नेपालमा पछिल्लो समय स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएको छ । यो रोग नेपालमा हालै मात्र विभिन्न जिल्लामा देखिएका छन् । स्क्रब टाइफसका कारण चितवनमा हालै मात्र एक बालकको मृत्युसमेत भएको छ । यो रोगको बारेमा सर्वसाधारणमा धेरै भ्रम पनि रहेका छन् । के हो त स्क्रब टाइफस ? यो रोगका लक्षणहरू कस्ता हुन्छन् ? यसै विषयमा केन्द्रित रहेर सहिद शुक्रराज ट्रपिकल अस्पतालका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सरुवा रोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँग सौर्य दैनिकका लागि मिक्साङ वाइबा तामाङले गरेको कुराकानी ः
स्क्रब टाइफस भनेको के हो ?
स्क्रब टाइफस ब्याक्टेरियाबाट सर्ने रोग हो । यसलाई ओरिएन्टा सुजुका मुसीको नामले पनि चिनिन्छ । यो मुसामा पाइने एक प्रकारको किर्ना (माइट) ले मानिसलाई टोक्दाखेरि लाग्ने रोग हो । यो रोग मुसाको टोकाइबाट लाग्ने रोग भन्ने भ्रम पनि मानिसमा रहेको छ, तर यो रोग मुसाको टोकाइका कारण नभई मुसामा पाइने किर्नाको टोकाइका कारणले चाहिँ मानिसमा लाग्ने गर्दछ । यो रोगबाट मुसा आफैँ पनि प्रताडित छन् ।
यो रोगको लक्षणहरू के के हुन् ?
यो रोग लागेपछि लगातार उच्च ज्वरो (१०२÷१०३) आउने, हल्का आँखा रातो हुने, जिउमा बिमिराहरू आउने, श्वास लिन गाह्रो हुने, शरीरका ग्रन्थीहरू सुनिने, जिउ दुख्ने लगायतका लक्षणहरू देखिन्छन् । मैले अहिलेसम्म नेपालीमा अलिकति कम्प्लिकेसन भनेको धेरैजसोमा श्वास फेर्न गाह्रो हुने गरेको पाएको छु । साथै किर्नाले टोकेको ठाउँमा सानो दाग हुन्छ पछि गएर सुख्खा पाप्रोजस्तो हुन्छ जसलाई हामी ‘स्कार’ भन्छौ, यद्यपि त्यो सबैमा देखिँदैन । कथमकदाचित कुनै व्यक्तिमा ‘स्कार’ देखिएको छ वा उच्च ज्वरो आएको र त्यो व्यक्ति गाउँले परिवेशमा छ भने त्यसलाई स्क्रबटाइफस भएको ठम्याउन सक्छौँ ।
यो रोग मानिसमा कसरी सर्दछ ?
यो रोग सर्ने मुख्य कारण किर्नाको टोकाइ नै हो । यो मुसामा पाइन्छ । मुसाको प्रत्यक्ष सम्पर्क रहने ठाउँ जस्तै झारपात, तथा झाडीमा किर्ना पाइने भएकाले त्यस्ता ठाउँमा रहेर काम गर्नेहरू बढी सचेत हुनुपर्छ । मुसाको प्रत्यक्ष सम्पर्क रहने ठाउँ जहाँ मानिस पुग्छन् त्यस्तो ठाउँमा यो रोग संक्रमणको सम्भावना बढी हुन्छ । विशेषगरी ग्रामीण इलाका, गाउँघरमा अन्न भण्डारण गर्ने भकारी, वनमा घाँस काट्ने ठाउँ, गाईवस्तु राख्ने खोरहरूमा जहाँ मुसाको प्रत्यक्ष सम्पर्क रहन्छन् त्यस्तो ठाउँमा यो रोग संक्रमणको किर्ना हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । यो रोग सरूवा रोगकै प्रजातिमा परे पनि मानिसबाट मानिसमा भने सर्ने सम्भावना हुँदैन ।
यो रोग नेपालमा कहिलेबाट देखिएको हो ?
यो रोग सन् २००४ मा पहिलोपटक काठमाडौको पाटनमा स्क्रबटाइफसका सम्बन्धमा भएको अध्ययनका क्रममा नै नेपालमा यो रोगको अस्थित्व छ भन्ने पुष्टी भएको थियो । त्यो समयमा नेपालमा ३ दशमलव २ प्रतिशत मानिसमा यो रोग देखिएको तथ्यांकमा देखिएको थियो । त्यसपछि नेपालमा कहीँ कतै पनि यो रोगको बारेमा चर्चा भएन । सन् २०१५ को अन्त्यतिर धरानमा केही बालबालिकाको मृत्यु भयो । जहाँ अनुसन्धानका क्रममा त्यो स्क्रबटाइफसका कारण उक्त बालबालिकाको मृत्यु भएको पुष्टी भएको थियो । त्यसपछि नेपालमा यो रोगको पनि नियमित जाँचहरू हुँदै आएको छ ।
नेपालमा स्क्रब टाइफस संक्रमितको पछिल्लो अवस्था कस्तो छ ?
स्क्रब टाइफस संक्रमितको अवस्था भन्नुपर्दा विषेशगरी नेपालका पहाडी जिल्लामा बढी देखिएको छ । यो रोगबाट हालै मात्र चितवनमा पनि १ जनाको मृत्यु भएको छ । काठमाडौंमै पनि उपत्यकालगायत बाहिरी जिल्लाबाटसमेत गरी दैनिक ९÷१० जनाको संख्यामा यो रोगका संक्रमितहरू जाँचका लागि आउने गरेका छन् । पछिल्लो समय नेपालमा स्क्रबटाइफसको बिरामीहरूको संख्या बढेको छ तर यो रोग लागेर मृत्यु हुनेको संख्या भने घटेको पाइएको छ ।
यो रोग विषेशगरी कुन समयमा बढी देखिन्छ ?
विषेशगरी मनसुनको सुरूआती तथा मनसुन सकिने बेलामा बढी देखिने गरेको छ । त्यसकारण सम्भावित संक्रमण क्षेत्रका व्यक्तिहरूले यो समयमा बढी सावधानी अपनाउनुपर्ने देखिन्छ । नेपाल सरकारले पनि मनसुन सुरू हुनुभन्दाअघि अथवा यो रोगको संक्रमण फैलिनुभन्दा अगाडि नै जनचेतना जगाउनतिर लागेमा यो रोग नियन्त्रणमा सहयोग पुग्नेछ ।
यो रोग कुन क्षेत्रमा बढी देखिएको छ ?
स्क्रब टाइफस पहाडी तथा ग्रामीण इलाकाहरूमा बढी देखिने गरिएको छ । ग्रामीण इलाकाहरूमा महिलाहरू घाँसदाउराका लागि जंगल जानुपर्ने घरनजिक झाडीहरू हुने तथा गाउँघरमा अन्न राख्ने भकारीहरू हुन्छन् जहाँ मुसाहरू आवतजावत बढी हुने भएकाले पनि त्यी क्षेत्रमा बढी प्रभाव देखिने गरेको छ । यद्यपि, यो रोग राजधानीमा पनि देखिने गरेको छ । यहाँ थुप्रै निजी अस्पताल तथा क्लिनिकहरू रहेकाले त्यहाँ उपचारका लागि जाने भएकाले हामी कहाँ नआइपुगेको पनि हुन सक्छ ।
यो रोगबाट कुन उमेर समूह बढी प्रभावित हुने गरेका छन् ?
यसको खास उमेर समूह भन्ने हुँदैन, यो रोगबाट संक्रमित सबै उमेर समूहका मानिसहरू यहाँ उपचारका लागि आउने गरेका छन् । बालबालिका, वयस्क, वृद्धवृद्धा सबै समूहका बिरामीहरू यो रोगबाट संक्रमित पाउछौँ । विषेशगरी भन्नुपर्दा जो व्यक्ति बढी घाँसदाउरा गर्न जान्छन् अथवा जो व्यक्ति झाँडीमा काम गर्छन् उनीहरूमाचाहिँ यो रोग बढी देखिने गरेको छ । त्यसैले यो रोगको संक्रमित भन्नुपर्दा उमेर समूहभन्दा पनि कामका आधारमा जो व्यक्ति बढी मुसाको सम्पर्कमा रहन्छन् तिनीहरूमा बढी संक्रमण जोखिम रहन्छन् ।
यो रोगको रोकथामको उपाय के के हुन सक्लान् ?
यो रोग रोकथामको त्यति सहज उपाय त म देख्दिनँ, किनभने कसैलाई वनजंगल नजाऊ भन्ने कुरा पनि हुँदैन । तर, सकेसम्म मुसाको सम्पर्कबाट टाढा रहन सक्यो भने यो रोगको संक्रमणबाट बच्न सकिन्छ । घर तथा घर वरिपरि सकेसम्म मुसा आउने वातावरण नबनाउनुस भन्न चहान्छु । घरबाहिर काम गर्दा, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगाहरू लुगाहरू लगाउँदा उत्तम हुनेछ । यस्तै बाहिरी खुल्ला चौरमा केही ओछ्याएर मात्र बस्ने तथा सकेसम्म मुसा तथा किर्नाको सम्पर्कबाट टाढा रहेमा यो रोगबाट बच्न सकिन्छ ।
यो कस्तो खालको सरूवा रोगमा पर्छ ?
स्क्रब टाइफसलाई सरूवा रोगको रूपमा नै लिइन्छ । यसलाई भेक्टर बर्न डिजिज पनि भनिन्छ । भेक्टर भन्नाले एउटा किराबाट अर्को किरामा सर्ने जस्तै लामखुट्टे, भुसुना, उपियाँ तथा किर्ना लगायतको टोकाइबाट लाग्ने रोग भन्ने बुझिन्छ । स्क्रबटाइफस सरूवा रोग नै भए पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा भन्ने सर्दैन । यो रोगको संक्रमण हुन डाइरेक्ट किर्नाले टोकेमा मात्रै लाग्ने भएकाले भ्रममा नपर्न पनि सर्वसाधारणलाई म आग्रह गर्न चहान्छु ।
यो रोग रोकथामका लागि सरकारी तवरबाट केही पहल भइरहेको छ ?
यो रोग रोकथामका लागि सरकारी तवरबाट त्यस्तो खास पहल भएको मैले अहिलेसम्म देखेको छैन । आगामी दिनमा योजनाहरू बनाएका होलान् तर हालसम्म स्क्रब टाइफसकै लागि भनेर त्यस्तो योजना बनाएको देखिएको छैन । यो रोग नेपालमा हालै देखेको भएर पनि सरकारले यसप्रति खास ध्यान नदिएको पनि हुनसक्छ । तर, यो रोग महामारीका रूपमा फैलिनुभन्दा पहिले नै सरकारी तवरबाट उचित नियन्त्रणमा लागेमा उत्तम हुनेछ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
स्क्रब टाइफस त्यस्तो डरलाग्दो रोग होइन । तर, हेलचेत्र्याइ गरेमा भने यो रोगले प्रकोपको रूप पनि लिन सक्छ । ठाउँठाउँमा यो रोग परीक्षणको व्यवस्था नहुन सक्छ, त्यस्तो अवस्थामा कसैलाई यो रोग लागेको शंका लागेमा अथवा बिरामीलाई उच्च ज्वरो आएमा एउटा एन्टिबायोटिक औषधि प्रयोग गर्न सक्नु हुनेछ, यसले कुनै किसिमको साइड इफेक्ट गर्दैन । यदी बिरामीलाई स्क्रब टाइफस छ भने ४८ घन्टामै कम हुन्छ । यो रोग बाहिर हल्लामा आएको जस्तो डरलाग्दो रोग होइन समयमै उपचार गर्नुभयो भने यो रोग सजिलै निको पार्न सकिन्छ ।
प्रतिक्रिया