‘सहकारीको सिद्धान्त नमान्ने करिब १ प्रतिशत सहकारी छन्‘

copy

सहकारीको माध्यमले उत्पादकत्व वृद्धिका साथै सामाजिक न्यायको प्रत्याभूत गर्ने अभियानमा अहोरात्र खटिएका छन् उनी । विन्ध्यवासिनी वचत तथा ऋण सहकारी संस्थामार्फत सहकारी अभियानमा लागेका उनले सहकारी संस्थाको उच्च तहका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । हाल राष्ट्रिय सहकारी संघका अध्यक्षसमेत रहेका एमाले नेता केशव वडालसँग सहकारी अभियानका बारे सौर्य प्रतिनिधि केशव भट्टले गरेको संवाद ः

सहकारी अभियान कहाँसम्म पुग्यो ? 
नेपालमा अहिले सहकारी सेयर सदस्य ६० लाख छ । प्रारम्भिक सहकारी संस्था करिब ३४ हजार, जिल्ला संघ र विषयगत संघ गरी ३ सय ३२ ओटा, केन्द्रीय संघ २० ओटा, राष्ट्रिय सहकारी बैंक एउटा छ । राष्ट्रिय सहकारी संघ यी सबैको छाता संघ हो । राष्ट्रिय सहकारी संघदेखि लिएर प्रारम्भिक सहकारी संस्थासम्ममा सञ्चालक तथा लेखा समिति गरी ३ लाख सदस्य छन् । यसमा महिलाहरूको सहभागिता सदस्यमा ५० प्रतिशत र नेतृत्वमा ३७ प्रतिशत रहेको छ । नेपालका सबै जात, भाषा, धर्म, लिंग, संस्कृति, क्षेत्र र वर्गका मान्छे सहकारीमा सदस्य छन् । ७५ ओटै जिल्लामा सहकारीको उपस्थिति बाक्लो र सन्तोषजनक छ । ७५  जिल्लाका केही गाविसमा अलिअलि क्रियाशीलता थिएन ।

तर, ७ प्रदेश भइसकेपछि त सबै स्थानीयतहमा सहकारीको विस्तार व्यापक छ ।  गतवर्ष कुल गार्हस्थ उत्पादन २८ खर्बमा १२ प्रतिशत हिस्सा सहकारीले ओगटेको थियो । सहकारीमार्फत ६० हजारभन्दा बढीले प्रत्यक्ष र १० लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् ।  नेपालको सहकारी अभियान अहिले विश्व सहकारी आन्दोलनमा माथिल्लो स्तरमा पुगेको छ । १ सय २२ वर्ष अगाडि स्थापना भएको अन्तर्राष्ट्रिय सहकारी महासंघमा नेपाल सक्रिय सदस्यसमेत बनेको छ । जसमा २३ भोट नेपालको रहेको छ । यो निक्कै अगाडि हो ।  केही दिनअगाडि सम्पन्न मन्त्रीस्तरीय सम्मेलनमा पनि महिला सहभागिताको हिसाबले नेपाल दोस्रो स्थानमा देखिएको थियो । साथै सबै समुदायको प्रतिनिधित्वका हिसाबले नेपाल नम्बर १ मा परेको छ ।

अन्तर्राष्ट्रिय सहकारी र नेपालको सहकारी अवस्थामा के भिन्नता पाउनुभयो ?
संसारभर रहेको मानिसको अनुहार तथा औँठाछाप त एकअर्कासँग मिल्दैन भने विश्वमा रहेका सबै सहकारीमा भिन्नता त हुने नै भयो । समग्रमा हामी सहकारीको दर्शन सिद्दान्त मूल्यमान्यताले हेर्दा नेपाल अन्तर्राष्ट्रिय स्तरमा राम्रो स्थानमा छौँ । अन्तर्राष्ट्रिय सहकारी महासंघले स्वीकार्य गरेको मापदण्ड अनुसार नेपाल पनि अग्रणी स्थानमा आउँछ ।अझै भन्नुपर्दा संविधानको प्रस्तावनामा हामीले सहकारीबारे लेखेका छौँ । समग्र विकासका लागि सहकारी, निजी क्षेत्र वा सरकार एक्लैले गरेर विकास सम्भव छैन । सबै मिलेर मात्र आर्थिक विकास सबल तरिकाले अगाडि बढाउन सकिन्छ भन्ने मान्यतामा हाम्रो सहकारी आधारित छ । हाम्रो संविधान पनि बनिसकेको र ऐन कानुन निर्माण भइरहेका छन् । सहकारी विधेयक तत्कालै संसद्मा पेस हुनेमा आशावादी छु ।

पछिल्लोसमय सहकारी जसले पनि खोल्ने अनि पैसा जम्मा भएपछि भाग्ने कुरा पनि सुनिन्छ नि, यस्तै हो भने सहकारीलाई जनताले कसरी विश्वास गर्ने ?Keshav-Badal-Uml
सहकारीले गलत तथा अराजकता मात्रै फैलाए राम्रो कुरा भएकै छैन भन्ने हेराइ र सोच नै अराजक हो । राम्रोसँग सहकारीलाई केलाउनुस सहकारीलाई अध्ययन गर्नुस कति प्रतिशतले गलत काम गरेका छन् ? थाहा पाउनु हुनेछ । देशैभरि रहेका ३४ हजार सहकारीमा गौरीबहादुर कार्कीको टिमले अत्यन्तै मिहिनेतका साथ काम गरेर १ सय ३३ ओटा सहकारीलाई खराब देखाएको छ ।

यसैलाई ल भन्नुस् ३४ हजारमा १ सय ३३ भनेको कति प्रतिशत हुन्छ ? एक प्रतिशत गलत भए भन्दैमा सिंगो सहकारी क्षेत्र गलत भन्न मिल्दैन । सहकारीको सिद्धान्त मूल्यमान्यता आचरण नमान्ने करिब १ प्रतिशत सहकारी देखिएका छन् । यिनलाई दण्डित गर्नुपर्छ भनेर नयाँ ऐनमा कडा व्यवस्था गरेका छौँ ।

गलत नगर्ने मान्छे कुन क्षेत्रमा छ भन्दिनूस् त ? सबै क्षेत्रमा छन् गलत कुराहरू सहकारीमा पनि केहीकेही देखिएका छन्, यिनलाई पनि गल्ती सुधार गरी सही मार्गमा आउनूस् भन्ने गरेका छौँ बाँकी कारवाही गर्ने काम सरकारको हो । सहकारीले गरेका ९९ प्रतिशत राम्रा कामलाई पनि मूल्यांकन गर्नूहोस, जस्तै राज्यले १ रुपैयाँ पनि लगानी नगरिकनै सहकारी क्षेत्रले ६०÷६५ हजारलाई प्रत्यक्ष रोजगारी र १० लाखभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिएको छ । साथै महिला, अपांग, पिछडिएका सबैलाई स्वाबलम्बी बनाउन अहं भूमिका खेलेको छ । ३ लाखभन्दा बढी सञ्चालक सदस्य रहेका सबैलाई यसै मिडियामार्फत म के निर्देशन गर्दछु, भने सहकारीको दर्शन, मूल्य, मान्यता, सिद्दान्त, कार्ययोजना विपरीत जानुहुन्छ भने सहकारी छोदिदिनूस् । सहकारी संघको अध्यक्ष भएको नाताले मैले यसरि नै सुझाव सल्लाह दिने होे तर दण्डजरिवाना गर्ने काम राज्यको हो ।

म के जानकारी पनि गराउन चाहन्छु भने हरेक जिल्लामा डिभिजन सहकारी कार्यालय राख्न सरकारसँग भनेका छौँ । अहिलकोे नयाँ संरचना अनुसार पनि ७ ओटा प्रदेशमा हरेक प्रदेशमा २ ओटा होस्टेलसहितको सहकारी तालिम केन्द्र हुनुपर्छ भनेर सरकारसँग माग गरेका छौँ । काठमाडौंमा एउटा अन्तर्राष्ट्रिय सहकारी केन्द्र आवश्यक छ । जसले नियमित सहकारी तालिमहरू दिनेछ । हरेक सहकारी सञ्चालकले २४ घन्टामा ३ घन्टा सहकारी बारे अध्ययन, चिन्तन, मनन तथा सहकारीका सिद्धान्तमाथि गहन छलफल गर्नु जरुरि छ । आफूले गरेका कामहरू कतिको सहकारीको मर्यादाअनुसार भएका छन् आफ्नो घरपरिवार तथा कसैसँग पनि कुराकानी गरेर गल्ती भएको छ भने सुधारको बानी आफैँबाट सुरु गर्नुपर्दछ । मर्यादाअनुसार मात्रै सहकारी सञ्चालन गर्न अनुरोध गर्दछु ।

राष्ट्रिय अर्थतन्त्रमा सहकारीको अहं भूमिकाको लागि के गर्छ सहकारी संघले ?
राष्ट्रिय अर्थतन्त्रमा सहकारी निजी क्षेत्र तथा सरकारी क्षेत्रको बराबरी भूमिका हुनुपर्दछ भनेर नयाँ संविधानमा परिकल्पना गरेअनुसार ऐननियम बनाएका छौँ । सहकारीसम्बन्धी प्रस्तावित विधेयक संसद्बाट पारित हुन बाँकी छ । जसमा १४२ धाराको ऐनमा ६९ धारामा १८९ बुँदा मलगायत १३ सांसदले संशोधन गरेका थियौँ । यसमा भरतमोहनजी नेतृत्वको समितिले छलफल गरेर ल्याउनुभएको छ जसमा सबै कुरा हाम्रा मात्रै समेटिएका छैनन् सबै कुरा सरकारका पनि छैन । सहमतिमा जाँदा केही सम्झौतामा टेकेर विधयेक आएको छ ।

सहकारी विकासका लागि सहकारी संघका आगामी योजना के के छन् ?
सहकारी संघ भनेको आमसहकारी र राज्यको बीचमा पुलको काम गर्ने सबै सहकारीहरूको साझा निकाय हो । अन्तर्राष्ट्रिय सहकारी आन्दोलन र नेपालको सहकारी आन्दोलनको बीचमा पनि यसले पुलको काम गर्छ । सहकारीको सिद्धान्त मूल्यमान्यता आचरण के हो भन्ने विषयमा लेखेर, बोलेर सहकारीको विकासका कुराहरू अगाडि बढाउन र संविधानको ऐन कानुन नीति नियम निर्देशनलाई सहकारी मैत्री बनाउन पहल गर्छ । हामीले संविधानमा राम्रोसँग लेखेर ल्याएका छौँ अब ऐन पारित भएर आउनुपर्छ सहकारीको हित र आमजनताको सर्वसुलभताको लागि सहकारी संघ अग्रसर रहन्छ ।

अन्त्यमा…
सहकारीसंग सम्बधित रहनुभएका सबै सञ्चालक समिति, लेखासमिति, सेयर सदस्य सबैमा आआफ्नो कार्यक्षेत्रमा रहेका सबै स्थानीय तहसँग सम्पर्क गरेर सहकारिमैत्री स्थानीय तह बनाउनलाई महानगर, उपमहानगर, नगर तथा गाउँपालिका सबै क्षेत्रका पदाधिकारीबीच गएर सहकारीका मूल्यमान्यता, सिद्धान्त, दर्शनका बारेमा बोध गराउने, संयुक्त भेला आयोजना गराउने र सहकारीको दर्शन सिद्धान्तअनुसार अगाडि बढ्न र बढाउन स्थानीय निकायसँग हातेमालो गरी अगाडि बढ्ने काममा लाग्न मेरो निर्देशनात्मक अनुरोध छ ।

प्रतिक्रिया