीवनमा पनि अनेक खालका भ्रमपूर्ण टिकाटिप्पणी, समाचार बने । जसबारे स्पष्टीकरण दिनुपर्ने अवस्था थियो । मेरो पुस्ता जसले पञ्चायतको अन्तिम क्षण पनि देख्यो असफल बहुदलीय व्यवस्था पनि देख्यो १० वर्षे माओवादी युद्ध पनि देख्यो, दरबार हत्याकाण्ड र शाही शासन पनि देख्यो अनि विश्वकै ऐतिहासिक १९ दिने जनआन्दोलन पनि देख्यो ।

हाम्रो राजनीतिक जीवन युद्ध, संघर्ष र आन्दोलन मै बित्यो । नयाँ शान्त, र समृद्ध नेपाल निर्माण गर्ने अभिभारा अबको राजनीतिमा आइरहेको बेला म र मेरो पुस्ताको त्यो संघर्षको गाथा धेरै नयाँ साथीहरूका लागि प्रेरक हुन सक्छ भनेर सामान्यतया जीवनको उत्तरार्धमा लेखिने आत्मवृत्तान्तलाई मैले युवा उमेरमा नै लेखेँ । मुलुकको र म स्वयंको कार्यभार हकअधिकार प्राप्तिको संघर्ष गर्ने चरणबाट जनताको सुख शान्ति र समृद्धितर्फ अगाडि बढेको भन्ने निष्कर्षका साथ त्यो किताब मैले लेखेको हुँ । अब, मैले लेख्ने दोस्रो खण्डको किताबमा सुख, शान्ति र समृद्धि प्राप्तिमा हामीले खेलको भूमिकाको चर्चा हुनेछ ।

प्रदेश २ को निर्वाचन नजिकिँदै छ एमालेको तयारी कस्तो छ ?
अन्य प्रदेशमा जस्तै यो प्रदेशमा पनि सबै तहमा एमालेको उम्मेदवारी हुन्छ । एमाले निडर र जनातको पार्टी हो । त्यसैले प्रदेश नं २ मा पनि आम जनताले एमालेलाई नै मतदान गर्नेछन् । यसका लागि जनता आत्तुर भइरहेका छन् । अन्य प्रदेशको नतिजा जस्तै यो प्रदेशमा पनि एमाले पहिलो पार्टीका रूपमा जित हासिल गर्नेमा कुनै शंका छैन् । यो प्रदेशका विभिन्न नगरपालिका र गाउँपालिकामा उम्मेदवार छनोटका लागि पार्टीपंक्तिमा छलफल भइरहेको छ ।

लाग्छ अबको केही दिनमै उम्मेदवारहरू तय हुनेछन् । हाम्रा नेता तथा कार्यकर्ताहरू अहिलेदेखि नै गाउँगाउँमा प्रचारप्रसारका साथै चुनावी अभियानमा खटिरहेका छन् । सबैको सहयोग साथ र समर्थन एमालेमै भएकाले निर्वाचनमा जित निश्चित छ । एमाले प्रदेश २ को मात्रै नभई बाँकी रहेका सबै तहका निर्वाचनका लागि तयारी अवस्थामा छ ।

प्रतिक्रिया