एमालेलाई मधेसमा पहिलो शक्ति बनाउन सकिन्छ: लालबाबु

af1f062edef613fdb84b2d8541e888f8

एमाले पहिलो र दोस्रो चरणको स्थानीयतहको निर्वाचनमा पहिलो शक्तिको रूपमा देखिएको छ । आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा पनि एमाले आफूलाई पहिलो शक्तिको रूपमा उम्भाउने प्रयासमा छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय २७ स्थानीय तहको निर्वाचनमा एमाले ठूलो पार्टी बन्न तीव्र चुनावी तयारीमा जुटेको छ । एमालेलाई मधेस विरोधीको राजनीतिक आरोप पनि लाग्दै आएको छ । केही आन्तरिक विवाद र अन्तर्घातका बाबजुद पहिलो शक्तिका रूपमा देखिएको एमाले अब प्रदेश नम्बर २ मा कसरी पहिलो शक्ति बन्दछ ? लालबाबु पण्डित एमाले राजनीतिमा बेग्लै छवि बनाएका नेता हुन् । सामान्य प्रशासनमन्त्री भएको बेला चलाएको पिआरधारी कर्मचारीविरुद्धको अभियानले पण्डितलाई एक्कासि चर्चित बनायो । एमालेको चुनावको तयारी र समसामयिक विषयमा एमालेका पोलिटब्युरो सदस्य नेता लालबाबु पण्डितसँग सौर्य दैनिकले गरेको कुराकानी ।  

मधेसमा चुनावको तयारी कस्तो छ ?
अहिले सबै दल प्रदेश नं. २ को चुनावमा केन्द्रित छन् । एमाले पनि अहिले मुख्यतया प्रदेश नं. २ को स्थानीयतहको निर्वाचनमा लागेको छ । हाम्रो पार्टीका दोस्रो तहका नेतासहित हामीले एक चरणमा प्रदेश नं. २ का ८ वटै जिल्लामा एक चरण पुगेर आइसकेका छौँ ।

बर्खा लागेको हुनाले अहिले त्यहाँको चुनावी रन्को त्यति छैन । एमाले पनि आफ्नो सबै शक्ति प्रदेशन नं. २ मा लगाएको छ । हामी त्यहाँ पुगेर हामीले मुख्यरूपमा सांगठनिक संरचना बनाउने काम ग¥याँै ।

प्रदेश कमिटी र जिल्ला कमिटीलाई तताउने काम भइरहेको छ । वडास्तरसम्म पनि पार्टीको संरचना तयार पार्ने काम भएको छ । यसैगरी उम्मेदवारको बारेमा पनि छलफल भइरहेको छ ।

एमाले मधेसमा पहिलो शक्ति बन्छ त ?

एमाले चुनाव र प्रजातन्त्रप्रति विश्वास गर्ने पार्टी हो । तर, केही पार्टीलाई चुनावदेखि एलर्जी भएको छ । उनीहरू हार्ने डरले डराइरहेका छन् । आफ्नो अस्तित्व नै समाप्त हुने भएपछि चुनावमा तिनीहरू आउन खोजिरहेका छैनन् ।

चुनावमा जाने कि नजानेमा द्विविधामा रहेका छन् । सकेसम्म राष्ट्रिय जनता पार्टीलाई कांग्रेस र माओवादी केन्द्रले चुनावमा नआइदिओस् भन्ने पक्षमा छन् ।  तर, एमाले निर्धक्क भएर जाने भएकोले पहिलो र दोस्रो जस्तै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि पहिलो शक्ति बन्दछ ।

पहिलो शक्ति बन्ने आधार के त ?

एमालेको पक्षमा देशव्यापी लहर छ । जनताको विश्वास जितेको हुनाले एमालेमा त्यो लहर पहिलो र दोस्रो चरणको निर्वाचनले देखाएको छ । एमालेसँग दृढ, विश्वास, निष्ठा र राष्ट्रप्रेम भावना रहेको छ ।

राजनीतिक रूपमा एमालेसँग मुलुकको गतल तत्वसँग मुकाविला गर्ने क्षमता छ । तर, अरू पार्टीमा छैन । एमालेले मधेस र पहाडीयाबीच भावनात्मक रूपमा सम्बन्ध जोड्ने तागत छ ।

मधेसको विकास निर्माणमा पनि एमालेले अग्रणि भूमिका खेलेको छ । मधेसका सदरमुकाम र सहर उजाड बन्दै गएका छन् । तिनलाई व्यवस्थापन पनि एमालेले गर्दै आइरहेको छ ।

रिङरोड र सडक पनि एमालेकै सरकारमा बनेका हुन् । हाम्रा पार्टीका अध्यक्ष केपी शर्माओली प्रधानमन्त्री भएको बेला ४ अर्ब २० करोड बजेट हुलाक सडक निर्माणका लागि छुट्याइयो ।

अहिले एमालेविरुद्ध गलत प्रचार गर्ने तत्व पनि एमालेलाई सहयोग गर्न थालेका छन् । तिनीहरूले नबुझेर एमालेविरुद्ध गलत प्रचारमा लागेका हुन् । अहिले एमालेले राष्ट्रका सवालमा लिएको अडान सही भनेका छन् । त्यसैले एमालेले मधेसमा आफूमाथि लागेको आरोपको भ्रम चिर्दै, जनताको विश्वास जित्दै आइरहेकोले एमाले पहिलो शक्ति हुन्छ ।

तराईमा अझै एमाले विरोधी भावना छ । विगतको चुनाव हेर्ने हो भने एमाले पहिलो शक्ति भएको छैन । अबको निर्वाचनमा कसरी हुन्छ त ?

चुनावमा धेरै कुराले प्रभाव पार्दछ । स्थानीयतहको निर्वाचन भएको जुन आरोप एमालेलाई लगाइएको छ । त्यो स्थानीय तहमा मैले पाइनँ । करिब २ महिना म मधेसमा बस्दा एमालेको स्थानीयतहमा राम्रो भएको मैले पाएँ ।

अर्को कुरा स्थानीय स्तरमा केन्द्रका कुराले कम प्रभाव पार्दछ । एमालेका स्थानीय तहका नेताले राम्रो काम गरेका छन् । उनीहरू निरन्तर जनताको पक्षमा वकालत गरेका छन् । त्यसैले चुनाव चाहने एमालेलाई उनीहरूले अब आउने निर्वाचनमा पहिलो बनाउनेछन् ।

एमालेका विरुद्ध स्थानीय स्तरमा त्यति जालझेल गरेको पाइएन । मधेसवादी दलले पनि चुनाव चाहेका छन् भन्ने कुरा त दोस्रो चरणका चुनावबाट थाहा हुन गयो ।

तालमेलको सम्भावना कतिको छ ?

एमाले तालमेल गरेका धेरै ठाउँमा पराजित भयो । त्यसैले, परिस्थिति हेरेर अबको निर्वाचनमा तालमेल गर्दछ । पहिले हामीले केन्द्रबाट नै तालमेल गर्दा पराजित भयौँ । अब हामी स्थानीय स्तरलाई कुन दलसँग तालमेल गर्दा सजिलै जितिन्छ त्यही दलसँग गर्नका लागि अधिकार दिन्छौँ । तर, एमाले कांग्रेसबाहेक अन्य दलसँग तालमेल गर्दछ ।

उम्मेदवार चयन कसरी भइरहेको छ ?

धेरै ठाउँमा उम्मेदवार चयन अन्तिम अवस्थामा पुगेको छ । दोस्रो चरणको बेला पनि केही स्थानमा उम्मेदवार चयन भइसकेका थिए । तर, स्थानीय आवश्यकता अनुसार अब ती उम्मेदवार केही फेरबदल हुन पनि सक्छन् । चुनाव सरेपछि अझ बलियो उम्मेदवार उठाउनका लागि गृहकार्य भइरहेको छ । अन्तिम टुंगो नलागिसकेको हुनाले अहिले हामी छलफलमा नै छौँ ।

मधेसमा अहिले हिजो एमाले छाडेर गएका फर्कंदै छन् । अन्य पार्टीमा भएका पनि एमालेमा प्रवेश गरेका छन् । अन्य पार्टीबाट आएका जनआधार भएका जसले चुनाव जित्छ त्यसैलाई नै पार्टीले पहिलो प्राथमिकतामा राख्नेछ ।

एमाले पैसावालालाई मात्र टिकट दिने तयारीमा छ भनिन्छ नी ?

चुनावमा पैसाको पनि आवश्यक हुन्छ । एमाले आफ्नो स्रोत साधनले चुनाव लड्ने हो । निजी पैसाको पनि केही अंश चाहिन्छ । तर, पार्टीप्रति इमानदार भएकालाई नै टिकट दिइन्छ । तपार्इंले भनेजस्तो हल्ला नचल्नुपर्ने हो । यदी, चलेको छ भने पनि बजारमा चलेको हल्ला गलत हो ।

टिकट दिनका लागि गुटगत हिसाबले पनि हानथाप भएको छ ?

एमाले संस्थागत ढंगले चल्दछ । अहिले हामी टिकटकै छलफलमा रहेका छौँ । एउटाले टिकट नपाएपछि अर्कोले पक्कै पनि विरोध गर्दछ । त्यो मानवीय स्वभाव हो । तर, हामीले कसैलाई पनि जबरजस्ती टिकट दिँदैनौँ । स्थानीय माग र आवश्यकताअनुसार उम्मेदवार तय गर्दछौँ । कुनै गुटगत हिसाबले होइन । पदाधिकारी मधेस झरेपछि कस्तो प्रभाव पारेको छ ।

खासगरी पार्टी मातहतका कमिटीलाई सक्रिय पार्नका लागि पदाधिकारी पहिलो चरणमा मधेस जानुभएको हो । त्यहाँको सक्रियता बढाउनु, असल उम्मेदवार चयन गर्नु र चुनावमा कस्ता समस्या आउँछन् त्यो अध्ययनको निम्ति र भावी उम्मेदवारको मन जित्नका लागि आत्मबल बढाउन उहाँहरू जानुभएको हो । पदाधिकारी गएपछि मधेसमा एमाले पहिलो पार्टी बन्छ ।

चुनावअघि संविधान संशोधन हुन्छ त ?

तीन वटै निर्वाचन नभइकन संविधान संशोधन हँुदैन । संशोधनविना नै २ चरणमा स्थानीय तहको निर्वाचन भएको छ । अहिले सडकबाट संशोधन सम्भव देख्दिनँ ।

राजपालाई चुनावमा ल्याउन के पहल गर्नुहुन्छ ?

राजपालाई हामी लोकतान्त्रिक विधि अनुसार चुनावमा आउन आग्रह गर्दछौँ । चुनावबाट भागेर सपना कहिले पनि विपनामा रूपान्तर हुँदैन । जनताको जनमत जितेर नै चुनावमा आउन आग्रह गर्दछु । यहि चुनावमा जनमत ल्याउन सके संशोधनमा जान सकिन्छ ।

राजपा चुनावमा नआएपछि चुनाव हुन्न त ?

हामी सबै राजनीति दल चुनावमा भाग लिऔँ भन्न चाहन्छौँ । पहिलो र दोस्रो चरणको निर्वाचन राजपा नआए पनि चुनाव भएकै हो । अब पनि उनीहरू नआएपछि निर्वाचन हुन्छ । कोही चुनावबाट हार्ने डरले आउँदैन भने हामीले के गर्न सक्छौँ ।

प्रतिक्रिया