काभ्रे । अधिकांश भूकम्पपीडितहरूले तीन बर्खा अस्थायी टहरामै बिताउँदै छन् । यतिबेला पनि पहिलो किस्ता लिएका अधिकांश भूकम्पपीडितले घर बनाउन सकिरहेका छैनन् । सरकारले आवास निर्माणका लागि वितरणको गरेको २ वर्ष सुरु हुँदासमेत काभ्रेका अधिकांश भूकम्पपीडितहरूले घर बनाउन जगसमेत खनेको देखिँदैन । आवास निर्माणको लागि सरकारले अनुदानस्वरूप वितरण गरेको पहिलो किस्तावापत ५० हजार लिएको डेढ वर्ष बितिसक्दा पनि अहिलेसम्म विभिन्न कारण जगसमेत नखनी बसेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति काभ्रेका प्रमुख ध्रुव गैडाले हालसम्म ६१ हजारमध्ये ७ हजारले मात्रै जग खन्न सुरु गरेको बताए । उनले जिल्लामा अहिले ६ हजार ८ सय घर बनिरहेको जनाएका छन् ।
५ हजार ५ सय जनाले दोस्रो किस्ताको अनुदान रकम लिएका छन् भने तेस्रो किस्ता पाउने लाभग्राहीको चेकलिस्ट तयार भइरहेको गैडाले जानकारी दिए । आवास निर्माणको लागि सरकारले अनुदानस्वरूप वितरण गरेको पहिलो किस्ताबापत ५० हजार लिएका छन् । तर, १० प्रतिशत भूकम्पपीडितले मात्रै घर बनाउन सुरु गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति काभ्रेका प्रमुख ध्रुव गैडाले भने, ‘अन्यत्र घर भएकाहरूले अनुदान लिएर घर पुनर्निर्माण सुरु नगरेको, कामदार, खानेपानी, निर्माण सामग्री र घरमुली नहुनाले निर्माण कार्यमा ढिलाइ भइरहेको छ, यसमा सबैको ध्यान जान जरुरी छ ।’ अधिकांश साविकको गाविस तथा नगरपालिकाका भूकम्पपीडितहरूले राहत लिएको करिब २ वर्ष बित्नै लाग्दा पनि जगसमेत खनेका छैनन् ।
भूकम्प पीडितहरूकै भनाइमा कर्मचारी बढीजसो गाउँमा भन्दा सहरमा केन्द्रित हुँदा समस्या आएको हो । गाउँ–गाउँमा ३ महिनाको एकपटक गाविस सचिव तथा सरकारी निकायका कर्मचारी आउँछन् अनि कहाँबाट हुन्छ त समयमै पुनर्निर्माणको काम ? साविक ठूलोपर्सेल हाल तेमाल गाउँपालिका नरेन्द्र तामाङले भने । च्यासिङखर्क–५ गोलेटोलका जगतबहादुर गोले तामाङ भूकम्पपीडित हुन् । तर, उनले घर पुनर्निर्माणका लागि ५० हजार पाएनन् । न्यानो कपडा किन्नका लागि १० हजार र तत्काल राहत प्याकेजको १५ हजार पाए पहिलो किस्ताबापत उनले लाभग्राहीमा नाम ननिस्केका कारण ५० हजार नपाएनन् । तर, उनले गुनासो फराम भरे पनि नाम निस्केन अहिले उनलाई ऋणको चिन्ता छ ।
त्रिपालको बसाइमा धेरै समस्या भएका कारणले उनले सहकारी तथा छिमेकीसँग ऋण गरेर घर बनाए । आर्थिक अवस्था कमजोरका कारण उनको पूर्ण रूपमा क्षति भएको घरका सामान नेपाली सेनाले बटुलिदिएको थियो । उनले भने,‘म वस्ताविक भूकम्पपीडित हो तर, मेरो नाम छुटाइयो ममाथि अन्याय भएको छ ऋण गरेर घर त बनाइयो अब ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’ उनले ऋण गरेर बनाइएको घरमा ६ जनाको परिवार बस्दै आइरहेका छन् । च्याम्राङबेंसी–८ का सीताराम तिमल्सिनाले पनि आफ्नै बलबुताले भूकम्प प्रतिरोधी घर निर्माण गरे तर, उनका छर छिमेकीहरूले जगसमेत खनेका छैनन् । सरकारले दिने भनेको अनुदान समयमा नपाएको गुनासो गरेका उनले भने, ‘आए दोस्रो किस्ता लिन्छु, नभए घर बनाउँदा लागेको ऋण भारी बोकेरै पनि तिर्नुपर्ला तर, पहिलो किस्ता लिने मेरो गाउँका अधिकांशले जगसमेत खनेका छैनन् ।’
भूकम्पपीडितहरूले पहिलो किस्ताबापत ५० हजार लिएकामध्ये पहिलो किस्ताले जगसमेत नखन्दा पनि दोस्रो किस्ताको आश गरेर बसेको पाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैडाले बताए । उनले भने, ‘जिल्लामा पहिलो किस्ता लिएर ७ हजार जति भूकम्पपीडितले सरकारको मापदण्डअनुसार घर बनाएको र ९ सय ८२ जनाले आफ्नै तरिकाले बनाएकाले दोस्रो किस्ताको लागि निवेदन आइरहेको र सम्झौता पनि भइसकेको छ ।’ गाउँका सबैले घर निर्माणका लागि ५० हजार लिएको भए पनि अहिलेसम्म कसैले जगसमेत खनेको छैन । गाविस सचिवहरूका अनुसार जिल्लाका अधिकांश गाविसहरूमा जगसमेत खन्न सकिरहेका छैनन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैडाले गाउँ–गाउँमा अनुगमनमा जानेबारे छलफलमा जुटिरहेको बताए पनि अधिकांश इन्जिनियर गाउँमा गएका छैनन् । उनीहरू सदरमुकाममा केन्द्रित भएर बस्नाले भूकम्प पुनर्निर्माणले गति लिन नसकेको कर्मचारीहरू नै बताउँछन् । उनले भने, ‘गाउँमा दक्ष कामदारको अभाव, इन्जिनिरय गाउँ नगएको भन्ने गुनासो, पानीको र काठको समस्या आएका कारण पुनर्निर्माण ढिलाइ भइरहेको छ । हामी छलफलमा छौं । केन्द्रमा पनि त्यही कुरा राखेका छौं छलफल टुंग्याएर अनुगमनका लागि गाउँ जान्छौं ।’
प्रतिक्रिया