यतिबेला नेपाली सञ्चार माध्यमका धेरै समाचार सरकारको स्वामित्वमा रहेको साझा प्रकाशनको चर्चाले खर्चिने गरेको छ । साझामा दोस्रो कार्यकालका लागि अध्यक्ष एवं महाप्रबन्धक भएका डोलिन्द्रप्रसाद शर्माका कारण यति बेला साझामा करडौंको भ्रष्टचार हुने गरेको घटना सार्वजनिक भएका छन् । त्यही साझाका सञ्चालक समितिका कतिपय सदस्य यतिबेला अध्यक्षका कामको विरोध गरिरहेका छन् । साँच्चीकै साझा बचाउनु पर्छ र साझामा हुने गरेका बेतिथि र भ्रष्ट्राचार बन्द हुनुपर्छ भन्ने मध्येका एक सदस्य हुन् डा.विजय सुब्बा । साझामा उनले भोगेका अनुभूतिबारे सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवाद :
कति भयो साझामा सञ्चालक समितिका जानुभएको ?
साझाको साधारणसभाबाट निर्वाचित भएर गएको करिब डेढ वर्ष भयो ।
साझामा निर्वाचित हुँदा निकै उत्साही देखिनुहुन्थ्यो, साझा बचाउने नारा थिए अहिले त छताछुल्ल भयो है ?
साझामा जाँदा साच्चै उत्साह थियो । साहित्यकार बौद्धिक वर्गको संस्था डुबिरहेको छ । हामीले प्रयास गर्दा जोगिएला भन्ने लागेको थियो । बाहिरबाट प्रेसर पनि थियो । तपाईंहरू गए साझाले कोल्टो फेर्ला भनेर आफ्नो इच्छाले भन्दा पनि साथीहरूको दबाबमा साझामा गएको हो । तर, साझामा गएको केही दिनबाट थाहा पाएँ त्यहाँ साझा डुबेको होइन डुबाइएको हो भन्ने कुरा साँचो रहेछ । बाहिर चिल्ला र राम्रो कुरा गर्ने संस्थाका अध्यक्ष आफैँ संस्था डुबाउने खेलका नाइके रहेछन् । मैले भने पनि नभने पनि उनका सबै हर्कत छताछुल्ल भएको छ । त्यो उनैको कारणले भएको हो ।
केही दिनयता साझाका अध्यक्ष एवं महाप्रबन्धकको काम र उनले साझा बचाउने नाममा गरेको गतिविधि बाहिर आए यसलाई रोक्न तपाईंहरूले के गर्नुभयो ?
केही दिनअघि अध्यक्षका कारण दुई पक्षीय कर्मचारीका बीचमा हात हालाहालको अवस्था आएछ । सबैजसो सञ्चार माध्यममा उनको हर्कत छापाखानादेखि किताब छपाइमा भएका जाली काम बाहिर आए । त्यो घटना सार्वजनिक भएपछि अध्यक्ष शर्माले केही कर्मचारीलाई बोलाएर धम्काउँदै भनेछन्, ‘म महाप्रबन्धक र अध्यक्षको पद छाड्नै परे पनि सबैलाई ठीक पारेर छोड्छु,’ उनले कसैलाई टेर्दैनन् । हामीले साझाका बारेमा बुझ्दै जाँदा उनलाई धेरैपटक नियममा चल्न र पारदर्शी बन्न सुझाव दियौँ । तर, उनले हाम्रा कुरा केही सुनेनन् । केही सदस्यको आडमा उनी आफूलाई जे लाग्छ र जेले हित हुन्छ त्यसै गरिरहे । पछिल्लो घटना अति भएपछिको विस्फोटन हो ।
बैठकमा उनका गलत कामको बारेमा बोल्नु भएन ?
धेरै बोल्यौँ, नियममा चल्न आग्रह ग¥यौँ । तर, उहाँ आफ्ना कुराको हो मा हो मिलाउनेबाहेक कसैको कुरा सुन्दैनथे ।
अहिले बजारमा जताततै साझाको चर्चा छ । पछिल्लो घटनापछि के गर्नुभयो ?
केही गरेका छैनौँ । गर्नुपर्ने जरुरी ठानिनँ । संस्था छानबिनमा परेको छ जे गर्छ छानबिन गर्नेले गर्छ । तर, यसै बीचमा मलाई ३० साउनमा साझाको सञ्चालक समितिको बैठक बस्ने भनेर एउटा चिठी आएको छ । चिठीमा बैठकको एजेन्डा ‘साझाको पछिल्लो गतिविधि उपर छानबिन गर्न समिति गठन गर्ने’ भनी उल्लेख गरिएको छ । साझामा कार्यरत २८ जना कर्मचारीले अध्यक्षका विरुद्धमा छानबिन होस् भनेर हस्ताक्षरसहितको उजुरी अख्तियारमा दिएका छन् ।
अध्यक्षकै कारणले शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ र संसद्को सार्वजनिक लेखा समितिले ५ दिनभित्र सम्पूर्ण कागजात बुझाउन भनेको छ । लेखा समितिले भने बमोजिम कागजात बुझाएको मलाई जानकारी छैन । उनका हर्कत चुपचाप हेरेर बसेका छाैँ । उनका क्रियाकलापविरुद्ध ठाउँठाउँबाट उजुरी परेको छ । उजुरी परेको ठाउँ र उनलाई हाजिर हुन ताकेता गरेका ठाउँबाट के कस्तो निर्णय हुन्छ भनेर बसेका छाैँ। केही गरेका छैनौँ ।
सञ्चालक समितिले यसको विषयमा कुनै निर्णय वा सल्लाह गरेको छैन ?
साझाको सञ्चालक समितिमा पनि दुईखालका सदस्य छौँ । एकथरि प्रत्यक्ष सेयरधनीका मतले निर्वाचित भएर आएका । अर्काथरि सरकारबाट मनोनीत भएका । तीनैमध्ये अध्यक्ष र ३ जना बोर्ड सदस्य अहिलेको सबै प्रकारका वेथितीको पक्षमा हुनुहुन्छ । उहाँहरूकै संरक्षणमा अध्यक्षको नेतृत्वमा साझामा गलत काम भएका हुन् । जे जे भएका थिए सबै बाहिर आएको छ ।
हामी निर्वाचित ३ जना अध्यक्ष र मनोनीत सदस्यका तीनै मनोमानीका विरुद्धमा छौँ । यति हुँदाहुँदै पनि अध्यक्षका हरकतका विरुद्ध निर्वाचित २ साथीहरू पनि बोल्न सकिरहेका छैनन् । तर, उनीहरू अध्यक्षका ती सबै कार्यका पक्षमा पनि छैनन् ।
कहाँ बोल्नुभयो अध्यक्षका ती गलत कामका बारेमा ?
–अहिले सञ्चार माध्यममा जे जे आएका छन् सबैजसो विषयमा थाहा पाएका दिनदेखि बैठकम विरोध गरेँ । सञ्चालक समितिको ६ वटा बैठकमा लगातार कुरा राखेँ । जुन उद्देश्य र नाराका साथ साझामा आएका थियौँ त्यसै अनुसार काम गरौँ भनेँ । उनले सुन्दै सुनेनन् । हामीले पहिलै थाहा पायौँ बाहिर पछि आयो । जे बाहिर आएका छन् ती कुरा सुधार गर्न धेरैपटक भनेँ । अध्यक्ष र उनका पछि लाग्ने सदस्यहरूले टेरेनन् ।
सञ्चालक समितिमा भएका साथीहरूले अध्यक्षका हरेक गलत काम चुपचाप लागेर समर्थन गरेका कारण आज डोलिन्द्र शर्माले कसैलाई नटेरेको हो । साझामा करडौँको भ्रष्टाचार हुनुमा उनलाई साथ दिने सदस्यहरू पनि उत्तिकै जिम्मेवार छन् । मेरा कुरा बैठकमा नसुनिएपछि मैले सार्वजनिक रूपमा उनका विरुद्ध बोलेको हो । बैठकमा नै भनेको थिएँ अब सञ्चार माध्यममा जान्छु भनेर । मेरा फेसबुकमा पनि धेरै आएका छन् ।
तपाइँले साझामा भ्रष्टचार डोलिन्द्र एक्लैले गरेका छैनन् अरूको संरक्षणमा भएको हो भन्न खोज्नुभएको हो ?
–सरकारबाट मनोनीत ३ जना सञ्चालक समितिका सदस्यका कारण अहिलेका सबै गतिविधि भएका हो । यसमा खुल्लारूपमा निर्वाचित साथीहरू पनि बोल्नु भएन । निर्वाचित हाम्रो मन एकै भए पनि बोली एकै हुन सकेको छैन । बाहिर गलत भन्ने तर खुल्लारूपमा बोल्न नसक्नुका कारण यस्तो भएको हो । जहाँसम्म डोलिन्द्रको कुरा छ उनी एक्लै कसैलाई नटेर्ने हुनै सक्दैनन् । उनलाई संरक्षण गर्नेहरूका कारण उनी अराजक बनेका हुन् ।
साझामा गएपछि थाहा पाउनुभयो होला किन साझामा यति ठूलो बदमासी भएको होला ? यसका कारण के होलान् ?
बजारमा आएका हल्लाअनुसार आर्थिक प्रलोभनका कारण भनेर सुनिएको छ । त्यो के कति सत्य हो समय क्रममा बाहिर आउला । एकदिन त्यो कुरो पनि बाहिर आउला भन्नेमा म विश्वस्त छु । अध्यक्ष र मनोनीत ३ सदस्यहरू अघिल्लो कार्यकालदेखि नै डोलिन्द्र शर्माको निजी प्रकाशनमा आवद्ध हुनुहुन्छ । त्यही टिम पुनः साझामा मनोनीत भएर आए । उहाँहरूको पुरानो समीकरणीयले अहिले पनि काम गरेको छ । मलाई लाग्छ उहाँहरू साधारणसभा गर्दा पनि कुनै कुरामा पुनः आउनेमा ढुक्क हुनुहुन्थ्यो । मैले मनोनीत साथीहरूले शर्माको हरेक कुरामा मौन समर्थक बस्नुहोला भन्ने सोचेको थिइनँ ।
त्यसोभए उनी अधिवेशनमा आफू अनुकूलका सदस्य मनोनीत गराएर आफू सुरक्षित हुन चाहान्थे ?
त्यो प्रष्ट हो । पहिला साझामा पैसा थिएन । सरकारले पैसा दिएको थिएन । त्यतिबेला विवाद भएन । जब पैसा आयो र किताब छाप्ने बेला भयो साझाका किताब बाहिर छापिने काम भयो । पैसा नहुँदा पनि साझाका किताब बाहिर छापेर बिक्री गर्ने काम भएको थियो र त्यसको हिसाब गडबड थियो । सुरुमा हामीलाई पनि धेरै कुरा थाहा थिएन समय क्रममा धेरै थाहा पायौँ । मैले त्यसको विरोध गर्न थालेपछि हामीबीचमा फाटो आएको हो । उनी आफू अनुकूल बहुमत बनाउन पहिल्यैदेखि लागेका रहेछन् पछि कुरा बुझियो ।
साझाको सञ्चालक समितिको सदस्य आफैँ भएको संस्था बदनामी भएको छ कस्तो लागेको छ ? कतै आफ्नाे भएको छवि पनि साझाले डुबाउँछ कि भन्ने लाग्दैन ?
यो साहित्यकार लेखकजस्ता बौद्धिक वर्गको संस्था भएकाले यहाँ देखिएका समस्यालाई हाम्रो सानो प्रयासले जोगिन्छ कि भन्ने लागेको थियो । जब साझामा पैसा आउन थाल्यो यहाँ अपारदर्शी काम बढी हुन थाल्यो । यसले दुःखी तुल्यायो । त्यसैले पहिलेको जस्तो उत्साह छैन । अहिले नैराश्यता पैदा भएको छ । तर, बौद्धिकवर्ग तथा सञ्चार माध्यमले साझा बचाउनु पर्छ, गलत कार्यको विरोध गर्नुपर्छ भनी आवाज उठाउन थालेकाले केही आशा जागेको छ ।
गलत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउने हो भने पक्कै पनि साझा डुब्नेवाला छैन । मेरो जुन छवी छ त्यो साझाका कारण डुबेको सहन सक्दिनँ र त्यस्तो हुन पनि दिन्नँ । छानबिन निकायले सही ढंगले छानबिन गरेन भन्ने मलाई लाग्यो भने म साझा छोडीदिन्छु । टाँसिएर बस्नुपर्छ भन्ने छैन ।
छानबिन राम्रोसँग होला ?
नेपालमा जे पनि हुन्छ । आयल निगममा अर्बौं भ्रष्टाचार हुँदा त केही भएन । मलाई त के पनि शंका छ भने अध्यक्ष शर्मालाई अख्तियारको जुन कर्मचारीले पहिला पत्र दिएका थिए उनै अहिले डोलिन्द्र जोगाउन लागेको सुन्दै छु । त्यसको कारण के हो भन्न सकिँदैन । तर, सामान्य मान्छेले पनि अनुमान लगाउन सक्छ उनी त्यतिकै डोलिन्द्र शर्माको पक्षमा लागेका छैनन् ।
सञ्चालक समितिमा अध्यक्ष बहुमतमा छन् त ?
सञ्चालक समितिमा उनी बहुमतमा छैनन् । विनियम अनुसार ७ जनाको सञ्चालक समिति छ । त्यसमा कम्तिमा ५ जना भएपछि मात्र बैठक बस्ने गरेको छ । केही बैठक मेरो अनुपस्थितिमा बहुमत पु¥याएर बैठक बस्ने गरिएको रहेछ । तर, अध्यक्ष शर्मालाई विनियमको बारेमा सामान्य ज्ञान पनि छैन । उनले सञ्चालक समितिको पदेन सदस्य भनेर केही व्यक्तिलाई बैठकमा बोलाउने गरेका छन् । उनले बोलाउने पदेन सदस्य भनिनेहरू नै ३० गतेको बैठकमा पनि बोलाइएको छ । उनीहरू पदेन हुँदैन पठ्यक्रम विकास केन्द्रका प्रमुख, जनक शिक्षाको प्रमुखलगायत केहीलाई बोलाउने गरेका छन् ।
मैले बैठकमा उनीहरूलाइ बोलाउने नै होइन । यदि बोलाउने हो भने आमन्त्रित भनौँ भनेँ उनले टेरेनन् । सञ्चालक समितिमा मनोनीत भएर गएका सदस्यको संरक्षणमा उनी मत्ताहात्ती जस्तै भएका हुन् । अध्यक्षले कसैले बुझ्दैनन् भन्ने सोचेका छन् त्यस्तो हुँदैन ।
३० गतेको बैठकमा के होला ?
साझाको निर्णय पुस्तिका शिक्षा मन्त्रालयले लगेको छ । संस्थाप्रति छानबिन भइरहेको र चारैतिरबाट संस्थाका बारेमा कुरो उठिरहेको बेला बैठक बस्नु हुँदैन भन्ने मेरो धारणा छ । सबैतिर कारबाही र छानबिन भएको बेला बैठक बस्नु हुँदैन । म बैठकको समयमा राजधानीमा हुँदिनँ र भए पनि म बैठकमा जादिनँ । सबैतिरबाट छानबिन भइरहेको समयमा संस्थाको बैठक बस्नु हुँदैन भन्ने मेरो धारणा छ । उहाँहरू बसेर के गर्नुहुन्छ मलाई थाहा छैन ।
साझा बचाउन जानुभएको थियो, अब साझा बच्ने छाँट देख्नुहुन्छ ?
अध्यक्षले साझा बचाउने सुनौलो नाराभित्र कुकृत्य गरेका रहेछन् । त्यहीँ गएपछि थाहा भयो । त्यो कुरो लुकाएर लुक्ने अवस्थामा पनि छैन, सबैलाई थाहा छ । निर्वाचित भएका साथीहरू मात्र पनि एक भएर लड्ने हो भने पनि साझा साँच्चै बचाउन सकिन्छ ।
तपाइँ के गर्नुहुन्छ ? सार्वजनिक लेखा समिति र अख्तियारको छानबिन कसरी हुन्छ ?
पहिला पहिला जस्तै नाम मात्रको नभएर साँच्चै राम्रोसँग छानबिन भएर र उनीहरूको संस्था डुबाउने र बेतिथि गर्ने कार्यलाई रोक्दै दोषी ठहरिए कारबाही भएन भने साझा छोड्नेछु ।
प्रतिक्रिया