कम ओजन भएको निर्माण सामग्री नै इको प्यानल हो

krishna-bhakta-भक्तपुरको सालाक्षेमा ०३६ सालमा जन्मिएका कृष्णभक्त दुवाल एक कुशल कम ओजन भएको निर्माण सामग्री नै इको प्यानल होयवसायी हुन् । बुबा गणेश दुवाल र आमा स्वर्गीय कृष्णमाया दुवालको कोखबाट जन्मिएका उनी अहिले गोर्खा इको प्यानलनामक कम्पनीका प्रमुख कार्यकारी अधिृकत छन् । नविकरणीय ऊर्जाका क्षेत्रमा ०६४ सालमै मास्टर गरेका दुवाल इन्जिनियर हुन् । उनले ०७० सालमा एमबिए उत्तीर्ण गरेका छन् । नेपालमा भएका दक्ष जनशक्ति कामको अभावमा दिनानुदिन विदेश पलायन भइरहेको अवस्थामा उनले नेपालमै बसेर नेपालीलाई इन्जिनियरिङ सिकाइरहेका छन् र नेपालमै केही गर्नुपर्छ भन्ने सन्देश दिइरहेका छन् । इन्जिनियर अध्ययापन पेसामा १० वर्ष काम गरेका दुवाल यतिबेला इको प्यानल उत्पादनमा लागिपरेका छन् । भक्तपुरमा गोर्खा इको प्यानल स्थापना गरेर सामाजिक कार्यमा सक्रिय भइरहेका उनै दुवालसँग सौर्य दैनिकका लागि कमल न्यौपानेले गरेको कुराकानी ।

भूकम्पपश्चात यो कम्पनी सुरुआत कसरी भयो ?
भूकम्पपछि आमनेपालीले सुरक्षित र वातावरणमैत्री भवन निर्माणको चासोलाई लिएर हामीले यो कम्पनीको स्थापना गरेका हौँ । यो भन्दा अगाडि पनि यो कम्पनीका बारे अध्ययन र अनुसन्धान गरिरहेका थियौँ । हरित क्रान्ति भन्ने नारालाई आत्मसाथ गर्दै हाम्रो कम्पनी त्यसैलाई कार्यान्वयनका लागि क्रियाशील रहेको छ । हामीले सुरु गरेको गोरखा इको प्यानल नेपालमै एउटै मात्रै स्वदेशी इको प्यानल हो । कम्पनीले पूर्णवातावरणमैत्री इको प्यानल उत्पादन गर्दै आएको छ । इटली, जापान, कोरिया, बहराइन, चीनलगायत विभिन्न देशमा पुगेर अध्ययन अनुसन्धानपछि मैले नेपालमै स्वदेशी कच्चा पदार्थको प्रयोग गरी पूर्ण वातावरणमैत्री इको प्यानल निर्माण सुरु गरेका हौँ ।
अध्ययन गरेको क्षेत्र र पेसामा किन भिन्नता नि  ?
हाम्रो पारिवारिक व्यवसाय इँटा उत्पादन भए पनि मैले ऊर्जा क्षेत्रमा अध्ययन गरेँ । ऊर्जाको अध्यापन गर्दै गर्दा कम ऊर्जा खपत हुने र कमै मात्रै वातावरणीय प्रदूषण गर्ने निर्माण सामग्रीको खोजीमा लागेको थिएँ । यो क्रममा विभिन्न देशको अवलोकन भ्रमण पनि गरेँ । नेपालको माटो, हावापानी र भूगोल सुहाउँदो निर्माण सामग्रीको विकल्प इको प्यानल हो भन्ने ठहर गरेँ । यसपछि यो क्षेत्रमा प्रवेश गरेको हुँ ।

इको प्यानललाई आमनागरिकले कसरी बुभ्mने ?
अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । यही कारण हामी कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुने र उत्पादनमा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्रीको प्रयोग हुनुपर्छ भनेर लागेका हौँ । यो क्रममा हामीले इको प्यानल पायौँ । यही कारण हामी इको प्यानलको प्रयोगलाई बढावा दिनुपर्छ भनेर लागेका हौँ । साथसाथै संसारभर भूकम्पको जोखिम कम गर्न कम ओजन भएको निर्माण सामग्रीको प्रयोग गर्नुपर्छ भन्ने मान्यता पनि स्थापित भएको छ । कम ओजन भएको निर्माण सामग्री भनेकै इको प्यानल हो । यस कारणले पनि हामीले सम्भावित भूकम्पको क्षतिलाई न्यूनीकरण गर्न इको प्यानलको प्रयोगलाई जोड दिँदै आएका छौँ । यति मात्रै होइन, तीव्र विकास अहिलेको आवश्यकता हो । विकास निर्माणको कामलाई तीव्रता दिन छिटोभन्दा छिटो जडान गर्न सकिने निर्माण सामग्रीको आवश्यकता परेको छ । यस अर्थमा पनि इको प्यानल महत्वपूर्ण हुन्छ ।

तपाईंले निर्माण सामग्रीमा हरित क्रान्ति भनेको के हो ?
यो शताब्दीको मुख्य समस्या वातावरणीय समस्या हो । वातावरणमैत्री निर्माण सामग्री तथा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्री आजको आवश्यकता हो । नेपालजस्तो ऊर्जाको दृष्टिकोणले असुरक्षित राष्ट्रका लागि त झन् कमै मात्रै ऊर्जा कम हुने निर्माण सामग्रीको उत्पादन र प्रयोग टड्कारो आवश्यकता हो । वातावरणीय प्रभाव र ऊर्जा खपतको हिसाबले इको प्यानल बढी नै प्रभावकारी भएकाले हामीले यो नारा दिएका हौँ ।

गोरखा इको प्यानल केले बनेको हुन्छ ?
गोरखा इको प्यानल भन्नाले कुनै पनि स्थायी तथा अस्थायी संरचना निर्माण गर्दा बाहिरी गाह्रो तथा भित्री पाटेसन वालको रूपमा प्रयोग हुने टंग एन्ड ग्रुभसहितको ज्वाइन्ट भएको हलुका निर्माण सामग्री हो । यसको प्रयोगले परम्परागत निर्माण सामग्रीको प्रयोग भन्दा ६ गुणा कम हलुका बनाइदिन्छ । गोरखा इको प्यानल ४÷५ मिलिमिटरको नन एस्वेस्टस क्लाल्सियम सिल्केट बोर्ड २ साइडमा र भित्र सिमेन्ट, बालुवा, इपिएस चलनचल्तीको भाषामा थर्मोकोलको मिश्रणबाट बनेको हुन्छ ।

यसको आकार कस्तो हुन्छ ?
यसको स्यान्डर्ड साइज ७ र ५ लम्बाइ र २ फिट चौडाइको हुन्छ । मोटाइको हकमा ५० मिलिमिटर, ६० मिलिमिटर, ७५ मिलिमिटर, ९० मिलिमिटर, १ सय २० मिलिमिटर, १ सय ५० मिलिमिटर र १ सय ८० मिलिमिटर सम्मको हुन्छ । लम्बाइको हकमा ग्राहकको आवश्यकताअनुसार लामो पनि बनाउन सकिन्छ ।

यो कसरी जडान गरिन्छ ?
यो जडान गर्न धेरै सजिलो छ । यसमा हुने टंग एन्ड ग्रुभमा विशेष प्रकारको एडिसिभ सिमेन्ट प्रयोग गरी जडान गरिन्छ । जोडाइलाई थप मजबुत बनाउन हरेक २ वटा इको प्यानलको बीचमा ६ इन्चको किला प्रयोग गरिन्छ । हरेक पिलर र इको प्यानल तथा विम र इको प्यानलकोबीच विशेष प्रकारको केमिकल (जसलाई पियुफोम भनिन्छ) प्रयोग गरिन्छ । जसले पूरै वालको संरचनालाई एकढिक्का तथा मजबुत बनाइदिन्छ । के यसमा कन्सिल वायरिङ गर्न सकिन्छ ? भन्ने पनि आउन सक्छ । यसमा सजिलै कन्सिल वायरिङ गर्न सकिन्छ ।

के यसमा बाथरुमका टायल टाँस्न मिल्छ ?
यसमा बाथरुमका टायललगायत स्यानटरीका फिक्सर सजिलै जडान गर्न सकिन्छ । यसमा सजिलै काठ, आल्मोनियम, युपिभिसीबाट बनेका झ्यालढोका प्रयोग गर्न सकिन्छ । इको प्यानलले ४ घन्टासम्म १ हजार डिग्री तापक्रमको आगोलाई थेग्न सक्छ । यसमा प्रयोग हुने ननएस्वेस्टस क्याल्सियम सिल्केट बोर्ड, इपिएस, बालुवा सिमेन्टले स्वास्थ्यलाई कुनै पनि प्रकारको नकारात्मक असर गर्दैन ।
यसको प्रयोगले भित्र–बाहिरको आवाज सुनिन्छ कि सुनिँदैन ?
यसमा प्रयोग हुने इपिएसले भित्रको आवाज बाहिर र बाहिरको आवाजभित्र आउन दिँदैन । यसको साउन्ड इन्स्योलेसन धेरै राम्रो छ । इपिएस (थर्माेकोल) को प्रयोगले यसमा राम्रो खालको थर्मल इन्सुलेसन प्रोपर्टी हुन्छ । यसले बाहिरी तातो तथा चिसोपनलाई सजिलै भित्र छिर्न दिँदैन । अतः कोठाको तापक्रमलाई विनाहिटर र एसी स्थिर बनाइराख्छ ।

अरू प्रिफ्याब प्यानल र यो इको प्यानलमा के फरक छ ?
अरू प्रिफ्याब अस्थायी निर्माणका लागि उपयुक्त छन् । हामी स्थानीय संरचना निर्माणमा छौँ । हाम्रो इको प्यानल स्थायी संरचना निर्माणका लागि हो । हामी ७० वर्षको वारेन्टी दिन्छौँ ।

गोरखा इको प्यानल कहाँ–कहाँ प्रयोग भइसकेका छन् ?
उत्पादन सुरु गरेको छोटो अवधिमै इको प्यानलले सफलता पाएको छ । अहिलेसम्म पूर्वको विराटनगरदेखि पश्चिमको धनगढीसम्म, गोर्खा, मनास्लुको विकट गाउँसम्म यो प्यानलका उपभोक्ता छन् । यसबाहेक ललितपुर बालकुमारीको वेस्टर टावर, कलंकीको नेसनल विजनेस ट्रेड सेन्टर, बानेश्वरको श्रीकृष्ण टावर, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, निर्वाचन आयोग, ख्वपः कलेज लगायतमा गोरखा इको प्यानल जडान गरेका छौँ ।

 अबको योजना के छ ?
इको प्यानलले उपत्यका र आसपासमा राम्रै बजार लिएको छ । यसको बजारीकरण उपत्यकामा राम्रै देखिएको छ । आमनागरिकले सस्तो र सहजरूपमा यसको प्रयोग गर्न पाएका छन् । माग पनि बढेको छ । यसैले अबको योजना भनेको उपत्यका बाहिरका मुख्य सहरहरूमा सेवा विस्तार गर्नु नै हो । हामी केही समयपछि पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज जस्ता ठूला र आधुनिक सहरमा यसको बजारीकरण विस्तारमा लागिरहेका छौँ । त्यसपछि बजारको मागअनुसार नै अघि बढ्ने तयारी छ ।

प्रतिक्रिया