‘व्यावसायिक संस्थाहरूमा पनि राजनीतिकरण भइरहेको छ‘

copy - Copy

तपार्इंले कुनै समय भन्नुभएको थियो, ‘नेपालमा उद्यम गर्नु भनेको बन्धक बन्नु हो’ के अहिले पनि त्यो अवस्था छ ?
यसमा मैले बन्धक भन्ने शब्द किन राखेको हो भने, एउटा त कर्जा लिँदाखेरि भएभरको सम्पत्तिहरू सबै बन्धकीको रूपमा राख्नुपर्छ । अर्को राइट टु स्ट्राइक र राइट टु लकआउट भन्ने व्यापार व्यवसायमा विश्वव्यापी रूपमा भनाइ छ, त्यो भनाइ र मान्यता कार्यान्वयनमा यहाँ समस्या छ । यहाँ राइट टु स्ट्राइक लेभरले पाउँछ तर लकआउट गर्ने सिस्टम छैन ।

मैले चाहँदैमा पनि उद्योगबाट छुट्कारा पाउने अवस्था छैन, त्यसकारणले पनि बन्धक भनेको हो । फेरि हाम्रो देशको राजनीतिक अस्थिरता, दुई ठूला छिमेकी राष्ट्रबाट आउने उत्पादकहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने, पूर्वाधारको कमीकमजोरी, प्रतिस्पर्धात्मक बजार लगायतका कारण पनि नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्नु चुनौतीको रूपमा पनि रहेको छ ।

नीति निर्माणमा के के समस्या देख्नुहुन्छ ?
समस्या भनेको हरेक क्षेत्रमा देखिन्छ । त्यसमा पनि उद्योग व्यवसायमा रिस्क लिन सक्ने व्यक्ति मात्रै लाग्छन् । यो क्षेत्र चुनौतीलाई सामना गर्न सक्ने अथवा जसले रिस्क लिन सक्छ उही मात्रै लाग्न सक्छन् । नेपालमा नीति राम्रो नभएको होइन, धेरै राम्राराम्रा ऐन नियमहरू छन्, तर कार्यान्वयन पक्ष फितलो हुँदा समस्या देखिएको हो । सरकार परिवर्तन हुने बित्तिक्कै नीति परिवर्तन हुने, ब्युरोकेसीहरूमा रिस्क लिन सक्ने क्षमता नभएको तथा अख्तियारको डरले काम गर्न नचाहने हुँदा कामहरू ढिलो हुने लगायतका अवस्थाले यो क्षेत्रमा समस्या देखिएको हो ।

पछिल्लो समय मुलुकलाई समृद्ध बनाउने, नयाँ नेपाल तथा आर्थिक समृद्धिको बहस धेरै उठेका छन्, तर आर्थिक समृद्धिको मुद्दामाचाहिँ किन गति लिन सकेन होला ?
नेपालमा कहिले पनि राजनीतिक स्थिरता हुन सकेन, माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्व जसले आर्थिक विकासलाई ठप्प नै बनायो । यहाँ कुशल राजनेताको कमीका कारणले देशले आर्थिक विकासको गति लिन नसकेको हो । नेपालमा विश्वका अन्य देशमा नभएका थुप्रै सम्भावना बोकेका चिजहरू छन् मात्र त्यसलाई पहिचान गर्न सकिरहेको छैन । अर्को कुरा भन्नुपर्दा नेपालमा उद्योगी व्यवसायी क्षेत्रलाई हेर्ने दृष्टिकोण फेरिएको छैन । यो क्षेत्रलाई नाफाखोरी क्षेत्रको रूपमा मात्रै हेर्छन् उसले राष्ट्रलाई दिएको योगदानको कहिल्यै कदर हुँदैन । उसले लिएको जोखिमलाई सम्मान गरिँदैन । आर्थिक क्षेत्रलाई सम्मानित र विश्वास दिलाउने काम भइदियो भने देशले आर्थिक विकासमा काँचुली फेर्न सक्छ ।

pks1

तपाईं त नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि भइसक्नुभएको छ, विभिन्न अन्तर्राष्ट्रियसंस्थामा पनि विभिन्न तहमा हुनुहुन्छ, यो पहुँचको आधारमा नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि केही पहल गरिहनुभएको छ ?
त्यो त म हरेक फोरममा जाँदाखेरि नेपाललाई चिनारीका रूपमा प्रस्तुत गरिरहेको हुन्छु । म एसिया प्यासिफिक क्षेत्रमा भाइस प्रसिडेन्ट छु, आगामी महिनामा हुने कन्फरेन्समा यहाँबाट केही डेलिगेसनहरू लिएर जाँदै छु, त्यहाँ मेरो नेपालको बारेमा प्रस्तुति हुन्छ ।

तर, जहाँसम्म वैदेशिक लगानी ल्याउने कुरा छ यसमा व्यक्तिको प्रयासले सम्भव छैन । त्यसका लागि टिमवर्क जरुरी छ । यो क्षेत्रमा फ्रिमाइन्डले काम गर्ने अवस्था छैन । इमानदारीपूर्वक कमाएको पैसा लुकाउनुपर्ने अवस्था छ ।

कसैले देख्ला है भनेर लुकेर काम गर्नुपर्ने अवस्था छ । राजनीतिक दलका नेताहरूको ताल पनि त्यही हो । जतिखेर पनि व्यापारिक समुदायमै आँखा पुग्ने । चुनाव होस् या मजदुरहरूको समस्या अथवा कर्मचारीमा केही तलमाथि होस् जतिखेर पनि उद्योगी व्यवसायी नै निशानामा परिरहेको हुन्छ । यस्तो अवस्थामा सबैकुरा गन्जागोल भएको छ ।

व्यापारिक समुदायले पहल गर्न सक्दैन ?
यसमा हाम्रो पनि कमजोरी छ । व्यावसायिक संस्थाहरूमा पनि राजनीतिकरण भइरहेको छ । यो क्षेत्रको नेतृत्व गरेका संघसंस्थाहरूमा पनि राजनीतिक बिगबिगी देखिन्छ । यो पार्टी र त्यो पार्टीका नाममा विभिन्न गुटबन्दी हुने हुँदा उद्योग व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई एकजुट भएर राख्न सकिरहेको अवस्था छैन । व्यापारीहरू आफ्नो निहित स्वार्थका लागि अघि बढेको कारण आफ्नो खाडल आफैँ खन्ने काम भइरहेको छ । यस्तो अवस्थामा व्यापारिक समुदायले ठुल्ठूलो पहल कसरी गर्न सक्छ ?

उद्योग वाणिज्य महासंघ पनि कमजोर भएको हो ?
कमजोर र बलियो भन्ने कुरामा म मूल्यांकन गर्दिनँ । म स्वयं पनि महासंघको भूतपूर्व अध्यक्ष भएको नाताले मैले यसलाई मूल्यांकन गर्नुभन्दा पनि बाहिर भएकाहरूले गर्दा राम्रो हुन्छ । त्यसैले यसको मूल्यांकन बाहिरबाट नै आएको राम्रो हुन्छ । तैपनि, भन्नुपर्दा अहिले पनि महासंघको नेतृत्वमा जुन व्यक्तिहरू आउनु, ल्याउनुपथ्र्यो उनीहरूलाई ल्याउन सकिरहेको छैन ।

भनेपछि महासंघमा पूर्वअध्यक्षहरूलाई बाइपास गरिएको हो ?
बाइपास नै त नभनौँ तर महासंघ सीमित व्यक्तिको स्वार्थमा चलेको छ । केही व्यक्तिको समय छ अथवा उनीहरूको काम नै त्यही भइसकेपछि त उनीहरूलाई अरूको के मतलव भयो र ? प्रदीप श्रेष्ठलाई कार्यक्रममा बोलाउँदाखेरि एउटा फोनकलको भरमा जाँदैन, उसले पनि समय मिलाउनुपर्ने हुन्छ । र जाँदाखेरि केही छाप छोडेर आउने व्यक्ति हो । म त्यहाँ लिनलाई होइन केही दिनका लागि गएको हुन्छु ।

तर, यहाँको सिस्टम के छ भने केही सीमित व्यक्तिहरूको बिजनेस नै त्यही हो, जहिले पनि महासंघको चुनाव हुँदा उसको लागि दशैँ नै आएको जस्तो हुन्छ । महासंघभित्र एउटा नराम्रो बेथिति चलेको छ, वर्तमान कार्यसमितिमा भूतपूर्व अध्यक्षहरूको संस्थाभित्र केही काम नै छैन भन्ने सोच हावी छ । एक÷दुई जना फुर्सदिला व्यक्ति छन्, उनीहरूको काम दाम पनि सबै त्यही नै हो र यताउता पनि दौडिरहेका हुन्छन् । यस्ता व्यक्तिहरूले महासंघलाई कमजोर बनाइरहेको छ ।

pks3

तपाईं दक्षिण अफ्रिकाको अवैतनिक दूत पनि हुनुहुन्छ, त्यस हिसाबले भन्नुपर्दा नेपालमा दक्षिण अफ्रिकामा भएको विकासको मोडेललाई कसरी अनुशरण गर्न सकिएला ?
दक्षिण अफ्रिका युद्धको अवस्था पार गरेर विकासतर्फ अघि बढेको मुलुक हो । नेल्सन मन्डेलाको समयमा गृहयुद्धमा फसेको दक्षिण अफ्रिका अहिले विकासको गतिमा अघि बढेको छ । जसमा व्यापारिक समुदायको ठूलो भूमिका छ ।

त्यहाँको राजनीतिज्ञहरूले व्यापारिक समुदायलाई विश्वाशमा लिएर विकासको गतिलाई अघि बढाए । त्यस्तै नेपाल पनि माओवादी द्वन्द्वबाट गुज्रिएको मुलुक हो । यद्यपि, शान्ति सम्झौतापछि माओवादी पनि पार्टीको रूपमा स्थापित भइसकेको छ । उसको पनि एजेन्डामा आर्थिक क्रान्तिलाई नै प्राथमिकतामा राखिएको छ ।

यस हिसाबले हेर्दा नेपाल र दक्षिण अफ्रिकाबीचमा केही समानताहरू पनि छन् । नेपालमा जस्तै दक्षिण अफिका पनि प्राकृतिक स्रोतसाधनले सम्पन्न देश हो । मैले एक अवैतनिक दूतको रूपमा भन्नुपर्दा दक्षिण अफ्रिकाबाट हामीले सिक्न सकिने कुरा धेरै छन् ।

भौगोलिक रूपले टाढा रहे पनि दक्षिण अफ्रिका र नेपालबीच धेरै समानताहरू छन् त्यसैले दुवै देशबीच लिंक गरेर एकअर्काको अनुभव आदानप्रदान गरी सिक्न सकिने कुराहरू धेरै छन् ।

साउथ अफ्रिकामा खनिज उत्खनन्को कामहरू पनि भइरहेका छन्, त्यहाँको उद्यमीहरूलाई सरकारसँग टाइअफ गराएर नेपालमा खनिज उद्यम सञ्चालन गर्न सकिँदैन ?

नसकिने भन्ने होइन, तर नेपालमा खनिज उत्खनन् उद्योग खोल्ने सम्बन्धमा त्यति कन्फिडेन्ट्ली भन्न सक्ने अवस्था छैन । मिनरल बेस इन्डस्ट्रिजहरू खोल्नका लागि खानी कति छ, के छ भन्ने सम्बन्धमा प्रश्न चिन्ह देखिएको छ । माइनिङ इन्डस्ट्रीतर्फ नेपालमा सिमेन्ट एउटा देखिएको छ । अरू भनेको सानोतिनो मात्रै हुन् । दक्षिण अफ्रिकाको कुरा गर्नुपर्दा कोइला तथा गोल्डको खानी त्यत्तिकै छ ।

डाइमन्डको पनि प्रशस्तै खानी भेटिन्छन् । नेपालमा कोइला खानी छ त त्यहाँ गरेको लगानी फिर्ता हुन्छ भन्नेमा ढुक्क छैन फलामको पनि त्यस्तै छ । फलाम कति छ के छ भन्नेमा नै विस्वस्त हुन सकेको छैन । नेपालमा माइनिङ इन्डस्ट्रीमा प्रयास नगरेको होइन तर सम्भव नभएर अघि बढ्न नसकेको हो ।

यस विषयमा सरकारसँग केही पहल भएको छ ?
मैले एकपटक यो कुरा उठाएको पनि हो, तर यसमा खास पहल भएको देखिँदैन । खानी उत्खनन् सम्बन्धमा पहिले त हामी आफैँ विस्वस्त हुनुप¥यो । सर्वप्रथम कहाँ, के छ र कति मात्रामा छ भन्ने कुरामा हामी आफैँ प्रष्ट हुनुप¥यो त्यसपछि मात्रै विदेशी लगानीलाई बोलाउने कुरा हुन्छ । खानी उत्खनन्को सम्बन्धमा जबसम्म सरकारको तत्परता देखाएर गहन रूपमा अध्ययन गर्न सक्दैन तबसम्म अघि बढ्न सकिँदैन ।

नेपालले आर्थिक विकासका लागि के विषयमा ध्यान दिनुपर्छजस्तो लाग्छ ?
सर्वप्रथम त नेपालको आर्थिक विकासको सम्भावित पाटो के हो त्यसमा फोकस गर्नुपर्ने देखिन्छ, जलस्रोत कृषिबाहेक पर्यटनमा पनि नेपालको सम्भाव्यता देखिन्छ । यसलाई अझ व्यापकरूपमा अघि बढाउन सक्यो भने त्यहाँबाट पनि हामीले फाइदा लिन सकिन्छ । नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो, यहाँ घुम्न र हेर्नका लागि प्रशस्तै ठाउँहरू छन् ।

अपार सम्भाव्यताको बाबजुद पनि पर्यटन क्षेत्रलाई व्यापकरूपमा अघि बढाउन सकिरहेका छैनाैँ । हामी अरूको विकास हेर्छाै तर त्यसबाट सिको गर्ने कोशिस कहिल्यै गर्दैनौँ, सँगसँगै विकास भएका मुलुक कहाँबाट कहाँ पुगिसकेका छन् तर हामी जहाँको त्यही छौँ । त्यस्तै नेपालको आर्थिक विकासका लागि शिक्षा तथा बैंकिङ क्षेत्रलाई पनि जोड दिन सकिन्छ । आर्थिक कूटनीतिलाई पनि जोड दिनुपर्छ ।

पञ्चकन्या ग्रुपको अबको नयाँ योजना के छ ?
हामी नेपाली व्यवसायको क्षेत्रमा लगभग ४५ वर्षदेखि क्रियाशील छौँ, विषेशगरी हामी विकास निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन गर्दै आएका छौँ । आगामी दिनमा पनि यसै क्षेत्रलाई जोड दिँदै निर्माण सामग्री उत्पादन गर्ने क्रमलाई नै निरन्तरता दिने तयारी छ । साथै पछिल्लो समय पञ्चकन्या ग्रुपले नेपालको हाइड्रो पावर सेक्टरमा पनि लगानी गर्न सुरु गरेको छ ।
त्यसका अलावा सानोतिनो हाउजिङ सेक्टरमा पनि लगानी छ । अर्को हाम्रो अबको प्लानिङ भनेको पर्यटन क्षेत्रलाई पनि जोड्ने कि भन्ने पनि छ । हामीले सोचेको प्रोजेक्ट सम्भव होला नहोला त्यो आफ्नो ठाउँमा छ, अबको अर्को नयाँ योजना भनेको काठमाडौं उपत्यकाभित्र केबलकार सञ्चालनको योजना पनि बनाएका छौँ । उपत्यकाको सडकमा मुनि गाडी गुडिरहेको छ त्यसको सट्टामा माथि केबलकार सञ्चालन गर्ने योजना हो ।

सिमेन्ट उद्योगको कुरा कहाँ पुग्यो ?
सिमेन्ट उद्योगको लागि हामीले तयारी सुरु गरेको हो, जग्गा किन्ने प्रक्रिया पनि अघि बढ्यो तर दुर्भाग्यको कुरा नेपालमा ७५ रोपनीभन्दा बढी जग्गा एउटा कम्पनीको नाममा लिनका लागि झन्झटिलो भएकाले ढिलाइ भएको छ । ७५ रोपनीभन्दा बढी जग्गा लिँदा सरकारको स्वीकृति लिनुपर्ने नियमले गर्दा समस्या उत्पन्न भएको छ । कमसेकम उद्योगको हकमा यो नियम लागू नगरी जति चाहिन्छ त्यो स्वतः पाउने व्यवस्था भयो भने अलि सहज हुने थियो । यद्यपि, विभिन्न प्रक्रिया पूरा गरेर अहिले जग्गा लिने काम सम्पन्न भएको छ । अहिले विदेशी पार्टनरसँग कुरा भइरहेको छ, उनीहरूले पनि इच्छा देखाइरहेका छन् तर त्यो भएन भने पनि हामी आफ्नै तरिकाले अघि बढ्ने तयारीमा छौँ ।

राइस मिलबाट सुरु भएको पञ्चकन्या ग्रुपको व्यवसाय अहिले यो तहमा आइपुगेको छ, यसको सफलताको सूत्र के होला ?
यसमा टीम वर्क र लगनशीलता नै ठूलो कुरा हो । बुबाले सुरु गरेको यो उद्योगमा हामीले इँटा थप्ने काम ग¥यौँ र अहिले आएर छोराहरूले सञ्चालन गरिरहेका छन् । पञ्चकन्याले क्वालिटीमा कहिल्यै पनि सम्झौता गरेन त्यसैले हाम्रा उत्पादनले राम्रो उत्पादनको छाप छोड्न सक्यो, जसले गर्दा उपभोक्ताको विश्वास जित्न सफल भएको छ । यस उद्योगबाट उत्पादित वस्तुहरू गुणस्तरीय हुन्छन् भन्ने विश्वास उपभोक्तामा दिलाउन सकेका छौँ । हामी यसलाई लिडिङ उद्योग, पायोनियरका रूपमा यसलाई निरन्तरता दिइरहनेछौँ ।

pks 2

पञ्चकन्या ग्रुप यति ठूलो व्यापारिक समूह भएर पनि पारिवारिक व्यवसायकै रूपमा केन्द्रित छ, यसलाई फड्को मारेर व्यावसायीकरण गर्नेतर्फ सोच्नुभएको छैन ?

मेरो बुबाले यो व्यवसाय थाल्दा एकदमै पारिवारिक थियो, मेरो पालामा आइपुग्दा हामीले त्यसलाई केही विकेन्द्रीकरण ग¥यौँ । अहिले आएर प्रणाली अलि परिवर्तन भएको छ । जतिवटा उद्योग भए पनि हामीले सबैको लोड लिनुपरेको छैन । सबै सिस्टममा काम भइरहेको छ ।

सिस्टमले काम गर्नका लागि अहिले नयाँ पुस्ता तत्पर पनि देखिएका छन् ।  अहिले नयाँ पुस्तालाई हामीले जिम्मेवारी ह्यान्डओभर गरेका छौँ । नयाँ पुस्ताले राम्रो गरिरहेका छन्, उनीहरू ज्ञानी पनि छन्, उनीहरूको अनुभव र काम गर्ने शैलीले पञ्चकन्या ग्रुपले आगामी दिनमा ठूलो फड्को मार्न सक्छ भन्ने विश्वास लिएको छु ।

व्यवस्थापनको लिडरसिपमा त बाहिरका मान्छे खासै देखिँदैन नि ?

हो, लिडरसिपमा बाहिरका व्यक्तिहरू छैनन् तर कन्सल्टेन्सी तथा प्रोफेसनल ग्रुपहरूसँग परामर्श गरेर सिस्टम विकास गर्दाखेरी बाहिरका व्यक्तिहरूलाई पनि समावेश गर्दै आएका छौँ । उद्योग सुरु गर्दा नेपाल औद्योगिक विकास निगमबाट १० लाख रुपैयाँ ऋण लिएर सुरु गर्नुभएको थियो अहिले ऋण, आर्थिक कारोबारको अवस्था कस्तो छ ?
सुरुआती अवस्थामा हामीसँग पुँजी नहुँदाखेरि हामीलाई विश्वास गरेर जुन ऋण दियो, त्यसका लागि नेपाल औद्योगिक विकास निगम र नेपाल बैंकलाई म अहिले पनि धन्यवाद दिन चाहन्छु । सायद त्यो समयमा उहाँहरूले हामीलाई विश्वास नगरेको भए हामी यो अवस्थामा हुने पनि थिएन । त्यो बेलामा २–४ लाख भनेको अहिलेको २–४ करोडभन्दा पनि बढी थियो । अब कारोबारको अवस्थाबारे भन्नुपर्दा, मानिस जति धनी हुन्छ उति नै गरिब हुँदै जान्छ जस्तो लाग्छ मलाई । ४० वर्ष अगाडि मेरो १० लाख ऋण थियो भने अहिले १०औँ करोड ऋण छ । यो हिसाबले त्यतिबेला धनी या यतिबेला धनी भन्ने कुरा आफैँ छुट्याउन सक्ने कुरा हो ।

यो ऋणले तनाव उत्पन्न हुँदैन ?
हुन्छ, किन नहुनु ? विगतकै कुरा हेर्दा पनि भूकम्प जाँदाखेरि हाम्रो व्यवसाय ठप्प भयो । व्यवसाय ठप्प भए पनि बैंकलाई तिर्नुपर्ने ब्याज त कम हुने हैन, दैनिक उत्पादन गरेर तिर्नु र रोकी राखेर पछि एकै चोटी तिर्नुपर्दा धेरै गाह्रो हुन्छ, यसले पनि तनाव बढाउँछ । यस्तै सरकारको नीति, प्राकृतिक विपत्तीलगायतले काम रोकिँदा गाह्रो हुन्छ । तर लामो समय यही क्षेत्रमा बिताएकाले अहिले आएर तनाव नै मेरो व्यापार हो भन्ने सोच्न थालेको छु ।

व्यवसायका क्रममा टाट पल्टिने अवस्था कहिल्यै आयो ?
त्यस्तो अवस्था नभएको होइन । एकताका यस्तै दुर्घटना हुने अवस्था आएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य तलमाथि हुँदा यस्तो समस्या धेरै भोगेका छौँ । एकताका हामीले आफूसँग भएका सम्पत्ति बेचेर पनि बैंकलाई लोन तिर्नुपर्ने अवस्था आयो । व्यापारमा यस्तो कहिलेकाहीँ हुन्छ । कहिलेकाहीँ धेरै विश्वास गरेका कारणले पनि धोका खाएको छु ।

तपार्इंले केही समयअघि पञ्चकन्या ग्रुपलाई पब्लिकमा रूपान्तरण गर्छु भन्नुभएको थियोे, त्यो प्रक्रिया कहाँ पुग्यो ?
पञ्चकन्याले पछिल्लोसमय हाइड्रोपावर क्षेत्रमा पनि लगानी सुरुआत गरेको छ, जसको नाम पनि पञ्चकन्या माई हाइड्रोपावर राखेका छाैँ । अब आइपिओमा एक महिनापछि जाँदै छौँ । दुइटा प्रोजेक्ट हामीले हाम्रै लगानीमा सञ्चालनमा ल्याएका छौँ । जसले गर्दा पञ्चकन्याप्रति जनविश्वास कायम गर्न सफल भएका छौँ । अब केही ठूला प्रोजेक्ट सुरु गर्ने तयारीमा छाैँ त्यसका लागि हाम्रो मात्रै लगानीले पुग्ने अवस्था छैन । त्यसैले ग्रुप अब पब्लिकसँग लिंक गरेर अथवा पब्लिकसँगको सहकार्यमा अघि बढ्ने तयारीमा छाैँ ।

सामाजिक उत्तरदायित्व क्षेत्रमा पञ्चकन्या ग्रुपले विषेशगरी केमा जोड दिएको छ ?
सामाजिक उत्तरदायित्वको क्षेत्रमा पञ्चकन्या ग्रुपको योगदान धेरै छ जस्तो लाग्छ । पञ्चकन्याको योगदान ट्राफिक व्यवस्थापनदेखि लिएर हरियाली काठमाडाैँ अभियानमा पनि रहेको छ । अहिले उपत्यकाको विभिन्न ठाउँमा पञ्चकन्याको पहलमा विरुवाहरू रोपिएका छन् । त्यो १÷२ लाखमा सम्भव हुने प्रोजेक्ट होइन, त्यसका लागि करोडौँ लगानी परेको छ । त्यसैगरी सरसफाइको क्षेत्रमा पनि हामी सक्रिय छौँ । यति मात्रै नभएर अरू पनि विभिन्न सामाजिक कार्यहरूमा हामी कहीँ न कहीँबाट जोडिरहेका छौँ । जस्तै भूकम्पको समयमा पनि विभिन्न क्षेत्रमा हामीले भौतिक तथा आर्थिकरूपमा पनि धेरै सहयोग गरेका छौँ ।

प्रतिक्रिया